बुटवल–लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा बिरामीलाई औषधी पुर्याउन रोबोट प्रयोग गरिने भएको छ।
हालसम्म स्वास्थ्यकर्मीले औषधि पुर्याउँदै आएकोमा थप व्यवस्थित र सुरक्षित गर्ने उदेश्यले रोबोटको प्रयोग गरेर भर्ना भएका बिरामीसम्म औषधि पुर्याउने व्यवस्था गरिएको हो।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले प्रादेशिक अस्पतालको कोरोना अस्पताललाई यस्तो रोबोट सहयोग गरेको हो।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण खनाल र युएनडीपीका प्रदेश संयोजक सुदीप अर्यालले बुधबार अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापालाई रोबोट हस्तान्तरण गरे।
कोरोना भाईरसका लक्षण देखिएका तथा सिकिस्त भएका र आइसीयुमा राख्नुपर्ने बिरामी यो अस्पतालमा उपचाररत छन्। संक्रमितसँग हेलमेल भइराख्नुपर्ने नर्सहरुलाई सहज होस् र उनीहरुलाई संक्रमण हुनबाट जोगाउन रोबोट उपलब्ध गराएको युएनडीपीका प्रदेश संयोजक अर्यालले बताए।
२ लाख रुपैयाँ पर्ने रोबोट रोबिक एसोसिएसन नेपालले तयार गरेको हो। एसोसिएसनका अध्यक्ष विकास गुरुङका अनुसार रिमोट कन्ट्रोलबाट चल्ने रोबोटले औषधी, खानेकुरा, लुगालगायतका सामान बिरामीसम्म पुर्याउन सक्छ।
रोबोटमा भिडियोबाट ५ सय मिटर परसम्मको भिडियो लिन पनि सकिन्छ। भिडियो क्यामेराका माध्यमबाट बिरामीको अवस्थाबारे भिडियोमा लाइभ हेर्न सकिन्छ। यसमा ट्याब्लेट जडान गरिएको हुँदा बिरामीसँग भिडियोमा स्वास्थ्यकर्मीले भिडियो कुराकानी गर्न सक्छन्।
कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले सिष्टर रोबोटले नर्सहरुलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन सहयोग पुग्ने बताए। केही व्यवस्थापनका काम पूरा गरेर रोबोट प्रयोगमा ल्याउने उनले जानकारी दिए।
नर्सले बिरामीलाई गर्ने हेरचाह गरेजसरी रोबोटले हेरचाह गर्ने भएकाले रोबोटको नाम सिष्टर रोबोट नाम राखिएको छ। युएनडीपीले काठमाडौंको टेकु अस्पतालमा पनि यस्तो रोबोट उपलब्ध गराएको छ।