भैरहवा–रुपन्देहीको भैरहवाका ३ जना कोरोना भाईरस संक्रमित सम्पर्कविहीन भएका छन्। प्रादेशिक अस्पतालमा शशुल्क परीक्षण गराएका सिद्धार्थनगर नगरपालिकाका ३ जना संक्रमित पुरुष सम्पर्क विहिन भएका हुन्।
कोरोना भाईरसको परीक्षणका लागि प्रादेशिक अस्पतालमा स्बाब दिएका रुपन्देही सिद्धार्थनगर ४ का ४६ र २७ वर्षिय पुरुष शनिबारदेखि सम्पर्कविहिन छन्। आज बुधबार कोरोना भाईरसको संक्रमण पुष्टि भएका सिद्धार्थनगर ८ का २८ वर्षिय पुरुष पनि सम्पर्कविहिन छन्।
शनिबार रिपोर्ट आएपछि सम्पर्कविहिन भएका सिद्धार्थनगर ४ का दुईजनाले शुक्रबार परिक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशालामा स्वाब दिएका थिए।
शुल्क तिरेर परीक्षण गराएका उनीहरुमा शनिबार कोरोना संक्रमण भएको पुष्टि हुन साथ सम्पर्क बिहीन भएका छन्। शनिबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको भन्ने सूचना दिएसँगै सम्पर्क बाहिर गएको स्वास्थ्य कार्यालयले जनाएको छ।
‘उनीहरु हालसम्म पनि सम्पर्कमा आएका छैनन, कस्ता व्यक्ति हुन् भन्ने पनि पहिचान भएको छैन, उनीहरुको खोजी भइरहेको छ’–सिद्धार्थनगर नगरपालिकाकी स्वास्थ्य प्रमुख उमा थापाले भनिन्।
वडा अध्यक्ष मुक्तिनाथ यादव (भोला)ले स्वास्थ्य कार्यालयबाट मंगलबार २ जना संक्रमित सम्पर्क विहीन रहेको जानकारी गराएको बताए।
उनले लुम्बिनी टाइम्ससँग भने–‘नगरपालिकाबाट जानकारी भएपश्चात हाम्रो टिम सतर्क भई खोजतलासमा लागेका छौं, स्थानीय जनप्रतिनिधि र प्रशासनसमेत खोजीमा लागेका छन्, कस्तो व्यक्ति हुन के काम गर्छन् भन्ने पनि जानकारी आएको छैन।’
बिहीबार बिहान वडा समितिको बैठक बसेर शिल गर्ने वा के गर्ने भन्ने विषयमा छलफल हुने यादवले बताए।