बुटवल-कपिलवस्तुमा सोमबार ४० जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार साेमबार थप ४० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे हो ।
शिवराज नगरपालिकाका २६ जना पुरुष, बुद्धभूमि नगरपालिकाका १० जना पुरुष, महाराजगञ्ज नगरपालिकाका दुई जना पुरुष र वाणगङ्गा नगरपालिकाका दुई जना महिलामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए ।
यसअघि पुष्टि भइसकेका दुई सय ७० सहित कपिलवस्तमा सङ्क्रमितकाे सङ्ख्या तीन सय १० पुगेकाे छ ।
कपिलवस्तुका विभिन्न पालिकामा चार सय ९५ बेडको आइसोलेशन वार्ड निर्माण गरी कोरोना सङ्क्रमितहरुकाे सुविधाकाे लागि काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
कपिलवस्तुका १० वटा पालिकाले निर्माण गरेको विभिन्न क्वारेन्टिनमा चार हजार आठ सय जना रहेका छन् । कपिलवस्तुमा संक्रमण देखिएकाहरूको रूपन्देहीका अस्पतालहरूमा उपचार भईरहेको छ ।