बुटवल–प्रदेश ५ सरकारले समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिए/नफैलिएको परीक्षण गर्ने भएको छ।
कोभिड–१९ महामारीको प्रभाव समुदाय स्तरसम्म फैलिए/नफैलिएको पत्ता लगाउनका लागि अत्याधिक भीडभाड र व्यस्त रहने ठाउँहरुमा भेटिने नागरिकको नमूना संकलन गरेर परीक्षण गर्ने भएको हो।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर प्रदेश ५ का रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ र बर्दियाबाट नमूना संकलन गर्ने जनाएको छ।
यी ६ जिल्लाबाट १ हजार २ सय जनाको र्याण्डम स्पाम्पलिङ विधिबाट नमूना संकलन गरी पीसीआर परीक्षण गर्ने मन्त्री सुदर्शन बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले कोरोना भाइरसको संक्रमणको तथ्यांक हेर्दा नियन्त्रण उन्मुख रहेको बताएको छ।
मन्त्रालयका अनुसार प्रदेश ५ मा ४ हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण भएको र त्यसमध्ये ३ हजार ७ सय ७१ जना निको भएर घर फर्किसकेका छन्। ३ सय १५ जनामा कोरोना भाइरस सक्रिय रहेको र उनीहरु अस्पताल र आइसोलेशन सेन्टरहरुमा उपचाररत रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयका अनुसार प्रदेश ५ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएका १३ जनाको मृत्यु भएको छ।