लकडाउन भएकै अर्को दिन भारतबाट मान्छे आउन थाले। भारतमा संक्रमण बढेकाले त्यहाँबाट आउनेहरुलाई हेर्ने दृष्टिकोण नै फरक थियो। छुन नहुने, हेर्नै नहुने मान्छे सरह व्यवहार गर्थे।
कार्यपालिकामा क्यारेन्टाइन निर्माण र उनीहरुको व्यवस्थापनको विषयमै छलफलहरु भैरहेका थिए। लडाउनपछि प्रशासनले रिडीबाट उद्धार गरेकामध्ये सबैभन्दा बढी इस्माकै मानिस थिए। सदरमुकामै या गाउँमा व्यवस्थापन गर्ने भनेर प्रशासन र तहगत रुपमा ठोस निर्णय नहुँदै भारतबाट आएकालाई एक रात तम्घासको महेन्द्र माविमा राखेर गाउँ पठाउने कुराले तनाव बनाईहाल्यो।
गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले उनीहरुलाई तत्काल गाउँ नपठाउन प्रहरी प्रशासनसँग समन्वय गर्नुभयो। किनभने हामीसँग त्यसरी आएकाहरुलाई राख्ने ठाउँ नै थिएन।
तर विकल्प भएन। सर्वदलीय बैठकले भारतबाट आएकाहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउने निर्णय गर्यो। भारतबाट आएका ११ जना बिहानको खाना खाएर अरु स्थानीय तहमा जानेहरुसँगै पनाहा खोलासम्म आए।
गाउँमा मान्छे आएभन्दा पनि कोरोना भाइरस लिएर आए भन्ने अवस्था थियो। गाउँपालिका र व्यवस्थापनमा खटिएकाहरुलाई भारतबाट आउनेलाई क्वारेन्टिन राख्ने र उनीहरुलाई गाउँका क्वारेन्टिनमा व्यवस्थापन गर्दा स्थानीयसँग ठूलो वादविवाद चल्थ्यो। दैनिक तीन/चार जनाको समूहमा भारतबाट नागरिक गाउँ आउन थाले।
त्यो पनि बिहान ५ बजेदेखि राति ११/१२ सम्म। इस्मा गाउँपालिकामा क्वारेन्टिन व्यवस्थापनको लागि मोबाइल टोली निर्माण गरियो। टोलीको अग्रपंतिमा म लागें। टोलीमा रहेका इस्मा प्रहरी चौकीका सई, गाउँपालिकाका स्वास्थ्यकर्मी र कर्मचारीले पनि कहिल्यै काममा नाई भनेनन्।
भारतबाट आउनेहरुको निश्चित समय तालिका नभएकाले खाने र सुत्ने कुराको टुङ्गो थिएन। कहिलेकाँही त राति ३ बजे खाना नखाएर सुत्यौ, बिहान उज्यालो नहुँदै पनाहको हेल्थ डेक्समा पुग्थ्यौ।
जुन वडाका नागरिक आउँथे त्यही ठाउँको विद्यालयमा व्यवस्थापन गर्नुपथ्र्यो। त्यसकारण पनि सबै ठाउँका नागरिकहरुसँग वादविवाद गर्नुपर्यो।
केही क्वारेन्टाइनमा बस्न नमानेर फर्किए पनि। त्यतिबेला भारत आउनेको अवस्था सुन्दा मलाई त्यो दिन सपना जस्तो लाग्छ। पानी खान पनि दिएनन्, कतै पकाउनुस् न भनेर आग्रह गर्ने स्थिति थिएन।
बसमा आउनेलाई व्यवस्थापन गर्न सजिलो थियो। तर लुकेर आउनेहरु पनि थिए। कति त लुकेर घरमै समेत बसे। त्यो थाहा पाएर घरमै गएर परिवारलाई नै क्वारेन्टिनमा राखेका थियौँ। कम जनशक्ति र समुदायको असहयोग बीच थपिदै गरेका व्यक्तिहरुको व्यवस्थापन केही समय त फलामको चिउरासरह भए।
सुरुमा बसेकाहरुको अवधि पुगेकाले उनीहरुको आरडिटी गर्ने कामले थप जिम्मेवारी थपियो। आरडिटीको पहिलो परिक्षणमै पालुखा मावि र सरस्वती निमाविका नौ जनामा आरडिटी पोजेटिभ आयो।
जब आरडिटी पोजेटिभ आयो तब समुदायमा अझ नेगेटिभ कुराहरु भए।
आरडिटी पोजेटिभ आएकाहरुलाई सरस्वती निमाविमा एकै ठाउँ राखौं भनेको गाउँलेले घेरा हाले। राति १० बजेसम्म पिसिआर गर्न नै दिएनन्। जनप्रतिनिधिले नै कोरोना संक्रमितलाई आफ्नो गाउँमा ल्याएको भनेर विरोध गरे। गाउँले त हामीहरुलाई कुट्न समेत तम्सिए, प्रहरी नभएको भए पिट्थे पनि होला। संक्रमणकै मौका छोपेर गाउँमा अर्को विकृति सुरु हुन थाल्यो। कस्तो समेत भयो भने, मदिरा सेवन गरेर क्वारेन्टिनमै श्रीमती कुटे। घरमै पनि विभिन्न खाले घटना भए। त्यसलाई व्यवस्थापन गर्न मोबाइल टोलीले राति १२ बजेसम्म इस्मामा गस्ती गरेर सक्थ्यो।
अनुगमनलाई थप सशक्त बनायौँ। खाद्यान्य बोक्ने नाममा गाउँपालिकामा मदिरा बोकेर पास दुरुपयोग गर्ने गाडी र मदिरा कब्जा गर्यौं। अन्तरस्थानीय तह र वडावडाहरु बीचपनि कडा घेरा बनाएका थियौं।
दर्लामचौरमा एक जनाले बुटवलबाट कारमा पासभन्दा बढी मान्छे लिएर आए। उनीहरुलाई ढाढुङ्गा मावि क्वारेिन्टनमा राख्न खोज्दा गालीगलौज गरे। क्वारेन्टिनमा बस्नुस्, तपाइँहरुलाई र समाजलाई सुरक्षा हुन्छ भन्दा अनेक आरोप लगाए।
आफ्नो तौल लिएर भित्र पस्ने र बाहिर निस्कदा तौल घटे मुद्धा लगाउने चुनौति दिए। म आफु निर्वाचित जनप्रतिनिधि भएकाले थुप्रैको गाली खाएँ। चुनावमा भोट दिएको अहिले यो देख्न रहेछ भनेर समेत गिल्याए। महिला जनप्रतिनिधि भएर महिलाकै कुरा नबुझ्ने भनेर कैयौ महिलाले भने।
क्वारेन्टिनमा बसेकाहरुले छुट्टाछुट्टै माग राखेर सताउँथे। एक जनाले त अरुले पकाएको खाँदैन भनेर अड्डी कसेकाले ब्राह्मण नै भान्से खोजेर खाना खुवाउनुप¥यो। सुरुमा पालुखाको क्वारेन्टिन व्यवस्थापनमा स्थानीयले पूर्ण असहयोग गरे। जसका कारण क्वारेन्टिनमा बस्नेहरुले राति ११ बजेसम्म खाना पाएनन्।
काम सकेर सुत्न भन्दै घर आएको मान्छे फेरि क्वारेन्टिनमा पुग्यौं। त्यहाँ पनि युवाले कुट्न खोजे। प्रहरीसंगै भएकाले मलाई पिट्न पाएनन्।
तीन स्थानीय तहको प्रमुख नाका भएकाले पनाहमा सञ्चालन गरिएको हेल्थ डेक्स निर्माण र व्यवस्थापनमा पनि चुनौती उत्तिकै रह्यो। नेपालकै विभिन्न ठाउँबाट आएकाहरु १० जनालाई इस्मा गाउँपालिका ५ को आनन्दपुर माविमा थियौं। उनीहरु क्वारेन्टिनमा बसेका नौ/दश दिन भएका थिए। विद्यालय र म बस्ने निवास नजिकै थिए। बिहानको झिसमिसे उज्यालोमा क्वारेन्टिन नजिकै धारोमा ब्रस गर्दैथिएँ।
क्वारेन्टिनमा बसेकी एक जनालाई म यहीँ छु भन्ने हेक्का रहेनछ। साथी वा आफन्तसँग फोनमा गफिदै थिइन्। सायद उताबाट के छ, कहाँ छौ भनेर सोधे होलान्। उनले क्वारेन्टिनमा उपाध्यक्षको किरिया बसेको भनेर जवाफ फर्काइन्।
मैले प्रत्यक्ष सुने। त्यो कुरा सुनेर मलाई चक्कर लाग्यो, पृथ्वी नै घुम्यो जस्तो भयो। मैले के भन्यौ नानी भनेपनि उनी केही बोल्नै सकिनन्।
मैले प्रतिक्रिया दिएँ, मेरो किरिया १४ दिनमा नउम्कन पनि सक्छ। आरडिटी पोजेटिभ आए २४ दिन किरिया बस्नुपर्छ भनेँ। लाजले उनले जवाफ फर्काइनन्।
गाउँमा यस्ता अनेक समस्या झेल्यौं।
आफ्नै गाउँका दाजुभाईलाई कुनै सवारी साधन र एम्बुलेन्सले बोक्न मानेनन्। सदरमुकामबाट गाउँसम्म मान्छे पुराउन गाडीले मानेनन्।
बिरामी भएर सदरमुकाम पठाएकाहरुलाई गाडीले नल्याएपछि राति ११ बजेसम्म झरीमा चिदिचौरमा बस्यौं। पछि एउटै एम्बुलेन्समा ९ जना राखेर क्वारेन्टिन ल्यायौं। एकजनाले त कुरा बुझेर ल्याए। तर, ती बिरामी बोक्ने एम्बुलेन्स चालकलाई समेत छिमेक र समुदायले तिरस्कृत गरे।
स्वाब संकलन गरेर पठाइयो, समयमै रिपोर्ट आएन। रिपोर्ट नआउँदै घर पठाउन पनि नहुने। केहीलाई त ६० दिनसम्म क्वारेन्टिनमा राख्नुपर्यो। पछि, सरकारको मापदण्ड अनुसार पोजेटिभलाई क्वारेन्टाइन मै राखियो तर नेगेटिभलाई होम क्वारेन्टाइनमा बस्न पठायौं। गाउँलेहरुले विरोध गरेपछि उनीहरुलाई राति नै फर्काएर सोही विद्यालयमा छुट्टै कोठामा यत्तिकै राख्नुपर्यो।
एक जना महिला श्रीमान् र छोराको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बेहोस भएर ढलिन्। भारतबाट सँगै आएका छोरो र श्रीमानको पोजेटिभ तर आमा नेगेटिभ आएको थियो। अर्को चुनौती केही मिडियाले तथ्य र प्रमाणविना क्वारेन्टाइनमा जातीय विभेद भनेर समाचार लेखेपछि तनाव भयो।
आइसोलेशनको त्यस्तै समस्या भयो। पहिले सदरमुकाममै आइसोलेशन बनाउने भनेर दुई लाख रुपैयाँ गाउँपालिकाले दियो। तर जब संक्रमित भेटिए गाउँबाट कोही कसैलाई सदरमुकाम पठाउन दिइएन्।
पैसा दिएर पनि मान्छे राखेनन्। पैसा फिर्ता गर्छु भनेर अध्यक्ष ज्यूले प्रशासनसँग प्रतिवाद गर्नुभयो। तर गाउँमै राख्नुको विकल्प भएन। गाउँमै आइसोलेसन खोज्दा पनि ठाउँको अभाव भयो। कुमारी निमाविमा आइसोलेसन बनाएर ३० जना जति राख्यौ।
व्यवस्थापनमा समुदायका मानिसहरु अगाडि आउनै खोजेनन्। आइसोलेसनमा बस्नेहरुले पनि उग्र भएर जिल्लाबाट डाक्टर र सुरक्षाकर्मी आएर पनि सम्झाउन पर्ने स्थिति आयो।
तर, सुरुमा मनमुटाव गरेर बस्नेहरु पनि बिदा हुने बेला खुसी भएरै बिदा भए। क्वारेन्टिनमै प्रसुति व्यथा लागेका गर्भवतीहरुलाई सदरमुकाम पठाएर सुत्केरी गराएर फेरि क्वारेन्टिनमै राखेर स्याहार सुसार गर्यौ। उनीहरुलाई त्यसबेला आवश्यक पर्ने पौष्टिक तत्वहरु घिउ, लोकल कुखुरा लगायतका खानेकुराहरु खुवायौं। आरडिटी नेगेटिभ आएपछि घर पठायौँ। सुरुमा क्वारेन्टिनमा बस्नेहरुलाई हप्तामा दुईपटक मासु, चना र अण्डा खुवाइयो। दैनिक चार पटक खाना र नास्ताको प्रबन्ध गर्यौं। गाउँमा भारतबाट आएका झण्डै सात सय जनाको व्यवस्थापन गर्नु सामान्य कुरा थिएन।
अझैपनि ४०/५० जना क्वारेन्टिनमै छन्। उनीहरुको व्यवस्थापन पनि गरिरहेका छौं। अझै तीज, दशै र तिहारमा भारतबाट आउनेहरुको विषयमा पनि गाउँपालिकामा छलफल र योजना निर्माणको काम गरिरहेका छौं।
लामो समयको लकडाउन र त्योसँगै आर्थिक वर्षको अन्तिम भएकाले योजनाहरुको अनुगमनको काम पनि गर्नुपर्ने थियो। साथै असार ६ र १८ गतेको भीषण पहिरोका कारण मानवीयसहित ठूलो भौतिक क्षति इस्मामा भएको छ।
भारतबाट आएका व्यक्तिहरु बसेको क्वारेन्टिन विद्यालय समेत पहिरोले पुर्यो। व्यक्ति र समुदायका अनेक सोंच र खोजका कारण पनि कोरोना संक्रमण व्यवस्थापनमा अब्बल काम गर्न सकेको महसुस गरेका छौं।
त्यो काममा निर्देशन दिने गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट र पार्टी तथा प्रशासनिक समन्वय गर्ने कार्यालय प्रमुख, मसँगै फिल्डमा खटिएका कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई विशेष धन्यवाद।
(इस्मा गाउँपालिका गुल्मीकी उपाध्यक्ष विमला खत्रीसँग लुम्बिनी टाइम्सका लागि टोपलाल अर्यालले गरेको कुराकानीमा आधारित)