चाडपर्वको बेला खानेकुरामै ज्यादा ध्यान केन्द्रित हुन्छ । बिहान उठेदेखि राती नसुतेसम्म तथा दिनभर नै अब अर्काेपटक के खाने भन्ने छलफलमै व्यस्त बन्छौ । हामी पनि त्यस्तै छौ, चाडपर्वकै नाममा जीवनशैली अनियमित बनाईदिन्छौ । मनाउने तरिका अस्वस्थकर बनाउछौ र विभिन्न स्वास्थ्य समस्याबाट जगडिरहेका हुन्छौ । जानीजानी बिहान चाडै उठेर नियमित व्यायाम गर्ने बानी छोड्छौ, राती पनि अबेर सुत्छौ । ट्राइग्लिसिराईड, युरिक एसिड, सुगर, उच्च रक्तचाप ३० देखि ४० प्रतिशत माथि गएको पाईन्छ । यस्को स्तर ठीकमा ल्याउँदासम्म शरीरको भित्री भागमा केही न केही नोक्सान भईसकेको हुन्छ ।
तिहार र मिठाईको सम्बन्ध नङ र मासु जस्तै छ । तिहारमा गुलियो खानेकुराको स्थान सबैभन्दा उच्च छ, चिनी गुलियो हुन्छ, सबैलाई मन पर्छ तर चिनीले तत्कालै शक्ति दिने बाहेक कुनै फाईदा दिदैन तथा स्वास्थ्यका लागि उपयुक्त पनि हुदैन । गुलियोले सेतो रक्तकोषहरु कमजोर बनाउँछ, ग्लुकोजको रसायनिक बनोट भिटामिन सीसँग मिल्दोजुल्दो भएकाले रगतमा ग्लुकोज बढ्दा कोष कोषमा बस्छन् । जस्ले एकातिर भिटामिन सीको कमी भई रोग विरुद्ध लड्ने शक्तिमा ह्रास हुन्छ भने अर्काेतिर ईन्सुलिन बढाई ग्रोथ हर्माेनको उत्पादन कम हुन्छ र ईम्युनीटी घटाउँछ । ईन्सुलिनले शरीरमा ट्राईग्लेसेराईडको मात्रा बढाउछ, बोसो भण्डारण गर्छ जस्ले मुटुधमनीका रोगहरु, उच्च रक्तचाप बनाउनसक्छ । धेरै वा पटकपटक चिनी वा गुलियो परिकार खानेमा चाडै नअघाउने, पटक पटक खाईरहने बानीले गर्दा मोटोपना, खनिज तत्वको संचित र भण्डारणमा कमी ल्याउँछ । शिशुहरुमा दाँतको समस्या देखिन्छ । अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी, झर्किने तथा डिप्रेसन ल्याउछ, मृगौलामा नकारात्मक असर, शरीर सुन्निने, पेटको समस्या, हड्डी खिईने, टाउको दुख्ने, माईग्रेन समस्या बढी हुन्छ ।
आजकल त झनै चिनी महंगिएका कारण चिनीभन्दा ५ सय गुणा बढी गुलियो रसायन स्याकरीनको प्रयोग बढ्दो छ । २० रुपैंयामा पाईने ५० ग्राम स्याकरीनले ३० किलो बढी चिनीको काम गर्ने बताईन्छ । सन्तुलित शाकाहारी खानाले मुटुरोग,उच्चरक्तचाप, क्यान्सर, मधुमेह, जोर्नी दुख्ने लगायत अनगिन्ती रोगबाट बचाउँछ । सागपात तथा शाकाहारी खानामा बढी प्रोटिन र एमिनोएसिड भएकाले रक्तचाप नियन्त्रणमा राख्छ, रेसा, म्याग्नेसियम, क्याल्सियम, फलाम र भिटामिन के यथेष्ट हुन्छ । मासुमा अत्यधिक प्रोटिन, बोसो, कम काब्रोहाईड्रेट तथा फलाम र क्याल्सियम पाईदैन, विभिन्न रोगहरु लगाउँछ, उग्र स्वभावको बनाउँछ । तसर्थ माछामासुले तनका साथै मन पनि अस्वस्थ बनाउछ ।
हरेक चाडबाडमा पसलका मिठाईहरु किन्ने चलन बढ्दो छ तर हिजोआज बजारमा उपलब्ध विभिन्न प्रकारका मिठाइस“गै रोगहरु पनि किनिरहेका छौं । किनभने सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकोले मिसावट गरिएको अशुद्ध मिठाई तिहार आउनु साता अघिदेखि नै बनाइन्छ । मिठाई बनाउँदा धेरै समयसम्म पकाईने भएकाले अखाद्य पदार्थले शरीरमा दीर्घकालीन असर पारिरहन्छ । अर्को अस्वस्थ बानी जब चाडपर्व वा मिठाईको बिक्रीको समय आउँछ, तब पसलेले मिठाई ढोका बाहिर आगन, बाटोसम्म राखेर बेच्ने चलनले बाटोको धुँवा, धुलोले एकातिर मिठाईलाई दूषित बनाइरहेका हुन्छन् भने अर्कोतिर झिंगा, किरा लागी संक्रमित बनाइरहेका हुन्छन् ।
विभिन्न प्रकारका रंगहरु, सिम्रिक, सिन्दुर, अविर, नीर, रोडामीन बी, ब्रिलीयन्ट ग्रीन, मालाचीट ग्रीन, मेटालीन एल्लो, ओरेन्ज, जी नेप्थोल, एल्लो एस, अउरामीन, केशरी तथा चम्पारंग र बढी मात्रामा खाद्य रंगहरु क्यारोटीन, एनाटो, विकजीन, कार्नेन, खैरो चिनी इत्यादि तथा एडेटियो पीर्जरभेटीभहरु प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा प्रत्यक्ष हानी गर्ने त केहीमा दीर्घकालीन असर स्वास्थ्यमा पर्दछन् । रंग मिश्रित वा दुषित घिउ तेलको प्रयोगले रक्तकोषिकाहरु विशाक्त भई शरीरमा रगत कम हुने समस्या, रोगसँग लड्ने क्षमता घट्छ । भित्री कोमल अंगहरु जस्तै कलेजो, मुटु, मृगौला, कमजोर हुन्छन्, क्यान्सर हुने सम्भावना बढेर जान्छ । चर्मरोग लाग्ने प्रवल संभावना हुन्छ, बाझोपन हुनसक्छ, आँखा, कान कमजोर हुनसक्छ, सन्तान लुला, लंगडा एवं अपाङ हुनसक्छन्, सन्तानलाई ट्यूमर, क्यान्सर हुन सक्छ । पुरुषको बीजकोष मार्दै लिङ्ग सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने, मृर्गौला तथा कलेजोमा घाउ हुने र छालामा दीर्घरोगका देखिन सक्छ ।
पटाका
दिपावली, तिहार र छठमा अत्यधिक खपत हुने पटाकाका नकारात्मक पक्ष अनगिन्ती छन र यस्बाट प्रताडित हुनेमा अधिकांश महिला, १८ वर्ष कम उमेरका बालवालिका र त्यसैमा मधेशमा बढी हुन्छन । युनिसेफका अनुसार बिश्वमा वर्षेनी साढे ७ लाख व्यक्तिको डढेर मृत्यृ हुन्छ, जस्मा पटाका मुख्य जिम्मेवार छ । पटाकामा एउटा आवाजको र अर्काे पड्काई वा ब्लाष्टको प्रभाव हुन्छ ।
तिखो आवाजले फिर्ता नहुनसक्ने गरी कानको भित्री नशा कमजोर हुनसक्छ भने पडकाईले कानको जाली फुटनसक्छ जुन आफै वा शल्यक्रियाद्वारा ठीक हुन्छ । त्यस्तै कान कराउने समस्या स्थायी वा अस्थायी रुपमा देखिनसक्छ । ५० डेसिवल भन्दा बढी आवाज कान तथा स्वास्थ्यका लागी हानिकारक हुन्छ भने १२५ डेसिवल बढीले कानको पर्दालाई नोक्सान तथा श्रवनशक्ति गुम्नसक्छ । पटाकामा भएको नाईट्रोजन डाईअक्साईड, सल्फर डाईअक्साईड, क्याडमियम, सिसा, तामा, म्यागनिज, सोडियम, सल्फर, म्याग्नेसियम, पोटासियम लगायत हानिकारक प्रदुषकले ब्रोङकाईटिस जस्ता श्वासप्रश्वास सम्बन्धि समस्या निम्त्याउँछन ।सास र दमको समस्या हुनेहरु धुँवाबाट बच्नुपर्छ जस्का लागि घरभित्रै बस्ने, बाहिर निस्कदा मास्क लगाउने तथा दमको औषधी साथमै राख्नुपर्छ । पटाकाका कारण जलिहाले जलेको भाग तुरुन्त चिसो सफा पानीमा डुबाउनुपर्छ, तेल वा घ्यु लगाउनुहुदैन ।
तिहारका बेला पटाका चलाउँदा, दियो बाल्दा तथा खाना बनाउदा प्राय दुर्घटना हुन्छ तसर्थ प्राथमिक उपचारका लागि फस्ट एड बक्स घरमा राख्नुपर्छ । पटाकाका कारण आँखामा कुनै कण परे तुरुन्त सफा पानीले धुनुपर्छ तब पनि असजिलो महशुस भए चिकित्सकलाई देखाउनुपर्छ । बच्चाहरु संवेदनशील हुने भएकाले पटका पड्कँदा, निस्कने आवाज, हानिकारक प्रदुषकसंगै बारुदका कण फैलिदा बालबालिकामा केही समय सास फेर्न अप्ठयारो, आँखा, नाक सुक्खा हुन थाल्नेहुन्छ ।
अन्तमा, बढी नाफा कमाउन खाद्यपदार्थमा खतरनाक रंग, रसायन, औषधि प्रयोग गर्ने, काला बजारी गर्ने काम रोक्न एकातिर कडा नियम कानुन, अनुगमन र नियन्त्रणका निम्ति सरकार नै अगाडि बढ्नुपर्दछ भने अर्काेतिर उपभोक्तामा सचेतना आउनपर्छ । जबसम्म उपभोक्ता सचेत हुदैन तबसम्म कालो बजारी, खाद्य मिसावट, खाद्य विषाक्तता बढेको बढ्यै हुने कुरामा हामी सबैले बुझ्न र व्यवहारमा लागू गर्न जरुरी छ ।
(न्याम्स वीर अस्पतालका सह प्राध्यापक डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रिय कोषाध्यक्ष हुन् ।)