बुटवल-गुल्मीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षिय पुरुषको मृत्यु भएको हो ।
तम्घास अस्पतालका डाक्टर कविराज भुसालका अनुसार जेठ १२ गते कोरोना पुष्टि भएका उनलाई थप उपचारको लागि जेठ १३ गते तम्घासस्थित आइसोलेशनमा ल्याईएको थियो ।
उनी दुई वर्षदेखि क्यान्सर र पायल्सको रोगी थिए । जेठ २ गते भारतबाट आएर उनी धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका थिए ।
थप उपचारको लागि बुटवल लैजानुपर्ने बताएपनि उनी आफैले बुटवल जानका लागि अस्विकार गरेको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
नेपाली सेनाले राति नै उनको शव धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित एक जंगलमा व्यवस्थापन गरेको छ ।
यो सँगै गुल्मीमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । यसभन्दा पहिले मदाने गाउँपालिकाका ४१ बर्षिया पुरुषको रूपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।