वीरगञ्ज-पर्साको वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
नारायणी अस्पतालका डाक्टर निरज सिंहका अनुसार वीरगञ्जमा बस्दै आएका एक जना भारतीय नागरिक र वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का एक जना पुरुषको मृत्यु भएको छ।
मृत्यु भएका ५६ वर्षका भारतीय पुरूष मुटुसम्बन्धी समस्या लिएर असार ७ गते अस्पताल भर्ना भएको डा.सिंहले जानकारी दिए। बिहीबार दिउँसो उनको शरीरमा अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखिएको थियो। दिउँसो भेन्टिलेटरमा राखिएका उनको गएराति ११ बजे मृत्यु भएको डा.सिंहले जानकारी दिए।
अर्का मृत्यु भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का ३५ वर्षीय पुरुष निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएको उनले जानकारी दिए। साउन १३ गते गण्डक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको बिहीबार राति ७:४० बजे मृत्यु भएको डा.सिंहले जानकारी दिएका छन्।