बुटवल-बुटवलको एक होटलमा क्वारेन्टिन बसेका ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुटवलस्थित एक होटलमा यही साउन ७ गतेदेखि बस्दै आएका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको हो।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहका अनुसार उनीहरु भारतबाट आएर रोजगारदाता संस्थामा जानुअघि क्वारेन्टिन बसेका थिए।
उनीहरु बुटवलको एक सिरक डसना भण्डारमा काम गर्नका लागि भारतबाट आएका थिए। पीसीआर परीक्षणका क्रममा पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानास्थित कोरोना अस्पताल लगिएको छ।
होटललाई सिल गरेर होटलका कर्मचारीलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको सिंहले जानकारी दिए।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले भारतबाट आउने क्रममा सीमामा रोकेर सोधपुछ गर्दा उनीहरु बुटवलको सिरक डसना उद्योगमा काम गर्न आउने पत्ता लागेपछि उद्योगीसँगको समन्वयमा क्वारेन्टिन राखिएको थियो।
शुक्रबार उनीहरुमा कोरोना पोजिटिभ देखिएपनि उपमहानगरले सोमबार मात्रै सार्वजनिक गरेको हो।
बुटवलका १० वटा भन्दा बढी होटललाई क्वारेन्टिन बनाइएको र ती होटलहरुमा कोरोना भाइरस परीक्षण गर्नुअघि बस्ने व्यवस्था मिलाइएको उनले बताए। यसरी बसेको खर्च भने आफै बेहोर्नुपर्छ।