गुल्मी- कोरोना संक्रमण दर बढ्दै गएपछि गुल्मीमा निषेधाज्ञामा कडाइ गरिएको छ। भोलीबाट अत्यावश्यक बाहेकका सवारी साधनमा रोक लगाइएको छ। त्यसै गरि व्यापार व्यवसाय पनि तोकिएको समय अनुसार मात्र सञ्चालन गर्न पाइने छ। साउन २३ गते शनिबार राती १२ बजेदेखी साउन ३२ गते राती १२ बजेसम्म जिल्लाभर लागू हुने गरि आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सुचनामा उल्लेख छ।
निषेधाज्ञाको अवधिमा सार्वजनिक तथा निजी गाडी सञ्चालनमा रोक लगाइएको छ। स्वास्थ्य सामाग्री बोकेका गाडी, एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, स्वास्थ्यकर्मी, पत्रकार लगायतका अत्यावश्यक सवारी साधन मात्र चल्न पाउने छन्। खाद्यान्न ढुवानीका सवारी साधन भने २५, २७ र २९ गते मात्र सञ्चालन गर्न पाइने उल्लेख छ।
तरकारी, फलफूल, दुध, माछामासुका व्यवसाय विहान ६ बजेदेखी ९ बजेसम्म मात्र सञ्चालन गर्न दिइएको छ। त्यसै गरि खाद्यान्न पसलहरु २५, २७ र २९ गते विहान ६ बजेदेखी ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।
विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद लगायतका परिक्षाको लागि सहजिकरण गरिने शर्माले बताइन्। प्छिल्लो तथ्यांक अनुसार गुल्मीमा अहिले सक्रिया संक्रमितको संख्या ३ सय ८६ रहेको छ।