भैरहवा–४ जना संक्रमित थपिएसँगै रुपन्देहीमा कोभिड–१९ संक्रमितहरुको संख्या ३६३ पुगेको छ। आइतबार रातीसम्मको रिर्पोटअनुसार सैनामैनाका ३८ वर्षीय, बुटवल उपमहानगरका ४७ र ५३ वर्षीय पुरुष र देवदहकी ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्लामा संक्रमित मध्ये ३१ जना उपचाररत, ३३१ जना निको भएका र १ जनाको मृत्यु भएका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदार शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
आइतबार थपिएका चारै जना संक्रमित मध्ये एक जना भारतबाट आएपनि अन्य ३ जना समुदायकै हुन्। संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ।
कोभिड–१९ संक्रमितमध्ये एन्फा विल्डिङमा ९ जना, कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा ३ जना, शंकरनगर स्वास्थ्य चौकी तिलोत्तमामा ५ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा ४ जना र होम आइशोलेशनमा १० जना उपचाररत छन्।
त्यस्तै जिल्लाभर ३ सय ९२ जना हाल क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाहले जानकारी दिए। कार्यालयको अनुसार जिल्लामा ३ हजार ९ सय २४ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार १ सय ७७ जनाको रिपोर्ट नेगेटिभ, ३ सय ६३ जनाको रिपोर्ट पोजिटिभ र ३ सय ८४ जनाको स्वाब परीक्षणका लागि प्रक्रियामा रहेको छ।
आरडिटी परिक्षणतर्फ भने ८ सय ३९ जनाको रिपोर्ट पोजिटिभ आएको कार्यालयले जनाएको छ। आइतबार मात्र कार्यालयले १ सय ५७ जनाको स्वाब संकलन गरेको छ।