बुटवल-बुटवलमा होम क्वारेन्टिनमा बसेका एकजनामा कोरोना भाईरसको संक्रमण देखिएको छ। बुटवल–१३ स्थित घरमै बसेका एक पुरुषमा संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए।
दुबइबाट* आएर उनी घरमै क्वारेन्टिन बसिरहेका थिए। उनी विमानमार्फत काठमाडौ आएको र काठमाडौबाट बुटवल आएर सुरक्षित रुपमा घरमै बसिरहेको उनले बताए। उनलाई बुटवलस्थित एन्फा एकेडेमी आइसोलेसनमा राखिएको छ। संक्रमितमा कुनै लक्षण देखिएका छैनन्।
उनको आज मंगलबार कन्ट्याक्ट ट्रेसिङ गरेर थप परीक्षणको काम अघि बढ्ने उनले बताए। संक्रमितको परिवार होम क्वारेन्टिनमा छन्।
यसअघि सोमबार बुटवलस्थित एक होटलमा यही साउन ७ गतेदेखि बस्दै आएका एकैपरिवारका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको सार्वजनिक भएको थियो।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत सिंहका अनुसार उनीहरु भारतबाट आएर रोजगारदाता संस्थामा जानुअघि क्वारेन्टिन बसेका थिए।
उनीहरु बुटवलको एक सिरक डसना भण्डारमा काम गर्नका लागि भारतबाट आएका थिए। पीसीआर परीक्षणका क्रममा पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानास्थित कोरोना अस्पताल लगिएको छ। यो सँगै बुटवलमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या २० पुगेको छ।
*यसअघि भारतबाट आएर बसेको भन्ने जानकारी बुटवल उपमहानगरबाट आएकोमा पछि उनी दुबइबाट आएको भन्ने विवरण उपमहानगरले नै दिएपछि सच्याइएको ।