बुटवल- रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा आईसोलेशनमा रहेका २५ जना कोरोना भाईरस संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा.उमाशंकर चौधरीका अनुसार निको भएर फर्किएकाहरु अधिकांश कपिलवस्तुका हुन् ।
डिस्चार्ज हुनेमा चार वर्षकी बालिकासमेत छन् । अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना अस्पतालबाट डिस्चार्ज भएका हुन् । जसमा गैडहवा गाउँपालिकाका एकै घरका ६ जना रहेका छन् ।
उनीहरु सबैलाई गत वैशाख ३० गते कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो ।
भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केकाहरू हुन् । सोमबार डिस्चार्ज हुने सबैलाई पुुष्पगुुच्छासहित बिदाइ गरिएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए ।
उनीहरूलाई बिदाइ गर्न प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सांसद सन्तोष पाण्डेय अस्पताल पुुगेका थिए ।
यसअघि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तरगत बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप ४ जना संक्रमित आइतबार डिस्चार्ज भएका थिए ।
योसंगै प्रदेश ५ मा कोरोना भाईरस संक्रमणमुक्त हुनेको संख्या ७७ पुगेको छ ।