काठमाडौँ- बेलायती विज्ञहरुले कोरोना भाइरस संक्रमितहरुलाई लो डोजको स्टेरोइड ट्रिटमेन्टले धेरै फाइदा पुग्ने दाबी गरेका छन् ।
‘डेक्जामेथासोन’ नामक औषधिले कोरोना भाइरसका सिकिस्त बिरामीहरुलाई बचाउने विश्वास लिइएको छ । यो औषधिले कुनै पनि भेन्टिलेटरमा भएका बिरामीको मृत्यु हुने जोखिमलाई एक तिहाईले कम गर्ने तथा अक्सिजन सपोर्टमा रहेकाहरुको जोखिम पनि १/५ ले कम गर्ने वैज्ञानिकहरुको दाबी गरेको बीबीसीले जनाएको छ ।
यो औषधि विश्वको ठूलो ट्रायल टेस्टिङ ट्रिटमेन्टको एक हिस्सा हो । जसमा यो औषधि कोभिड विरुद्ध काम गर्छ वा गर्दैन भनेर परीक्षण भइरहेका छन् । अध्ययनकर्ताका अनुसार यो औषधि बेलायतमा सुरुवाती चरणमा उपलब्ध भएको भए करिब ५ हजार जनाको जीवन बचाउन सकिन्थ्यो ।
निकै सस्तो र सर्वसुलभ यो औषधिको प्रयोगले धेरै संक्रमित देखिएका गरिब देशमा निकै राहत पुग्ने उनीहरुको दाबी समेत छ ।
‘कोरोना संक्रमित २० बिरामीमध्ये १९ बिरामी त अस्पताल भर्ना नभइ निको हुन्छन् । अस्पताल भर्ना भएका पनि निको हुन्छन् तर, केहीलाई भने अक्सिजन वा भेन्टिलेटरको आवश्यकता हुन्छ । यी बिरामीहरु जोखिममा हुन सक्छन् जसमा डेक्जामेथासोनले सहयोग गर्ने देखिन्छ,’ बीबीसीले लेखेको छ ।
यो औषधि विभिन्न अवस्थामा शरीर सुन्निएको असर कम गर्न प्रयोग भइसकेको छ र यसले त्यसबाट निम्त्याउने असरबाट बचाउन सहयोग गर्छ । यो ट्रायल अक्सफोर्ड युनिभर्सिटीको टिमले गरेको हो ।
यो ट्रायलमा अस्पतालमा उपचाररत २ हजार कोरोनाको बिरामीलाई डेक्जामेथासोन दिइएको थियो र ४ हजार जनासँग जसले यो औषधि पाएनन् उनीहरुसँग तुलना गरिएको थियो । भेन्टिलेटरमा रहेका बिरामीमा हुने मृत्युको जोखिमलाई ४० प्रतिशतबाट २८ प्रतिशतमा ल्याउन सक्ने तथा अक्सिजन चाहिने बिरामीको मृत्युको जोखिमलाई २५ प्रतिशतबाट २० प्रतिशतमा झार्न सक्ने वैज्ञानिकको दाबी छ ।
प्रमुख अनुसन्धानकर्ता प्रा. पिटर हर्बीका अनुसार हालसम्म यही मात्र औषधिले तुलनात्मक रुपमा मृत्यु दर घटाउन सफल रहेको दाबी गरेका छन् । ‘यसले उल्लेख्य रुपमा मृत्युदर घटाउँछ । यो मेजर ब्रेकथ्रु हो,’ उनले भने । मुख्य अध्ययनकर्ता प्रा. मार्टिन लान्ड्रेले यो अध्ययनले भेन्टिलेटरमा उपचाररत ८ जना बिरामीमध्ये एकको ज्यान बचाउन सक्ने दाबी गरे ।
साथै अक्सिजन सपोर्टमा रहेका २० देखि २५ जनामा एकजनालाई बचाउन सकिन्छ । प्रा. लान्ड्रे भन्छन्, ‘यसबाट स्पष्ट फाइदा मिल्छ । यो औषधिको उपचार करिब १० दिनसम्म गरिन्छ । यसको मूल्य ५ पाउन्ड रहेको छ । ३५ पाउन्ड जति खर्च भएमा जीवन बच्छ । यो विश्वभर पाइन्छ ।’ उनका अनुसार अस्पतालमा उपचाररत बिरामीलाई ढिला नगरिकन यो औषधि दिन थालिहाल्नुपर्छ ।
‘स्वासप्रस्वासमा कुनै पनि समस्या नदेखिएका बिरामीले यसको सेवन गर्नु हुँदैन । साथै कसैले पनि घरमै बसेर यसको प्रयोग पनि गर्नु हुँदैन ।’ कोरोना भाइरसको विरुद्ध हाइड्रोक्लोरोक्विन पनि प्रयोग गरिएको थियो । तर, त्यसले विभिन्न असर तथा मुटुमा समस्या ल्याउने देखिएपछि प्रयोगमा आएको छैन ।
त्यसैगरी एन्टिभाइरल ट्रिटमेन्टका लागि रेमडिसिभर पनि प्रयोगमा आएको छ । यो चाहिँ कोभिडका बिरामीहरुलाई केही हदसम्म फाइदाजनक नै मानिएको छ । यो औषधि इबोलाको उपचारको लागि पनि प्रयोग भएको थियो ।
यसले कति दिनमा ठिक गर्छ र मृत्युदर कति घटाउँछ भन्ने स्पष्ट भएको छैन । साथै यसको थोरै उपलब्धता हुनु र मुल्य पनि तोकिएको छैन । डेक्जामेथासोन पहिलो पटक १९६० को दशकदेखि आर्थराइटिस र आस्थमाका लागि प्रयोग हुँदै आएको छ ।