बुटवल- गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफूमा कोरोना भाइरस संक्रमण देखिएको बताएका छन् ।
गाउँपालिकाका क्वारेन्टाइनहरु निर्माण र अनुगमनका क्रममा पुगेको र जिल्लास्तरका बैठकमा सहभागी भएको बताउने उनको पीसीआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गाउँपालिकाकै अर्का एकजना पदाधिकारीको आरडीटी परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएपछि पोखरेलको पनि स्वाब परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । सोमबार आएको रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले बताएका छन् ।
जेठ १० गते गाउँपालिका भित्रका केही जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र प्रहरीको आरडिटी परीक्षण गरिएकोमा एक जना पदाधिकारीको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गरिएको थियो ।
अध्यक्ष पोखरेलले मंगलबार विज्ञप्ति निकालेर आफुलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका हुन् । संक्रमण देखिएपनि आफुमा कुनै लक्षण र स्वास्थ्य समस्या नदेखिएको उनले उल्लेख गरेका छन् ।
उनले आफु घरमै एकान्तवास बसिरहेको बताउँदै आफुसँग सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् ।
‘केही हप्ता म एकान्तवास बस्नुपर्ने भएको छ । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ हुने हुँदा क्वारेन्टिनमा नै बस्न अनुरोध गर्दछु’-उनले भनेका छन् ।
यस्तै, उनले धुर्कोट वडा नम्बर ४ मा भारतबाट आएका एक व्यक्तिमा कोरोना देखिएको बताएका छन् । पाञ्चायन मावि क्वारेन्टाइनमा रहेका ती व्यक्तिको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको उनको भनाइ छ।
कोरोना जोखिमका कारण गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने सेवा अर्को व्यवस्था नभएसम्म बन्द गरेर क्वारेन्टाइनमा बस्न लगाइएको उनले बताए । अहिले गाउँपालिकाको केन्द्र बर्बोटदेखि वडा नम्बर ४ को भुवानसम्मका क्षेत्र सिल गरिएको छ ।
आफु संक्रमितको सम्पर्कमा नगएको र सामाजिक दुरी कायम गरेरै काम गर्दा पनि संक्रमण देखिएकाले धुर्कोटमा संक्रमण फैलिइसकेको आशंका उनले गरेका छन् ।
'भारतबाट जीपमा आएका ५९ जनालाई क्वारेन्टाइनमा ब्यवस्थापन गर्यौ-उनले भने-त्यसक्रममा पनि सामाजिक दुरी कायम गरिएको थियो, उनीहरुको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।'
उनी आफु संक्रमणको जोखिम हुनसक्ने भएकाले गाउँपालिकाको गाडी प्रयोग नगरी व्यक्तिगत मोटरसाइकलमै हिडडुल गर्ने गरेको बताउँछन् ।
'संक्रमणको जोखिम हुने भएकाले धेरैजसो मोटरसाइकलमा यात्रा गरेँ, सुरक्षित भएरै काम गरिरहँदा ममा संक्रमण भयो भने संक्रमण धेरै नै फैलिइसकेको छ कि भन्ने लागेको छ, संक्रमित गराउने श्रोत कहाँ भनेर पत्ता लगाउन कठीन भयो-उनले भने-मसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नेबारे जिल्ला र प्रदेशमा जानकारी गराइसकेको छु, बैठकमा सहभागी भएका साथीहरुलाई होम क्वारेन्टाइनमा बस्न भनिसकेको छु ।'
उनले एकान्तवासको समयलाई अवसरका रुपमा उपयोग गर्ने बताए । 'यो अवस्थामा म एकान्तबासमा बसेर गाउँपालिकाका योजनाबारे थप अध्ययन गर्ने अवसरको रुपमा लिएको छु-उनले भने- अध्ययन गर्न र धुर्कोट गाउँपालिकाको विकासका लागि अवसरका रुपमा लिएको छु, म आत्तिएको छैन र म सबैलाई सतर्क रहन आग्रह गर्दछु, दीर्घरोगीहरुले विशेष ख्याल गर्नुपर्छ, आत्तिइहाल्नुपर्ने अवस्था छैन ।'