काठमाडौं । बिरामी जाँच गर्दा चिकित्सकहरूले लिने ओपिडी शुल्क आज (सोमबार) देखि वृद्धि भएको छ । नेपालका चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक सङ्घ (एनएमए) र निजी अस्पताल सञ्चालकहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले जेठ १ गतेदेखि लागू हुने गरी ओपिडी शुल्क बढाउने निर्णय गरेको हो ।
ओपिडी शुल्क चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको छ । सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीले बढ्दो महँगी र नेपाल राष्ट्र बैठकले जारी गरेको मुद्रास्फीतिको आधारमा शुल्क बढाएको जानकारी दिनुभयो । मन्त्रालय र सरोकारवालाको परामर्शका आधामा नयाँ शुल्क तोकिएको कार्कीले स्पष्ट पार्नु भयो ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, पहिलो संशोधन २०७८ ले स्वास्थ्य सम्बन्धी कुनै पनि सेवाको शुल्क निर्धारण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको अध्यक्षतामा सात सदस्य समिति रहने व्यवस्था गरेको छ । तर तत्कालीन स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले स्वास्थ्य संस्था सञ्चालन मापदण्डलाई मिचेर शुल्क बढाउने जिम्मा नेपाल चिकित्सक सङ्घलाई दिएको सरोकारवाला बत्ताउँछन् ।
नियम विपरीत शुल्क बढाएको भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै चिकित्सकहरूको ओपिडी शुल्कको विषयमा आफू गम्भीर रहेको बताउनुभयो ।