डा. सुदर्शन थापा : वरिष्ठ परामर्शदाता, लुम्बिनी प्रादेशिक अस्पताल (अस्थायी कोरोना अस्पताल)
चिकित्सा पेशा अंगालेको १६ वर्ष भएछ। पछिल्लो केही महिना पेशागत जीवनमा नसोंचेको र कल्पना नगरेको अवस्था आइलाग्यो। ६ महिना अघि मात्र पनि यस्तो संसारै ठप्प पार्ने भाइरस आउँछ भन्ने परिकल्पना मैले मात्र होइन सायद कसैले गरेको थिएन होला। सन् २०२० को जनवरीको पहिलो हप्तातिर मैले कोरोना भाइरसबारे सुनें।
त्यसअघि डिसेम्बरमै चीनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। त्यो फैलिँदै गएपछि कोरोना भाईरस संक्रमणका समाचार आउन थाले। अनलाइनबाटै मैले पनि कोरोना भाइरसबारे थाहा पाएँ। त्यसप्रति चासो अलि बढ्यो। साइन्टिफिक जर्नलहरु बारम्बार हेरिराख्यौं। त्यहाँ अवस्था कस्तो छ, उपचार कसरी भइरहेको छ, कसरी सफलता हात लागेको छ भन्नेबारे जानकारी लियौं।
चीनसँगै अन्य देशतिर पनि कोरोना फैलिँदै गयो। इटालीलगायत युरोपियन मुलुकमा भयावह अवस्था देखियो। त्यता फैलिएपछि नेपालमा पनि फैलिने सम्भावना देखेर हामीले आन्तरिक तयारी गर्नुपर्ने निष्कर्ष निकाल्यौं।
लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरपालिकाको संयुक्त बैठक बस्यो। प्रादेशिक अस्पताल अन्तर्गतकै छुट्टै कोरोना अस्पताल बनाउने र अस्पताल सञ्चालनको लागि फोकल पर्सन तोक्ने निर्णय भयो। फोकल पर्सनमा मेरो टुंगो लागेको रहेछ।
प्रादेशिक अस्पतालको मेडिसिन विभाग प्रमुख पनि भएकाले जिम्मेवारी पाउनुअघि नै मैले कोरोना भाईरसको संक्रमण नेपालमा पनि संक्रमण देखिन थाल्यो भने व्यवस्थापन कसरी गर्ने भनेर आन्तरिक रुपमा गृहकार्य गरेकै थिएँ। जिम्मेवारी नै पाइसकेपछि मानसिक रुपमा तयार भएँ।
युरोप र अमेरिकापछि अर्को चरणमा कोरोना फैलिने भारत नै हो भन्ने हामीले अनुमान गरिसकेका थियौं। सुरुमा जतिपनि विदेशबाट फर्किनेहरु हवाइजहाजबाटै फर्किएका थिए। लकडाउनपछि अब अन्य मुलुकबाट नभई भारतबाटै घर आउनेको ओइरो लाग्छ भन्ने हाम्रो अनुमान थियो। लकडाउनमा नेपाल र भारतको सीमाना शतप्रतिशत सिल गर्न सक्ने अवस्था थिएन। भारतमा लकडाउन बढेसँगे त्यहाँ रोजगार खोसिएका युवा जनशक्ति ठूलो संख्यामा थियो। तिनीहरु जसरी पनि नेपाल आउने निश्चित थियो।
यी सबै कुराहरुको विचार गरेर, पूर्वानुमान गरेर हामी कोरोना विरुद्धको तयारीमा लागेका थियौं। प्रदेशकै ठूलो अस्पताल भएकाले कोरोनाका संक्रमितहरु सुरुमा यही राख्नुपर्ने अवस्था थियो।
त्यही क्रममा बुटवल धागो कारखानामा कोरोना अस्पताल खोलिएको हो। धागो कारखानामा कोरोना अस्पताल तयार नहुँदै शंकास्पद बिरामीहरु प्रादेशिक अस्पतालकै आइसोलेसनमा राख्यौं। लुम्बिनी प्रादेशिक अस्पतालमा ३ वटा क्याबिनलाई आइसोलेसनको रुपमा प्रयोग गरिएको थियो। शंकास्पद बिरामी थपिएसँगै ३ वटा बेडले पुगेन।
कोरोना अस्पताल तयार भयो। कोरोना अस्पतालमा पनि सुरुमा शंकास्पद बिरामीहरु हामीले राख्यौं। पछि कोभिड १९ पोजेटिभ केश मात्र राख्न थालेका हौं।
स्वास्थ्यकर्मीमा त्रासको अवस्था
कोभिड १९ का कारण विश्वभर त्रासको वातावरण थियो। लकडाउन अघि नै लुम्बिनी प्रादेशीक अस्पतालमा बिरामीको चाप ह्वात्तै घटिसकेको थियो। आम मानिस र बिरामी मात्र नभएर त्यस समय हामी स्वास्थ्यकर्मीमा पनि ठूलो त्रास थियो। तर पनि अस्पतालमा आएको विरामीलाई हेर्नु नै पर्दथ्यो।
स्वास्थ्यकर्मीहरुलाई त्रासबाट मुक्त गर्न सुरुमा ठूलो मिहेनत गर्नुप¥यो। म आफैं पिपीइ लगाएर आइसोलेसनका बिरामीको हेरचाह गर्न अगाडि सरें। त्यसपछि अरु कर्मचारी तथा अन्य चिकित्सकहरुमा पनि पिपीइ लगाएर उपचार गरेपछि सर्ने सम्भावना नहुने रहेछ भनेर मनोबल आउन थाल्यो।
धागो कारखानाको कोरोना अस्पतालमा भर्ना गरिएका एक जना शंकास्पद बिरामीको मृत्यु भयो। साह्रै दुःख लाग्यो। पछि ती व्यक्तिको पिसीआर रिपोर्ट नेगेटिभ आयो। कोरोना अस्पतालमा आइसियु बनिसकेको थिएन। आइसियुको अभावमा उहाँको मृत्यु भएको थियो। तत्काल आइसियुको महसुस भयो।
त्यसको २ हप्तामा सबै सेटअप मिलाएर आइसियु तयार भयो। कोरोना अस्पतालमा ३६ सैयाको आइसोलेसन र छुट्टै ८ बेडको आइसियु थियो। प्रादेशिक अस्पताल र कोरोना अस्पतालमा गरेर एक दर्जन जति शंकास्पद बिरामी राखियो। पछि उनीहरु सबैको रिपोर्ट नेगेटिभ आयो।
त्रासको बीच पनि हामीले कोरोनाको जोखिमसँग जुधेरै काम गर्नुपर्ने थियो। सुरुवातमा मेरै नेतृत्वमा रहेको मेडिसिन विभागमा बसेर एउटा रणनीति तयार गरेका थियौं। बिरामी कसरी हेण्डल गर्ने, राउण्ड कसरी लिने, हाम्रा अरु सेवा सुचारु भएको अवस्थामा तिनीहरुलाई असर नपार्ने गरी कसरी काम गर्ने, अरु सेवालाई पनि निरन्तरता कसरी दिने भन्ने खालको मापदण्ड तय ग¥यौं। त्यस बाहेक संक्रमण देखियो भने यसरी उपचार गर्ने भन्ने खालको मापदण्ड पनि हामीले बनाइसकेका थियौं। साथै नर्सहरु र अन्य सहयोगीहरुलाई यो रोगबाट कसरी बचाउने, पिपिइ कसरी लगाउने, कसरी फुकाल्ने लगायत सरसफाइका कुराहरुबारे सबै जनालाई तालिम दियौं।
कोरोनाका लागि नयाँ अस्पताल बनेपछि अरु जनशक्ति पनि थपियो। उनीहरु सबैलाई फेरि पिपीइ, सरसफाइदेखि लिएर प्रयोग भएका सरसामानहरुलाई कसरी नष्ट गर्ने भन्ने छुट्टै तालिम दियौं। सुरुबाटै आन्तरिक तयारी गरेर बलियो अवस्थामा भएकाले कोराना जोखिमसँग जुध्न हामीलाई अलि सहज भयो। सुरुमा कोरोना अस्पतालमा शंकास्पद बिरामी मात्र थिए। पछि कोभिड १९ पोजेटिभ भएकै बिरामी आए। मर्चवारका एकजना कोरोना पोजेटिभ भएका बिरामी आएपछि भने फेरि त्रास बढ्यो। तर पनि सतर्कता अपनाएर काम गर्नु नै थियो, गर्यौं।
पिपीइ लगायतका सामग्री सुरुमा त हामीसँग थियो। बीचमा हामीले चर्को अभाव सामना गर्नुपर्यो। बीचमा चीनमा पुरै लकडाउनको अवस्था थियो। जतिबेला अरु देशहरुमा कडा लकडाउन थियो। त्यो बेला स्वास्थ्य सामग्रीको हामी चरम अभावमै बेहोर्यौं। त्यसबेला यही स्थानीय रुपमा बनाएका पिपीइ प्रयोग गर्यौं।
अरु देशबाट आएका मापदण्डमा रहेर स्थानीय बजारमा बनाएका पिपिइ प्रयोग गयौ। प्लाष्टिकको पिपीइ सिलाइएको थियो।
पहिलो संक्रमित नयाँ संक्रमितहरुको परामर्शदाता बने
लकडाउनमा भारतबाट नेपाल छिरेका मर्चवारका युवक कोरोना अस्पतालका पहिलो संक्रमितको रुपमा भर्ना भएका थिए।
अस्पतालमा ल्याएर राख्न उनलाई असाध्यै गाह्रो भयो। सुरुमा उहाँले ममा कोरोना भाईरस नै छैन, म स्वस्थ छु भनेर दाबी गर्नुभयो। मेरो स्याम्पल अरुसँग साटिएको होला, यति डरलाग्दो रोग मलाई कसरी लाग्छ र भनेर उहाँ बस्न मान्नुभएको थिएन। हामीहरुले उहाँसँग कुरा गरेपछि, नियमित परामर्श र जाँच गरेपछि बल्ल विश्वास गर्नुभयो।
‘तपाईलाई कोरोना भाईरसको संक्रमण छ, समुदायमा जान हुँदैन, अरुलाई पनि सर्छ’ भनेर सम्झाएपछि हुन्छ यही बसेर उपचार गर्छु भन्नुभयो।
कोरोना हो भनेर ढुक्क गराएपछि अर्को समस्या आयो। उहाँमा डर त्रास बढ्यो, आत्तिनुभयो। आत्तिनुपर्दैन हामीले तपाईको राम्रो ख्याल गर्छाै ठीक हुन्छ भनेर आश्वस्त गरायौं। अरु ठाउँका आइसोलेसनमा भिडियोबाट हेरेर बिरामीसँग कुरा गर्ने सिष्टम थियो। हामीहरुले चाँहि भिडियोबाट मात्र नभएर नजिक गएर उनको चेकजाँच गरेर प्रत्यक्ष परामर्श गर्यौं। त्यसले गर्दा पहिलो संक्रमित व्यक्तिमा एउटा आत्मविश्वास बढेर गयो।
सजिलै डाक्टरहरु आइरहनुभएको छ भनेपछि यो रोग त्यति डरलाग्दो रहेनछ भन्ने उहाँमा आत्मविश्वास बढेको थियो। कोरोना अस्पतालमा पहिलो संक्रमित लगभग एक हप्ता एक्लै रहनुभयो। एकातर्फ हामीले परामर्श गर्यौ अर्कोतर्फ पोशिलो खानेकुरा सबै दिएका थियौं।
उहाँ के गर्दा खुशी हुनुहुन्छ त्यतातर्फ ध्यान दिन्थ्यौं। के गरेर खुशी पार्न सकिन्छ भन्ने प्रयासमा लाग्यौं। उहाँका सानैदेखिका रुचिका बारेमा सोध्यौं। धेरै कुराकानी भयो। उहाँलाई सानैदेखि नाच्न रुचि रहेछ। हामीले गीत बजाएर नाच्नको लागि प्रोत्साहन गयौं। यसरी उहाँ के गर्दा खुशी हुनुहुन्छ त्यस अनुसार हामीले व्यवस्थापन गर्यौं।
बिहान उठ्नुहुन्थ्यो आफ्नो नित्यकर्म गरेपछि अलिअलि हिड्नुहुन्थ्यो। भित्र कहिलेकाँही नाँच्नुहुन्थ्यो, केही गीत पनि गाउनुहुन्थ्यो। दिनभर नर्सिङ स्टाफ, अनि राउण्डमा जाने डाक्टरहरुसँग कुरा गरेर बिताउनुहुन्थ्यो। हामीहरु बिहान र साँझ गरेर २ पटक राउण्डमा जान्थ्यौ, राउण्डमा गएर उहाँसँग प्रत्यक्ष नै कुरा गर्थ्यौ।
हामीलाई पनि उहाँले यो यो गर्न सक्छु भनेर आफ्नो खुबी देखाउनुहुन्थ्यो। मैले आफ्नो व्यक्तिगत फोन नम्बर पनि उहाँलाई दिएको थिएँ। बेलाबेलामा म सँग फोन गरेर कुरा गरिराख्नु हुन्थ्यो। घर परिवारलाई पनि मैले फोन नम्बर उपलब्ध गराएको थिएँ। घरको र बढी मात्रामा आमाको उहाँलाई चिन्ता रहेछ। आमा बिरामी हुनुहुन्छ भन्ने थाहा पाएपछि मैले फोनबाटै स्वास्थ्य अवस्थाबारे जानकारी लिएर सामान्य औषधि लेखेर दिएको थिएँ। उहाँको तनाव जसरी पनि कम गराउने गरी हामीले काम गरिरहेका थियौं।
पछि अरु संक्रमितहरु पनि थपिए। उहाँ एक्लै हुनुभएन। यतिबेलासम्म पहिलो संक्रमित कोरोना भाइरसबारे धेरै जानकार भइसक्नुभएको थियो।
नयाँ आएका बिरामीलाई पनि यसरी गर्नुपर्छ, यहाँ यसरी जाने हो, हात यसरी धुनुपर्छ, माक्स लगाउनुपर्छ, यसो गर्दा हामीलाई बिरामीबाट बाहिर निस्कन सजिलो हुन्छ भन्ने कुराहरु नयाँ संक्रमितसँग गर्नुहुन्थ्यो। एक हिसाबले उहाँले अरु नयाँ संक्रमितहरुलाई अभिभावक र परामर्शदाताको भूमिका पनि निभाउनुभयो। कोरोनामुक्त भएर जाँदा पनि ‘म त ठीक भएँ तिमीहरु पनि ठीक हुन्छौ। आत्तिनहुँदैन, चिन्ता लिनुहुँदैन’ भनेर उहाँले सम्झाउनुभयो।
सांसदलाई फोन गरेर आइसोलेसनबाट निकाल्न दबाब
कोरोना अस्पतालमा आएका मध्ये धेरै भारतबाट रोजगार गरेर फर्किएकाहरु नै थिए। कोरोना पोजेटिभ देखिएको भएपनि रोगको कुनै लक्षण नदेखिएकालाई राख्न आइसोलेसनमा साह्रै गाह्रो हुन्थ्यो।
त्यसमध्ये एउटा समूहलाई सम्झाउन निकै सास्ती भयो। उहाँहरुले जतिखेर पनि ‘हामी घर जान्छौं’ भन्ने। ‘हामी यस्तो स्वस्थ मान्छेलाई किन यहाँ राखेको ? तिमीहरुको जाँच्ने तरिका ठीक नभएर, मेसिन खराब भएर हामीलाई कोरोना देखिएको हो’ भनेर आरोप लगाउन थाल्नुभयो। रोगको लक्षण नभएपछि उहाँहरुलाई हामी स्वस्थ छौ भन्ने लाग्दो रहेछ। आइसोलेसनमा बस्दा घर परिवारसँग बसे जस्तो पनि हुँदैन।
हामीले सम्झाउन, बुझाउन निकै मेहनत गर्यौं। ‘यस्तो गर्नुहुँदैन, यहाँबाट जानुभयो भने तपाईको परिवारलाई र समाजमा पनि सर्न सक्छ, नेगेटिभ भएर मात्र जानुपर्छ त्यसरी मात्र सुरक्षित भइन्छ’ भनेर भन्यौं। घरजान खोज्ने प्रवृतिले हामीहरुलाई एकदम अफठ्यारो पार्यो। सम्झाउँदा झगडा गर्न खोज्ने। तै पनि हामीहरुले संक्रमितहरुलार्ई सम्झाउन र तनाव कम गराउन कोशिश गरिरहेका थियौं।
त्यसमध्ये एकजना कपिलवस्तुको बिरामी निकै उद्दण्ड देखिनुभयो। अस्पतालमा बस्नै नमान्ने। ‘म स्वस्थ छु, कोरोना छँदैछैन। मलाई कसरी कोरोना हुन सक्छ, यहाँ किन थुनेर राखेको’, भनेर पटक पटक कराउनुभयो। राउण्डमा जाँँदा हामीहरु डाक्टरहरुलाई पनि गाली गर्ने, नर्सहरुलाई पनि तथानाम छाडा शब्द प्रयोग गर्ने गर्नुभयो। पटक पटक परिवारमा पनि फोन गरेर हामीलाई छुटाउन पर्यो भनेर दबाब दिने काम पनि भयो।
त्यति मात्र होइन एकपटक आफ्ना क्षेत्रका सांसदलाई फोन गरेर मलाई यहाँबाट जसरी पनि निकाल्न पर्छ भनेर दबाब दिनुभएछ। हामीले कति सम्झाउँदा पनि भएन। पछि सांसद आफैले आएर सम्झाउनुभयो। ‘यसो गर्न हुँदैन, यहाँबाट सन्चो भएर मात्र जानुपर्छ, नत्र परिवारलाई र अरुलाई पनि सर्छ’ भनेर सम्झाउनुपर्यो।
आफू मात्र नभई उहाँले अरु बिरामीहरुलाई भड्काउनुभयो। ‘तिमीहरुलाई पनि केही छैन । हामी सबै स्वस्थ छौ, अरु कुनै कारणले यिनीहरुले हामीलाई बन्धक बनाएर थुनेर राखेका छन्। हामीलाई कोरोना छदैं छैन’ भनेर अरुहरुलाई उचाल्ने काम गर्नुभयो।
त्यो समुह नै आएर हामीसँग बाझाबाझ गर्न थाले। त्यसरी भड्काएपछि अलि असहज भयो। बिस्तारै बिस्तारै अरु सबैलाई सम्झायौं। तर उहाँ एकजनालाई अन्तिमसम्म पनि सम्झाउन सकेनौं।
स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि
कोरोना अस्पतालमा काम गर्ने एक जना स्वास्थ्कर्मीलाई कोरोना संक्रमण देखियो। त्यसपछि भने फेरि सबै स्वास्थ्यकर्मीहरुमा एकपटक डर त्रास पैदा भएको थियो। भारतबाट आएका मर्चवारका सुरुकै संक्रमितलाई हेरचाह गर्दा उहाँमा कोभिड १९ पोजेटिभ देखिएको थियो। त्यो बेला हाम्रो टीम केही हच्केको अवस्था थियो। बिरामीको उपचार गर्दा पनि सर्दो रहेछ भन्ने भयो।
तर बिस्तारै सबैको मनोबल बढाउँदै गयौं। राम्रोसँग सतर्कता अपनाएको खण्डमा, डिस्इन्फेक्सनको कुराहरु राम्रोसँग लागू गरेको खण्डमा यो सर्दैन भनेर उहाँहरुलाई हौसला प्रदान गर्दै आएपछि अहिले चाँही कोरोना अस्पतालमा खट्ने स्वास्थ्यकर्मीहरुमा त्यस्तो डर छैन।
संक्रमित स्वास्थ्यकर्मीको इच्छाअनुसार नै उहाँको नाम हामी गोप्य राख्यौं। घर परिवारमा उहाँको दाइबाहेक अरुलाई पनि जानकारी दिएनौं। उहाँले ‘भन्यो भने परिवारमा त्रास हुन्छ। हामीहरुले त कोरोना लाग्दैमा डराउन पर्दैन भनेर बुझेका छौं। तर परिवारलाई बुझाउन गाह्रो हुन्छ’ भनेर बाहिर खुलाउन चाहनुभएन। हामीले पनि त्यसै गर्यौं।
आउँदाआउँदै बिरामी अस्पतालको ढोकामा ढल्दा..
कोभिड १९ पोजेटिभ देखिएका कपिलवस्तुका २२ वर्षका युवालाई कोरोना अस्पतालमा ल्याइएको थियो। उहाँमा मधुमेह पनि रहेछ। पहिलेदेखि नै इन्सुलिन लिने गर्नुभएको थियो। आउने बित्तिकै अस्पतालको ढोकामै ढल्नुभयो। अर्धचेत अवस्थामा हुनुहुन्थ्यो।
कपिलवस्तुबाट आउँदै गर्दा गाडीमै पनि उहाँमा स्वास फेर्न अफ्ठ्यारो भएको रहेछ। आइसियुभित्र लैजान नपाउँदै ढोकामै ढलेपछि केही नराम्रो घटना हुने हो कि भनेर डर भयो। तर पनि सतर्कता अपनायौं। ढोकामै स्वास फेर्ने पाइप राख्नुपर्यो। पाइप राखेपछि उहाँलाई आइसियु भित्र लगेर भेन्टिलेटरमा राख्नुपरेको थियो। ३ दिनसम्म भेन्टिलेटरमा राखेर उहाँ सकुशल आइसोलेसनमा फर्किनुभयो। उहाँ नै भेन्टिलेटरमा राखेर उपचार गरेको पहिलो व्यक्ति हो। पूरा निको भएर घर जानुभयो। उहाँ निको भएको दिन एकदमै खुशी लाग्यो।
स्वास्थ्यकर्मीलाई पारिवारिक र सामाजिक दबाब
हाम्रो पेशा नै जोखिमपूर्ण। त्यस्तो संकटको बेलामा अरु घरभित्रै बस्दा हामी संक्रमितको उपचार गर्ने ठाउँमा थियौं। दिनरात खटिएका थियौं। तर, हामीमा पेशागत दायित्वबारे र यसको गम्भीरताबारे त थाहा हुन्छ, तर हाम्रा परिवार र समाजमा केही समस्या देखियो। हाम्रा केही स्वास्थ्यकर्मी साथीहरुले विभिन्न पारिवारिक र सामाजिक दबाबको सामना गर्नुपर्यो। घरपरिवारबाट यो जागिर नै नगर भन्ने, समाजमा कोरोना अस्पतालमा काम गर्छ भनेर घर जान नदिने जस्ता दबाब आए। त्यस्ता दबाब पटकपटक आए।
प्रादेशिक अस्पतालको इमरजेन्सीमा काम गर्ने एकजना डाक्टरलाई घरबाटै निकालिएको थियो। हाम्रा अरु पारामेडिक्स साथीहरु र सेक्युरिटीका कर्मचारीहरुलाई आफ्नो घर जान नदिने काम भयो। कोरोना अस्पतालमा काम गर्ने सुरक्षा गार्डलाई गाउँमा पस्नै नदिएर कोरोना अस्पतालमै बस्नुपरेको थियो।
म चाँही अस्पतालको क्वाटरमै बसेको हुँदा ‘तँ छोड’ भन्ने दबाब झेल्नु परेन। सुरुबाटै परिवारले पनि मलाई सहयोग गर्यो। तर पनि उपचारमा खटिने मान्छे परिवारबाट अलि अलग हुनैपर्यो।
सुरुबाटै सेल्फ आइसोलेसनको रुपमा एउटा छुट्टै कोठामा बसें।
काम गर्दा सँधै पिपीइ लगाउथेँ। कोरोना अस्पतालमा राउण्डमा गएर आउँदा अस्पतालमै हामीहरु नुहाएर आउने गर्थ्यौ। घर आएर पनि फेरि सरसफाइ गथ्यौं। छुट्टै बस्ने, छुट्टै खाने, बच्चाहरुबाट टाढा बस्ने गरेको थिएँ। आफ्नो बच्चासँग तर्केर बस्दा सुरुमा त नरमाइलो लाग्थ्यो, मन दुख्थ्यो । तर पनि बच्चा, परिवार र समाजको सुरक्षाको लागि पनि त्यसो गर्नै पर्ने थियो। बाध्यता थियो।
परिवारबाट काममा सहयोग पाएपनि अन्य केही नातेदार तथा शुभेच्छुकहरुले कोरोनाको महामारीमा यस्तो जागिर नगरेको भए हुन्थ्यो भन्थे। ‘रोग लागेपछि मर्ने नै हो, त्यस्तो डरलाग्दो काम किन आँटेको’ भनेर भन्नुहुन्थ्यो। आफै अस्पतालको मेडिसिन विभाग प्रमुख भएपछि जिम्मेवारीबाट भाग्न सकिँदैन। मलाई मेरो पेशाको जिम्मेवारी र यसको दायित्व पूरा थाहा थियो। म अरुले भनेको कुराबाट बहकिन त सक्दिनथेँ। तर, अरुलाई बुझाउन गाह्रो हुन्थ्यो। त्यस हिसाबले मानसिक रुपमा तयार भएर अघि बढेँ।
कोरोना अस्पतालमा अहिलेचाँहि हामीहरुले आलोपालो मिलाएर काम गरेका छौं। एक हप्ता काम गरेर २ हप्ता क्वारेन्टिनमा बस्नुपर्छ। होटलमा क्वारेन्टिनको व्यवस्था छ। क्वारेन्टिनमा बसेर मात्र घरमा फर्किन पाइन्छ।
कोरोना अस्पतालमा मेरो पालो परेको बेला म पनि एक हप्ता काम गर्छु। २ हप्ता क्वारेन्टिनमै बस्छु। त्यसपछि मात्र घरमा फर्किन्छु। पालो नपर्दा व्यवस्थापन मात्र हेरेको छु। हामी स्वास्थ्यकर्मीको नियमित पिसिआर टेष्ट पनि हुने गरेको छ। हामी नै संक्रमित भयौं भने उपचारका लागि आउने बिरामीहरुलाई पनि सर्न सक्छ, परिवारदेखि सबैतिर जोखिम हुनसक्छ, त्यसैले हामीहरु एकदमै सुरक्षित हुनुपर्ने अवस्था छ।
सुरुमा सोंचेको भन्दा कम भयावह
सुरुमा विश्वको परिवेश हेर्दा नेपालमा पनि कोरोना भाइरसको संक्रमण भयावह रुपमा फैलिन्छ भन्ने अनुमान थियो। रोगका लक्षण धेरैमा देखिन्छ, सिरियस केश पनि धेरै हुन्छन् भन्ने लागेको थियो। तर अहिलेसम्म आउँदा परिस्थिति त्यति जटिल देखिएन। कोभिड १९ को पोजेटिभ केश धेरै देखिएपनि लक्षण भने कममा मात्र छ। सिरियस केश त अत्यन्त न्यून छ।
कोरोना अस्पतालमा हामीहरुले अहिलेसम्म १० जनालाई आइसियुमा राखेर सञ्चो बनाएर पठाइसकेका छौं। कोरोनाकै कारण नेपालमा आइतबार दिउसोसम्म ४५ जनाको मृत्यु भएपनि हाम्रो अस्पतालमा मृत्यु भएको केश छैन। तरपनि कोरोना पोजेटिभ नदेखिएका एक जनाको मृत्यु भने दुःखद हो।
कहिले नसोंचेको र कल्पना नगरेको रोगसँग लड्न आकस्मिक व्यवस्थापन गरेर अगाडि बढ्नुपर्ने अवस्था भयो। धेरै योजना बनाएर काम गर्ने अवसर नै पाएनौं। तर पनि अहिले सम्मको अवस्था हेर्दा जे जति हामीले कोरोनामा काम गरेका छौै। म र लुम्बिनी प्रादेशिक अस्पताल त्यसबाट सन्तुष्ट छौं। सायद, आममानिसले पनि यसको गम्भीरता, हाम्रो परिवेश र श्रोतसाधनको अवस्थाबारे बुझेकै हुनुपर्छ।
(लुम्बिनी प्रादेशिक अस्पताल अस्थायी कोरोना अस्पतालका वरिष्ठ परामर्शदाता डा. सुदर्शन थापासँग सुदीप भण्डारीले गरेको कुराकानीमा आधारित)