बुटवल–रुपन्देहीको देवदहमा मंगलबार एकजना बैंकको कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएको व्यक्तिको कार्यालय, उपचारका लागि पुगेका स्वास्थ्यचौकी, ल्याबसहितका गरी कम्तीमा २५ जनाको सम्पर्कमा गएको प्रारम्भिक विवरण तयार भयो। संक्रमितमा कोरोना भाइरसको लक्षण देखिएकाले देवदह नगरपालिकाले जोखिम बढ्नसक्ने ठहर गर्दै मंगलबार रातीदेखि अनिश्चितकालसम्मका लागि नगरभित्र लकडाउन गर्यो।
कपिलवस्तुको कृष्णनगरमा बुधबार ५ जना कोरोना भाईरसका संक्रमित फेला परे। समुदायस्तरमा गरिएको परीक्षणका क्रममा बैंक, नगरपालिका र स्वास्थ्यकर्मीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आयो।
यसअघि मंगलबार नै कृष्णनगरमै ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो। बाँकेको नेपालगञ्जमा बैंक, नगरपालिका, व्यापारीलगायतमा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि बाँकेमा निषेधाज्ञा जारी छ।
यसरी प्रदेश ५ का स्थानीय तहहरुमा कोरोना भाईरसका संक्रमित देखिन थालेपछि संक्रमण फैलिँदो र जोखिम बढ्दै गएको देखिन्छ। प्रदेश ५ कै बुटवल, भैरहवा, सैनामैना क्षेत्रमा गरिएका समुदायस्तरका परीक्षणमा भने कोरोना भाईरसका संक्रमित भेटिएनन्।
सानो समूह र संख्यामा गरिएको त्यो परीक्षण प्रभावकारी नभएको र पुनः थप परीक्षण गर्नुपर्ने आवाज जनस्तरबाट उठिरहेको छ। सामाजिक सञ्जाल र सार्वजनिक रुपमा पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग उठेको छ।
प्रदेश ५ सरकारको तथ्यांक अनुसार प्रदेश ५ मा हालसम्म ४ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण भएको छ। त्यसमध्ये १३ जनाको मृत्यु भइसकेको छ।
४ हजार ८८ जना निको भएर घर फर्किसकेका छन्। बुधबारसम्म २ सय ४८ जना आइसोलेसनमा उपचाररत छन्।
एक महिनाअघि प्रदेश ५ का जिल्लाहरुमा कोरोना संक्रमित थपिने क्रम तीब्र थियो। दिनमा दर्जनौको संख्यामा संक्रमितहरु थपिएका हुन्थे। छिमेकी मुलुक भारतबाट भित्रिएर क्वारेन्टिनमा बस्ने दर बढ्दा थुप्रै संख्यामा संक्रमितहरु थपिएका थिए। क्वारेन्टिनहरु खाली भएसँगै अहिले सक्रिय संक्रमितको दर पनि घटेको छ। थपिने क्रम पनि न्युन थियो।
तर पछिल्लो साता संक्रमितहरुको संख्या धमाधम बढिरहेको छ। बाँके जिल्लामा नेपालगञ्ज उपमहानगरका वडाध्यक्ष र कार्यकारी अधिकृतसहित स्थानीयमा संक्रमण देखिएपछि बाँके जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। रुपन्देही र कपिलवस्तुमा पनि थपिने क्रम केही वृद्धि भएको छ।
बुटवलमा भारतबाट आएका २ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरु बेपत्ता भएका छन्। त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक औषधि बिक्रेतालाई कोरोना संक्रमण देखिएको छ।
यस्तै कपिलवस्तुमा केहीदिन अघि एकैपटक ३६ जनामा कोरोना संक्रमण देखिएको थियो। पछिल्लो पटक कृष्णनगर नगरपालिकाका कर्मचारी, बैंकका कर्मचारी, शिक्षक स्वास्थ्यकर्मी लगायतलाई संक्रमण देखिएको छ। यसले प्रदेश ५ मा पनि केही जोखिम बढेको हो कि त्रास जनमानसमा छ।
यसबारे सरकारी निकायहरुबाट कुनै औपचारिक धारणा सार्वजनिक त भएको छैन। तर सरकारी अधिकारीहरु समुदायस्तरमा गरिएको परीक्षणका क्रममा देखिएको संक्रमणले जोखिम बढिहाल्दैन भन्नेमा विश्वस्त देखिन्छन्।
नमुना संकलनमा देखिएन कोरोना
समुदायस्तरमा कोरोना भाईरसको जोखिम भएनभएको विश्लेषण गर्न प्रदेश ५ का ६ वटा जिल्लामा स्वाबको नमूना संकलन गरेर परिक्षण गरिएको थियो। रुपन्देहीमा २ सय १४, बर्दियामा २ सय ३८ वटा नमूनाको परिक्षणमा सबै नतिजा नेगेटिभ आएको छ।
त्यसै गरी कपिलवस्तुमा ३ सय १६ वटा स्वाब संकलन गरी परीक्षण गरिएकोमा १ सय ३२ र दाङमा २ सय वटा परीक्षण गरिएकोमा ५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाँकी परीक्षणको प्रक्रियामै रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए। अर्घाखाँचीमा संकलन गरिएको २ सय ३ वटाको नमूना र नवलपरासी पश्चिममा संकलन गरिएको २ सय ३ वटा स्वाब परीक्षणको नतिजा पनि आउन बाँकी छ।
बाँकेमा भने स्थानीयस्तरबाटै स्वाब संकलन गरी परिक्षण गर्दा केही संक्रमण बढेको देखिएको छ। समुदायस्तरमा संकलन गरिएको स्वाबको नतिजा विश्लेषण गर्र्दा प्रदेश ५ मा तत्काल समग्र रुपमा लकडाउन गर्नैपर्ने अवस्था नरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
‘यो अवस्था हेर्दा समग्र प्रदेशभर लकडाउन गर्नै पर्ने देखिँदैन, स्थानीय प्रशासनले ठाउँ तोकेर गर्न सक्छ’–निर्देशनालयका प्रवक्ता चौधरीले भने–‘समुदाय स्तरको सबै रिपोर्ट आएपछि पुन समीक्षा गर्छौं।’
नमूना संकलनको विश्लेषण पछि लक्षण सहितको संक्रमित देखिएमा भने कसरी अघि बढ्ने भन्ने बारेमा पनि तयारी गरिने उनले बताए। चौधरीले संक्रमण बढ्दै गएमा फेरि पनि समुदाय स्तरमा नमूना परीक्षण गरिने बताए। ‘यो महिनाको अन्त्यमा समीक्षा गर्छौं, सबै डाटाको विश्लेषण गर्दछौं, फेरि कता–कता कसरी परीक्षण गर्ने भन्ने योजना बनाउँछौं।’