कपिलवस्तु-कपिलवस्तुमा एकसाथ ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शिवराज नगरपालिकामा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। योसंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७९६ पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार आज पुष्टि भएकामध्ये २८ जना पुरुष र ६ जना महिला हुन्। तीमध्ये भारतबाट आएका १२ जना, संयुक्त अरब इमिरेट्स (दुबई) बाट आएका ४ जना, कतारबाट आएका ३ तथा साउदी अरेबियाबाट आएका २ जना हुन्। बाँकी १३ जना स्थानीय हुन्। समुदायस्तरमा १३ जनामा कोरोना देखिएपछि जिल्लामा त्रास बढेको छ।
थापाका अनुसार प्रदेश ५ सरकारको कार्यक्रमअनुसार समुदायस्तरमा गरिएको नमूना परीक्षणका क्रममा यी व्यक्तिमा संक्रमण देखिएको हो। शिवराज नगरपालिकाका विभिन्न स्थानबाट ८४ जनाको स्वाब लिइएकोमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
पोजेटिभ आएकाहरुमा ११ जना पुरुष र २ जना महिला हुन्। जसमध्ये ३ जना शिक्षक, एकजना वडा कार्यालयकी सचिव र उनका श्रीमान् रहेका छन् भने अरु किसान र गृहणी हुन्। जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुमा पहिलो चरणमा ३ सय जनामा समुदायस्तरबाट स्वाब लिएर परीक्षण गर्ने थापाले जानकारी दिए। कार्यालयले कृष्णनगर क्षेत्रमा खटिएका प्रहरी, यसोधरा गाउँपालिकामा समुदायस्तरमा परीक्षण गर्ने बताएको छ।
उनका अनुसार सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको हो।