रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ जिल्लामै पहिलो घरमा सुत्केरी मुक्त वडा घोषणा भएको छ ।
कम्हरिया स्वास्थ्यचौकीमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सामूहिक प्रयत्नले उक्त वडा घरमा सुत्केरी मुक्त वडा घोषित भएको हो ।
जिल्लाका १६ वटा पालिकामध्ये मायादेवीको वडा नम्बर ३ पहिलोपल्ट घरमा सुत्केरीमुक्त घोषणा भएको हो । मायादेवी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच उक्त वडालाई घरमा सुत्केरीमुक्त वडा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले जानकारी दिनुभयो । कार्यक्रममा पालिकाभित्रका स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको थियो ।
पूर्ण संस्था सुत्केरी घोषणाका लागि पालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नम्रता चौधरी, प्रदिपकुमार पण्डित, भोजराज पोख्रेल, सिता आचार्य, कमला पन्त, रामवरण गुप्ता, जितेन्द्र गुप्ता, कमला गिरी, मनिषा बरुवाल, शोभा प्रधान, इन्द्रावती यादव, अवधेश यादव, जमुना सुवेदी, मायादेवी थारुलगायत खटिनुभएको थियो ।
जिल्ला समन्वय समितिका सभापति उमाकान्त चापागाईं, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीलगायतले वडालाई घरमा सुत्केरी मुक्त साथै पालिकालाई कोभिडविरुद्धको पूर्ण खोप पनि घोषणा गर्नुभएको थियो ।