बुटवल–लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएका २ जना सम्पर्कविहिन छन्। भारतबाट आएका उनीहरुले शुक्रबार प्रादेशिक अस्पतालमा पुगेर श–शुल्क परिक्षणको लागि स्वाबको नमूना दिएका थिए।
शनिवार बिहान उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो। अस्पतालले कोरोना पोजेटिभ आएको फोनबाट जानकारी गराएपछि उनीहरु फोन काटेर सम्पर्कविहिन भएका थिए।
फरार भएका संक्रमितहरुको खोजी कार्य जारी रहेको बुटवल उपमहानगरका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले जानकारी दिए। संक्रमितहरुलाई नभेटेसम्म उनीहरुको यात्रा विवरण र क्न्ट्रयाक्ट ट्रेसिङको काममा समस्या भएको छ।
अहिले संक्रमित बस्दै आएको घरमा बसेका घरबेटी लगायतको पिसीआर परिक्षणको तयारी भएको सिंहले जानकारी दिए। ‘प्रहरीले आफ्नो तर्फबाट खोजी गरिरहेको छ, उनीहरु बसेको घरका व्यक्तिहरुलाई कम्तीमा पिसिआर गर्नुहोस् भनेर भनेका छौं’–उनले भने।
मसला र दालमोट व्यापारी रहेका उनीहरु बुटवल ५ हाटबजारलाइनमा एक घरमा बसेका थिए। हाटबजारलाइनमै उनीहरुले सटर पनि राखेका थिए।
त्यसबाहेक अर्को एक घरमा उनीहरुको गोदाम समेत छ। शुरुमा उपमहानगरपालिकाले उनीहरु रोजगारीका लागि आएको बताएको थियो। पछि नगरपालिकाले विवरण खोज्दै गएपछि उनीहरु आफै व्यवसाय गर्नका लागि भारतबाट आएको फेला परेको थियो।
लकडाउनको बेला आफ्नो घर गएका भारतीयहरु यतिबेला धमाधम आफ्नो कार्यक्षेत्र फर्किदै छन्। कति आएका छन्, को–को आए भनेर सम्बन्धित निकायले रेकर्ड नराख्दा कोरोना संक्रमणको जोखिम बढेको छ।
बुटवल उपमहानगरपालिकाका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले घना बस्ती भएका ४, ५ र ६ नम्बर वडामा अवैधानिक रुपमा भित्रिएकाको खोजी गर्न समस्या भएको बताए।
‘बजार, कार्यालयहरु र बाक्लो बस्तीको कारण हाटबजार आसपासको क्षेत्रमा बाहिरबाट आएको मान्छेको पहिचान गर्न गाह्रो भएको छ–उनले भने–अरु वडामा एक–एक जनाको निगरानी भइरहेको छ, यी ३ वटामा कसरी सघन रुपमा खोजी गर्ने भनेर हामी लागिराखेका छौं।’
उपमहानगरले त्यसरी अवैधानिक रुपमा कामदार ल्याउनेहरुको खोजी गरि कारबाही गरिने बताएको छ। ‘अवैधानिक रुपमा कामदार कालीगढ र आफन्तको रुपमा ल्याउनेहरुको खोजी गर्दैर्छौं–उपमहानगरका महाशाखा प्रमुख खनालले भने–जो जसले अबैधानिक रुपमा ल्याउनुभएको छ, उहाँहरुलाई कारबाहीको रुपमा ल्याउँदै छौं।’
खनालले भारतबाट वैधानिक रुपमा आउनेहरुले भारतमै कोरोना परिक्षण गराएर पोजेटिभ देखिएको प्रमाण ल्याउनुपर्ने बताए।
‘कुनै व्यवसायिक फर्म, प्रतिष्ठान वा व्यवसायीले कामदार ल्याउन चाहेमा उता पनि पिसिआर परिक्षण गर्नुपर्छ, पिसिआर परिक्षणमा नेगेटिभ आएको एक हप्ताभित्रमा नेपाल आउन पाइन्छ’– उनले भने–त्यसरी आउन चाहनेको व्यक्तिको विवरण वडा कार्यालयमा दिनुपर्छ, त्यो बुझेपछि वडाले सिडिओ कार्यालयमा सिफारिस गर्छ।’
प्रमुख जिल्ला अधिकारीले सबै कागज हेरेपछि आउन अनुमति दिने नदिने टुंगो लगाउने उनले बताए। त्यसरी आएपछि नेपालमा क्वारेन्टिनमा बस्नुपर्दछ र पिसिआर परिक्षण गराएर रिपोर्ट नेगेटिभ आएपछि मात्र काममा जान पाइन्छ।
क्वारेन्टिनमा बसेको ५ दिनपछि पिसिआर परिक्षण गर्दा नेगेटिभ देखिएमा मात्रै काममा जान पाइन्छ। पिसिआर परिक्षण नगराउनेहरु पूरा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था रहेको उपमहानगरका महाशाखा प्रमुख मित्रमणि खनालले बताए। पिसीआर परिक्षण गराउने दायित्व भने कामदार ल्याउने व्यवसायीको हुने उनको भनाइ छ।