बुटवल–समुदायस्तरमा कोरोना संक्रमण भए नभएको विश्लेषण गर्न बुटवल र भैरहवामा गरिएको पिसिआर परिक्षणमा ८१ जनाकै नतिजा नेगेटिभ आएको छ।
बुटवलमा ३५ र भैरहवामा ४६ गरी ८१ जनाको नमुना परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो।
गत बुधबार बुटवलको हाटबजारलाईनमा ३५ जनाको स्वाबको नमुना संकलन गरिएको थियो। संकलन गरिएका स्वाबको नमुना परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।
हाटबजारमा रहेका किराना, फलफूल पसल, दुध तथा दुधजन्य पदार्थ बिक्री गर्ने पसल आदिको र्याण्डम स्याम्पलिङ विधि अपनाइ ग्राहकसँग सम्पर्कमा आउने एक–एक जना सेवा प्रदायक गरी ३५ जनाको नमुना संकलन गरि परिक्षण गरिएको उपमहानगरका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहले बताए।
यस्तै सिद्धार्थनगर नगरपालिकामा गरिएको समुदाय स्तरमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ।
सिद्धार्थनगरमा नेपाल प्रहरी र शसस्त्र प्रहरी, क्लिनिक, पोलिक्लिनिक, बैंकमा गरेर ४६ जनाको स्वाब संकलन गरिएको थियो। परिक्षणको क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाकी जनस्वास्थ्य अधिकृत उमा थापाले बताइन्।
यसअघि सैनामैनामा समुदाय स्तरमा ५४ जनाको परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
कोरोना भाइरस परिक्षणको लागि लुम्बिनीमा ४२ जनाको नतिजा भने आउन बाँकी छ। समुदाय स्तरमा कोरोना संक्रमण भए नभएको थाहा पाउन बुटवल, भैरहवा, सैनामैना र लुम्बिनी क्षेत्रमा गरी २ सय १४ जनाको नमुना परिक्षण गरिएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए।