बुटवल–अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ ।
मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवलबाट फर्कदै गर्दा बाटोमै मृत्यु भएपनि स्वाब परिक्षणका लागि भैरहवा पठाईएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए ।
मालारानी गाउँपालिका वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका ५७ वर्षका एक पुरुषको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।
घाटीको सल्यक्रिया समेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा गएका उनी अस्पताल भर्ना नभई फर्कदै गर्दा उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि अर्घाखाँचीमा भारतबाट आउँदै गर्दा भूमिकास्थानका एक युवाको पनि मृत्यु भएको थियो ।