नयाँ वर्ष २०७७ आउन २० दिन बाँकी थियो। चैत महिनाको दोश्रो हप्ता सकिने तरखरमा थियो। मानिसहरु नयाँ वर्ष मनाउने मुड बनाउँदै थिए। नयाँवर्षमा साथीभाइ भेटघाट गर्ने, घुमफिर गर्ने योजना बुन्दै थिए। देशमा विपत्ति आउँदैछ भन्ने कुनै छनक थिएन। सबैतिर सामान्य थियो।
तर चीनमा देखिएको एउटा अनौठो संक्रामक रोगको प्रभाव हामीकहाँ पनि देखियो। चीनमा पुस २२ गते (जनवरी ७, २०२०) अहिलेसम्म नदेखिएको भाइरल इन्फ्लुएन्जा रोगका जीवाणुहरु नोभेल कोरोना भाइरस भएको कुरा विशेषज्ञहरुले पत्ता लगाएका थिए। त्यसरी मानिसहरुलाई बिरामी बनाउने कोरोना भाइरस रहेको र यो मानिसबाट मानिसमा तीब्र गतिमा सरिरहेको उनीहरुले बताइरहेका थिए।
चीनले माघ ९ गते (जनवरी, २३, २०२०) चीनले कोराना भाइरसका बिरामी देखिएको उहान शहर बन्द गर्ने निर्णय गर्यो। त्यहाँको एक मासुबजारका व्यक्तिमा भाइरसको असर देखिएको भनिएको यो। त्यहाँका मानिसहरु अर्को ठाउँ जान नपाउने, अरु ठाउँका मानिसहरु त्यस शहरमा आउन नपाउने निर्णय चीन सरकारले सुनायो।
चीनको हुपेइ प्रान्तको राजधानी रहेको शहरमा एकाएक लकडाउन भयो। १ करोड २० लाख जनसंख्या भएको त्यो शहर एकाएक ठप्प भयो। १ अर्ब २० करोड जनसंख्या रहेका ३१ प्रान्त र सो सरहका निकायमा चीनले जनवरी २९ (माघ १५) मा प्रारम्भिक स्तरको स्वास्थ्य संकटकालको घोषणा गर्यो।
जनवरी ३१ (माघ १७) मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको विश्वव्यापी प्रकोपलाई ‘जनस्वास्थ्य संकटको अन्तरराष्ट्रिय चासो’का रुपमा घोषणा गर्यो।
त्यसको बाछिटा हामीकहाँ पनि आइपुग्यो। चैतको १० गते नेपालमा पनि लकडाउन गर्ने घोषणा सरकारले गर्यो।
११ गतेदेखि देशभर चल्ने गाडी, शहरबजार, स्कुल कलेजदेखि सबै क्षेत्र बन्द हुने भए। यो अप्रत्यासित खबर त थिएन। चीनबाट आइरहेका समाचारहरुले यसको पूर्वानुमान गर्न सजिलो बनाएका थिए।
हुनत, माघ ९ गते एकजना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट आएको थियो। स्वास्थ्य मन्त्रालयले माघ १० गते पत्रकार सम्मेलन गरी यसको आधिकारिक जानकारी दिएको थियो। स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा भनिएको थियो–‘चीनबाट नेपाल आएका एक युवामा संक्रमण देखिएको छ, तर उनमा संक्रमण देखिएपनि कुनै लक्षण देखिएका छैनन्।’
यतिन्जेसम्ममा चीनमा यही भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो। दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि कोरोना भाइरसका संक्रमित देखिएका थिए। अरु देशहरुमा पनि भाइरसको प्रभाव फैलिदै गयो।
नेपालमा सरकारले लकडाउनको घोषणा गरेपछि चैत ११ मा मानिसहरु दिनदिनै चाहिने चीजहरु किन्न बजारमा तछाडमछाड गरेका थिए। सरकारका विभिन्न निकायहरुले जारी गरेका सूचना र अपीलहरुमा ‘घरबाहिर ननिस्कन, व्यक्ति–व्यक्तिबीच दुरी कायम गर्न, आँखा, नाकमा हात नलैजान’ भनिएको थियो। यस्ता कुरा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुले पनि बारम्बार भनिरहेका थिए। रेडियो, टेलिभिजन, अनलाईनहरुले यसबारे नयाँ नयाँ कुराहरुको अपडेट दिइरहेका थिए।
यसरी कोरोना भाइरसले मानिसको दैनिक जीवनमा तीब्र परिवर्तन गरायो। बिहान उठेदेखि बेलुकासम्म यो भाइरसको महामारीसम्बन्धि जानकारीको नयाँ नयाँ सूचना प्राप्त गर्नेमा ध्यान गयो।
चीनमा यो भाइरसका शंकास्पद र घोषित बिरामीहरुको संख्या तीब्र गतिमा बढिरहेको थियो। चीनमा संक्रमितको ग्राफ बढ्दै गर्दा हामीकहाँँ त्रासको ग्राफ उकालो लागिरहेको थियो। यो भाइरसले संक्रमण गर्नेबित्तिकै ज्यान जानसक्छ भन्ने हल्ला र अपुष्ट जानकारीहरुका कारण त्रासको मनोविज्ञान तयार भएको थियो।
डरैडरमा विदेशबाट आउनेहरुको संख्या पनि बढिरहेको थियो। विस्तारै कोरोना भाइरसका संक्रमितहरु देखिन थाले। स्वास्थ्य मन्त्रालयले दिने दैनिक अपडेटले संक्रमितहरुको संख्या बढ्दै गइरहेको बताउँथ्यो।
देशभर तीन तहका सरकारले कोरोना भाइरससँग जुध्न रणनीतिहरु बनाए, सुरक्षाका उपायहरुको खोजी गरे। अरु सबैजना घरभित्रै बसिरहँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्सचालक, अत्यावश्यक सामग्री बोक्ने गाडीका चालक, जनप्रतिनिधि, अत्यावश्यक र दैनिक उपभोग्य वस्तुका बिक्रेतालगायतका क्षेत्रका व्यक्तिहरु भने नियमित काममै खटिए। अग्रपंक्तिमा रहेर काम गरे। जोखिम मोले। यसक्रममा भएका प्रयासकै कारण धेरै संक्रमितहरुले नयाँ जीवन पाए। भाइरससँग संघर्ष गर्दागर्दै केही संक्रमितको मृत्यु भयो।
नेपालमा साउन ६ गतेसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ। कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ।
सरकारले साउन ७ गतेदेखि लकडाउन औपचारिक रुपमा अन्त्य गर्यो। तर केही क्षेत्रहरु भने अझै पनि बन्द रहनेछन्। जनजीवन सामान्य बन्दै छ। मानिसहरु कोरोना भाइरसविरुद्ध कठोर रुपले जुधिरहेका छन्। भाइरसलाई साथी बनाएर संघर्ष गर्दै नियमित काममा फर्किरहेका छन्। विस्तारै कोरोना भाइरसका कारण उत्पन्न त्रास, कहर भुल्न खोज्दैछन्।
यो कहर भुल्नु आवश्यक छ। यो पीडादायी बन्दी जीवनका यादहरु बिर्सनुछ। जिन्दगीलाई निरन्तर अघि बढाउनु त छदैछ।
तर, यो कालखण्ड, यही कालखण्डले दिएका अनौठा अनुभूति, पीडा, व्यथा, दुःख, कहर, त्रासका कथालाई भने कतै कुनामा लुकाएर राख्नुछ। लेख्नुछ,–कोरोना कथा। दिनुछ, आगामी पुस्तालाई हाम्रो पूस्ताले भोगेका कथाव्यथा समेटिएको–मायाको चिनो।
आदरणीय पाठक महानुभाव,
लुम्बिनी टाइम्स डट कमले साउन ७ गतेदेखि कोरोना भाइरसका कारण सिर्जित अवस्था, कोरोना संक्रमित, संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीसहित यो संकटसँग जुध्ने आममानिसका कथा प्रकाशनको थालनी गरेको छ। कोरोना कथा प्रत्येक दिन प्रकाशित हुनेछ । तपाइँलाई पनि कोरोना संक्रमणबारे आफ्ना भोगाइ, डायरी, अनुभवजस्ता विषयमा लेख्न मन लागेको छ भने हामीलाई पठाउनुस्। यदि आफै लेख्न सक्नुहुन्न भने हामीलाई बताउनुहोस् ।
आफै लेखेर पठाउन
इमेल : [email protected]
आफै लेख्न नसक्ने भए
फोन : ९८५१२४०२७४