बुटवल-बुटवलको कालिकानगरकी एक ४९ वर्षीया महिलामा आन्द्राको क्यान्सर थियो। उनको उपचारका लागि चितवनको क्यान्सर अस्पताल लगियो। अस्पताल लगेपछि चिकित्सकले उपचार थाले। चिकित्सकले बिरामीलाई किमो दिन थाले। चिकित्सकले करीब १५ वर्षसम्म कुनै समस्या नदेखिने बताएका थिए। तर, किमो दिएपछि उनको मृत्यु भयो।
मृत्युपश्चात उनको शव बुटवल घरमा ल्याइयो। घरमा ल्याइसकेपछि आफन्त र चिनेजानेका मानिसहरु अन्तिम दाहसंस्कारमा सहभागी भए। दाहसंस्कारमा सहभागीमध्येका एकजना आफन्तका अनुसार दाहसंस्कारमा ८०-८५ जना सहभागी थिए।
बुटवलको मैनाबगरमा उनको दाहसंस्कार भयो। दाहसंस्कारपछि उनको घरका केही व्यक्तिमा ज्वरो आयो। 'बर्खामासको समय भएकाले रुघाखोकी र सामान्य ज्वरो आएको होला भनेर सामान्य रुपमै लिइयो-ती आफन्त भन्छन्-त्यसपछि केहीले ज्वरोको औषधि खाइयो केही डक्टरलाई जचाउँन गयौं, जाँच गर्दा एकजनामा पिसाबको समस्या भनेर औषधि खाइरहनुभएको थियो।'
यहीबीचमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले समुदायस्तरमा परीक्षण गर्ने भयो। समुदायस्तरमा परीक्षणमा स्वाब दिन गएका एकजनाको रिपोर्ट पोजेटिभ आयो। उनीमा पनि सामान्य लक्षण देखिएका थिए। उनी नेकपाका स्थानीय नेता हुन्।
त्यसपछि आफन्तहरु र सम्पर्कमा आएका व्यक्तिहरुमा पनि संक्रमण भएको हुनसक्ने अनुमानका आधारमा थप केहीले पीसीआर परीक्षण गराए। परीक्षण गराएकामध्ये धेरैजसोको रिपोर्ट पोजेटिभ आएको छ। केहीको कन्ट्याक्ट ट्रेसिङमा करीब १५ जनाको स्वाब संकलन भएको छ।
अरु केहीमा पनि ज्वरो आइरहेको छ र पखाला लागेको छ। केहीलाई सामान्य औषधि लिएपछि सुधार भइरहेको छ। दाहसंस्कारमा सहभागी भएका र सम्पर्कमा आएका केही व्यक्तिमा संक्रमण देखिएपछि यसको फैलावट तीब्र हुनसक्ने अनुमान छ।
संक्रमण देखिएकामध्ये बुटवल बेलबास, प्रगतिनगर, सुख्खानगरका व्यक्तिहरु पनि छन्। केही तिलोत्तमा जानकीनगरका हुन्।
'हामी जो जो सम्पर्कमा आएका थियौ सबैजसोमा सामान्य लक्षण छ, लक्षण देखिएकाको सम्पर्कमा गएकाहरुबाट संक्रमण फैलिएको देखिन्छ-सोही परिवारका एकजना भन्छन्-परीक्षण गराएका केहीको नेगेटिभ आएको छ, कहाँबाट संक्रमण फैलियो भन्ने यकिन हुन सकेको छैन।'
रुपन्देहीकै देवदहमा एकजना बैंकको कर्मचारीबाट पनि संक्रमण फैलिएको देखियो। कपिलवस्तुमा मासु व्यापारीबाट संक्रमण फैलिएको देखिएको छ।
यसरी भीडभाड धेरै हुने ठाउँबाट संक्रमण फैलिरहेको देखिन्छ।
बिरामी भेट्न, दाहसंस्कार, पूजापाठ, भोजभतेर जस्ता कार्यक्रममा सहभागी भएकाहरुबाट समुदायमा संक्रमण सहजै फैलिरहेको छ। रुपन्देहीमा पछिल्लो ३ दिनमा करीब ३० जनामा संक्रमण पुष्टि भइसकेको छ। 'समुदायस्तरमा संक्रमण फैलिइसकेको छ, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा भन्छन्-अवस्था जटिल बन्नेजस्तो देखिन्छ।'
यसरी संक्रमण फैलिएपछि बुटवल क्षेत्रमा पुन: लकडाउन गर्नुपर्ने माग उठिरहेको छ।