बुटवल-कपिलवस्तुको कृष्णनगर नगरपालिकाका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कृष्णननगर नगरपालिकामा महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका सब इन्जिनियर पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यस्तै कृष्णननगरकै दिव्यानगर स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिए।
कृष्णननगर नगरपालिकामा रहेको नेपाल बैंक लिमिटेडको शाखामा कार्यरत २ जना कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये एकजना महिला र एकजना पुरुष हुन्।
कोरोना भाइरसको संक्रमण पुष्टि भएका पाँचै जनामा कुनैपनि लक्षण देखिएको छैन। उनीहरु होम क्वारेन्टिनमा रहेको र आइसोलेशनमा राख्ने तयारी भएको थापाले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
उनीहरु सबैको समुदायस्तरमा गरिएको परीक्षणका क्रममा पीसीआर गरिएको थियो। नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको परीक्षणमा २ जनाको मात्रै रिपोर्ट पोजेटिभ आएको कृष्णननगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले लुम्बिनी टाइम्ससँग बताए।
उनले नेगेटिभ देखिएका कर्मचारीहरुले भने नगरपालिकाका कामलाई निरन्तरता दिएको बताए। संक्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा गएकाहरु भने सेल्फ क्वारेन्टिनमा बसेको उनले बताए।
ती कर्मचारीको सम्पर्कमा गएकाहरुको तथ्यांक संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी भएको उनले बताए।
संक्रमण पुष्टि भएपछि नेपाल बैंक लिमिटेडको शाखा कार्यालय भने शिल गरिएको थापाले जानकारी दिए। ती व्यक्तिहरुको सम्पर्कमा गएकाहरुको विवरण तयार पारेर पीसीआर परीक्षण गर्ने उनले बताए।