बुटवल-प्रदेश ५ का ११ जिल्लामा कोरोना संक्रमण देखिएको छ । शुरुवाती चरणमा प्रदेश ५ का १२ जिल्लामध्ये तराईका ६ जिल्लामा मात्रै संक्रमण देखिएकोमा पछिल्लो साता पहाडी जिल्लामा समेत संक्रमित फेला परेका छन् ।
प्रदेश ५ को प्युठानमा मंगलबार संक्रमित फेला परेसँगै प्रदेश ५ का ११ जिल्लामा संक्रमण फैलिएको हो । प्रदेश ५ सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार मंगलबारसम्ममा प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर चौधरीले प्रदेश ५ मा मंगलबारसम्म ५ सय ६४ जनाको उपचार जारी रहेको बताए । उनका अनुसार प्रदेश ५ बाट मंगलबारसम्म ७६ जना निको भएर घर गएका छन् । मंगलबार प्रदेश ५ मा १ सय ११ जना संक्रमित थप भएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा ४५ भर्ना भएकोमा ३० जना आइसोलेशनमा रहेका छन् भने १५ जना निको भएर घर फर्किएका छन् । भैरहवास्थित भीम अस्पतालमा ३० जना भर्ना भएकोमा ५ जना आइसोलेशनमा रहेका छन् भने २५ जना निको भएको घर गएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बेलझुण्डी दाङमा ५९ जना भर्ना भएकोमा ५१ जना आइसोलेशनमा रहेका छन् भने ८ जना निको भएर घर फर्किएका छन् । यस्तै बाँकेको सुशील कोइराला क्यान्सर अस्पतालमा ४४ जना भर्ना भएकोमा १८ जना आइसोलेशनमा रहेका छन् भने २६ जना निको भएर घर गइसकेका छन् ।
प्रदेश ५ को कपिलवस्तुमा सबैभन्दा बढी ३ सय ६५ जना संक्रमित रहेका छन् भने प्युठानमा १ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । मंगलबारसम्म रोल्पामा संक्रमण देखिएको छैन ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कपिलवस्तुमा ३ सय ६५, बाँकेमा २ सय १३, रुपन्देहीमा ७६, दाङमा ६२, बर्दियामा १३, नवलपरासी पश्चिममा ७, गुल्मीमा ५, पाल्पामा ५, अर्घाखाँचीमा ३, रुकुमपूर्वमा ३ र प्युठानमा १ जना संक्रमित रहेका छन् ।
मंगलबार कपिलवस्तु शिवराजको वडा नं. ३ का २० देखि २४ वर्षका पुरुष ३ जना, वडा नं.४ का १८ र ४२ वर्षका पुरुष २ जना, वडा नं.५ का २४ र २८ वर्षका दुईजना महिला तथा २१ र ३० वर्षका पुरुष २ जना, वडा नं. ६ की १९ वर्षकी एक महिला, वडा नं. ८ का बर्ष २८ का एक पुरुष, वडा नं. १० का बर्ष १७ का एक पुरुष र वडा नं. ११ का १७,२३,२९ वर्षका पुरुष तीन जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
वाणगंगा नगरपालिका वडा नं.४ का वर्ष १६ का एक जना पुरुष तथा महाराजगन्ज नगरपालिका वडा नं. १० का २८ वर्षका पुरुषमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
रुपन्देहीको सैनामैनामा १० जनामा कोरोना संक्रिमण देखिएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ का ५९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । दाङमा आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १ का ३० बर्षका पुरुष र ११ वर्षीया बालिकामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै घोराही वडा नम्बर २ का २६, ४०, ४५, ४६ वर्षका चार जना पुरुष र १९ वर्षीया किशोरी, वडा नम्बर ५ का ५३ वर्षीय पुरुष र वडा नम्बर १७ का २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरमा संक्रमतिको संख्या १७ पुगेको छ ।
प्रदेशका १२ जिल्लाका क्वारेन्टाइनबाट १६ हजार ३ सय ७ जनाको स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा तीनहजार बढीको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए । प्रदेश ५ का १२ वटै जिल्लाका क्वारेन्टाइनमा ४० हजार भन्दा बढी रहेका छन् । उनीहरु सबैजसो भारतबाट आएका हुन् ।
प्रदेश ५ मा कोरोना संक्रमितमध्ये गुल्मी, अर्घाखाँची र बाँकेका एक-एक जना गरी तीनजनाको मृत्यु भएको छ ।