बाँके- भेरी अस्पतालमा मिर्गाैलाका बिरामी दैनिक बढेका छन्। तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन्। चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन्।
बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वीलचियर छैन। दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक र स्टाप नर्सको अभाव छ। अस्पतालको डायलासिस युनिट समस्यै–समस्याले ग्रसित छ। तर, पनि यसको व्यवस्थापन, मेसिनको मर्मत सुधार र नयाँ मेसिन थप्ने काममा अस्पताल प्रशासनले चासो देखाएको छैन।
अस्पतालमा उपचारका लागि अधिकाँश निमुखा र गरीब बिरामी नै आउने गरेका छन्। मेसिनको अभावमा डायलासिसका लागि पालो कुरेका बिरामी मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता छ। गरीब निमुखा बिरामीलाई डायलासिस मेसिन थपेर सेवा दिनुपर्ने मिर्गाैलापीडित बिरामीहरुको माग छ। भेरी अस्पताललाई मध्य र सुदूरपश्चिम नेपालकै रेफरल सेन्टर (सिफारिश केन्द्र) का रुपमा लिइने गरिन्छ।
यसैले हेमोडायलासिस युनिटमा उपचारका लागि डायलासिस मेसिन, दक्ष जनशक्ति र युनिट सञ्चालनका लागि आवश्यक कोठा थप गर्न अस्पताल प्रशासनसँग माग गरेको डा पारस श्रेष्ठ बताउँछन्। उनका अनुसार अहिले पनि भेरीमा २३ बिरामी पालो कुरेरै बसेका छन्। अहिले दैनिक दुई सिफ्ट चलेको डायलासिसमा चार जनाले मात्र डायलासिस गर्न पाएका छन्।