बुटवल- केपी ओली प्रधानमन्त्रीबाट हटेपछि असार २९ गते शेरवहादुर देउवा मुलुकको प्रधानमन्त्री बने । देउवाले आँफूसँगै चार जना मन्त्रीलाई पनि सपथग्रहण गराए। तर स्वास्थ्यमन्त्रीको जिम्मेवारी कसैलाई दिएनन्। कोभिडको महामारीमा स्वास्थ्यमन्त्री नियुक्त नगरेको भनेर आलोचना भयो।
छिटो स्वास्थ्यमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब पनि आयो। चौतर्फी दबाबपछि देउवाले आँफू प्रधानमन्त्रीमा नियुक्त भएको १२ दिनपछि विभागीय जिम्मेवारी आफैसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरे।
केन्द्रमा जस्तै लुम्बिनी प्रदेशमा पनि कोभिडको यो समयमा स्वास्थ्य मन्त्रालयलाई बेवास्ता गरिएको छ। ६ जना मन्त्री नियुक्त हुँदा पनि अझै प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएको छैन। विहिवार शंकर पोखरेललाई विस्थापित गर्दै कुलप्रसाद केशी लुम्बिनीको मुख्यमन्त्री भए। मुख्यमन्त्री भएसँगै केशीले ३ जनालाई विभागीय र ३ जनालाई विनाविभागीय गरि ६ जनालाई मन्त्री बनाए । तर स्वास्थ्य मन्त्रालय कसको भागमा पर्ने भन्ने टुंगो लागेको छैन।
कोभिडको बेलामा स्वास्थ्य मन्त्री छिटो नियुक्त हुनु अपरिहार्य रहेको लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका एक अधिकारी बताउँछन्। ‘मन्त्रीपरिषदमा प्रस्ताव लैजान, नितीगत निर्णय गर्न मन्त्री त चाहिन्छ । अझ यो कोभिडको बेला विभागिय मन्त्री अति आवश्यक नै छ ।’ ति अधिकारीले भने ‘अस्ती भरखर मुख्यमन्त्री नियुक्त हुनुभएको छ। अहिले त कुनै समस्या छैन। धेरै दिन मन्त्रालयमा मन्त्री नहुँदा समस्या आउन सक्छ।’
कुलप्रसाद केशी मुख्यमन्त्री भएर आएपछि क्यान्सर पिडित, मिर्गौला पिडीतलाई २ लाख रुपैया दिने निर्णय गरेको थियो। त्यो निर्णय कार्यान्वयन गरेर निर्देशनालयमा पठाउन मन्त्री चाहिने हुन्छ । हुन त अहिले मन्त्रालय सम्हालेका मुख्यमन्त्रीले नै मन्त्रीको भुमिका निर्णय गर्न सक्छन्। तर कार्य व्यवस्तताले मन्त्रीलाई जस्तो मुख्यमन्त्रीलाई भने सहज हुँदैन।
प्रदेश सरकार स्थापना भएको ३ वर्ष सम्म सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्र हेर्ने गर्दथ्यो। गत बैशाखमा जसपाका ४ जनालाई मन्त्री बनाउन तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालय विभाजन गरेका थिए। सामाजिक विकास मन्त्रालयलाई विभाजन गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको थियो।
लुम्बिनीका पूर्व समाजिक विकास मन्त्री तथा माओवादी केन्द्रका सांसद सुदर्शन बरालले छिट्टै स्वास्थ्य मन्त्रालयले विभागीय मन्त्री पाउने दाबी गरे । ‘त्यसमा हामी पनि गम्भीर छौं। स्वास्थ्य मन्त्रालयले छिट्टै विभागिय मन्त्री पाउँछ। उनले भने ‘गठबन्धनको बिचमा मन्त्रालयको बाँडफाँड कार्यविभाजन गर्न केही समय लागेको हो। दुई तीन भित्र स्वास्थ्य सहित सबै मन्त्रालयमा मन्त्रीहरुको जिम्मेवारी तोकिन्छ।’