दाङ–एक वर्षअघि प्रदेश सभा सदस्य उत्तरकुमार ओली सवारी दुर्घटनामा परेर घाईते भए । तत्काल लमहीमा प्राथमिक उपचार गरेर कोहलपुर पठाईयो । लमहीमा सुविधा सम्पन्न अस्पताल हुन्थ्यो भने उनको उपचार सहज हुने चिकित्सकले त्यतिबेला बताएका थिए । उनलाई कोहलपुरबाट काठमाडौं लगियो । तर, बचाउन सकिएन । लमहीमा एउटा बहस भने जारी नै थियो ‘ट्रमा सेन्टर’ । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन ग¥यो–‘लमहीमा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउने ।’
प्रदेश सरकारले लमहीमा सुविधा सम्पन्न अन्र्तराष्ट्रिय मापदण्डको अत्याधुनिक ट्रमा सेन्टर बनाउने योजना अघि सारेको छ । आर्थिक बर्ष २०७७/०७८ को लागि पाँच करोड बजेट विनियोजन गरिएको छ ।
सवारी साधन चलेको बेलामा राजमार्गमा हरेक दिनजस्तो दुर्घटना भईरहन्छ । दुर्घटनामा परेर मानिसहरु घाईते हुन्छन् । उपचारको लागि लमही अस्पताल पु¥याईन्छ । प्राथमिक उपचार गरेर त्यहाँबाट नेपालगञ्ज या बुटवल पठाउने गरिन्छ ।
बुटवल या नेपालगञ्ज यात्राको क्रममा घाईतेले एम्बुलेन्समा प्राण गुमाउने गर्छन् । उपचारको अभावमा राजमार्गमा हुने सवारी दुर्घटनामा परेका घाईतेले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता छ । राजमार्गमा हुने सवारी दुर्घटनालगायत अन्य दुर्घटनामा परेर घाईते हुनेहरुको उपचारको लागि लमहीमा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउने कार्य सुरु हुन थालेको छ ।
बहुवर्षीय टेण्डर मार्फत लमहीमा सुविधा सम्पन्न अत्याधुनिक ट्रमा सेन्टर बनाइने प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए । ‘यहाँ ट्रमा सेन्टर आवश्यक छ भनेर धेरै पटकका छलफल र बहसमा कुरा उठाईयो । प्रदेश सरकारले प्राथमिकता साथ लमहीमा ट्रमा सेन्टर बनाउने योजनालाई समेटेको छ’–शर्माले भने–‘लमही देखि पूर्व वुटवल र पश्चिममा कोहलपुर सम्मको भू–भागमा कति कतै सुविधा सम्पन्न अस्पताल नहुदा यहाँका नागरिकले उपचारको लागि निकै सास्ती खेप्नु प¥यो । अब उपचारको लागि सास्ती खेप्नु पर्ने छैन् । बिरामी रेफर होइन, डाक्टर चार्टर गरेर ट्रमा सेन्टरमा ल्याइने छ ।’
४० करोडको लागतमा ट्रमा सेन्टर निर्माण हुने स्टिमेट तयार गरिएको छ । बहुवर्षीय ठेक्का मार्फत तीन बर्ष भित्र काम सक्नेगरी योजना अघि बढेको शहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवले जानकारी दिए ।
ट्रमा सेन्टरको मुख्य भवन, आकस्मिक भवन, थेरापी भवन क्यान्टिन तथा ब्लडबैंक लगायत अन्य पूर्वाधार बनाइने छ । अहिले ट्रमा सेन्टरको फाईल प्रदेश योजना आयोग हुँदै मन्त्रालयमा पुगेको छ ।
पूर्व पश्चिम राजमार्ग र लमही अस्पतालको बीच भागमा ट्रमा सेन्टर निर्माण गरिने छ । उद्यमशिल सहकारी संस्थाको कार्यालय रहेको स्थानमा ट्रमा सेन्टर बन्ने र सहकारी संस्थाको कार्यालय सञ्चालनको लागि स्थानीय सरकारले अन्यत्र व्यवस्थापन गर्ने भएको हो ।