नेपालगञ्ज–बाँकेमा एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका वडा नं. २ की ७० वर्षिया महिलाको कोराना भाईरसको संक्रमणका कारण मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए।
कोरोना संक्रमित ती महिलाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो। आइतबार ३ बजेतिर मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
यो सहित बाँकेमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि बैजनाथ गाउँपालिकाकी महिला र नरैनापुर गाउँपालिकाका पुरुषले कोरानाबाट ज्यान गुमाएका थिए ।
प्रहरी कार्यालयका ३० जना सहित बाँकेमा ४८ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा वडा प्रहरी कार्यालय नेपालगञ्जका ३० जना प्रहरी, थुनुवा र प्रहरीका परिवारका सदस्य सहित बाँकेका ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएको हो।
यसअघि नै वडा प्रहरी कार्यालयका प्रहरीलाई कोरोना भाइरस देखिएपछि कार्यालयलाई सिल गरिएको थियो।
सिल गरिएको वडा प्रहरी कार्यालयका प्रहरी, थुनुवा र प्रहरीका परिवार गरि ८० जनाको स्वाब परीक्षण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए।
भेरी अस्पतालमा गरिएको परीक्षणमा दाङका तीनजनामा पनि भाइरस पुष्टि भएको छ। यससँगै बाँकेमा कूल संक्रमितको संख्या ६ सय १७ पुगेको छ।
तीमध्ये चार सय दुई जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ।