गुल्मी–अझै पनि कोराना भाइरस संक्रमणको त्रास उस्तै छ। गाउँदेखि शहरसम्म विभिन्न खाले भ्रम छन्। अस्पतालहरुले सामान्य बिरामी पनि भर्ना नगर्ने र रेफर गर्ने गरेका खबरहरु पनि नआएका होइनन्।
तर गुल्मी अस्पताल तम्घासमा भने आरडिटी परीक्षणमा पोजेटिभ देखिएकी एकजना गर्भवतीको सुरक्षित रुपमै प्रसुति गराइएको छ।
मालिका गाउँपालिकाकी २६ बर्षीया महिलाको शनिबार गुल्मी अस्पताल तम्घासमा प्रसुति गराइएको हो।
गुल्मी अस्पतालले कोरोना संक्रमण सुरु भएपछि प्रसुति अगाडि गर्भवतीको अनिवार्य आरडिटी परिक्षण गर्ने गरेको छ। अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याका अनुसार अस्पतालमा कोरोना भाइरस संक्रमितहरुलाई प्रसुति गराउने छुट्टै कक्ष समेत बनाइएको छ। उनले ठूला अस्पतालहरुले समेत आरडिटी पोजेटिभ गर्भवतीहरुलाई भर्ना नगर्र्ने गरेको अवस्थामा गुल्मी अस्पतालका नर्सहरुले गरेको चुनौतिपूर्ण कामको प्रसंसा गरे।
ती महिला शुक्रबार अस्पताल भर्ना भएकी थिइन्। तर प्रसुति व्यथाले च्यापेको थिएन। शनिबार स्टाफ नर्स सुश्मा सुवेदीसहितको टोलीले ती महिलाको स्वास्थ्य परिक्षण सुरु गरे। आरडिटी पोजेटिभ देखियो। स्वास्थ्यकर्मी र परिवारमा केहीबेर त्रास फैलियो।
त्यतिन्जेल प्रसुति व्यथा सुरु भइसकेकाले बाहिर रेफर गर्न सक्ने विकल्प थिएन। ‘केहीबेर आफैले डर पनि माने, तर त्यो भन्दा ठूलो कुरा परिवार र गर्भवतीलाई समाल्नु पर्ने स्थिति रह्योे,–नर्स सुवेदीले भनिन्–परिवारको सहमति अनुसार पिपिइ लगाएर सामान्य हिसाबले नै प्रसुति गरार्यौँ।’
आरडिटी पोजेटिभ महिलाको प्रसुति गरिएको जिल्लामा यो पहिलो रेकर्ड भएको अस्पतालको भनाई छ। अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ। सामान्य प्रसुतिसँगै आमा र बच्चाको अवस्था राम्रो भएकाले शनिबार नै डिस्चार्ज गरिएको छ।
अस्पतालमा भन्दा घरमै राम्रो स्याहार सुसार गर्न सकिने भएकाले डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ।
अहिले आमा र बच्चाको अवस्था राम्रो भएको सुत्केरी महिलाका श्रीमानले जानकारी दिए। ‘आमा र नानी दुवै ठीक छन्, सम्बन्धित ठाउँमा जानकारी गराएर घरमै व्यवस्थापन गरेका छौ,–उनले भने,–अस्पताल प्रति आभारी छौ प्रतिकुल अवस्थामा पनि सेवा पायौँ।’
आरडीटी पोजेटिभ देखिएपछि उनको स्वाब लिएर पीसीआर परीक्षणका लागि पठाइएको छ। जसको रिपोर्ट आउन बाँकी छ। उनको सम्पर्कमा आएकाहरुलाई पनि सुरक्षित बस्न भनिएको छ।