काठमाडौँ । गाई भैँसीमा भाइरसका कारण लाग्ने लम्पी स्किन रोग हाल मुलुकका ७६ वटा जिल्लामा फैलिएको छ ।
महामारीका रुपमा फैलिएको यस रोगबाट हालसम्म लगभग ७ लाख १० हजार पशुवस्तु संक्रमित भइसकेका छन् भने झण्डै २६ हजार पशुको मृत्यु भएको पशुसेवा विभागले जनाएको छ ।
त्यस्तै ४ लाख ५३ हजार ८ सय १९ पशुवस्तु पुर्णरुपमा निको भएका छन् भने हाल २ लाख २९ हजार पशु सक्रिय संक्रमित रहेको पशुसेवा विभागको तथ्याङ्क छ ।
देशका ७६ वटा जिल्लामा फैलिएको लम्पी स्किन रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी र पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएको पशुसेवा विभागका प्रवक्ता तथा सूचना अधिकारी डा.चन्द्र ढकालले जानकारी दिनुभयो ।
लम्पी स्किन रोगको नियन्त्रणका लागि पशुसेवा विभागमार्फत सम्बन्धित निकाय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक स्रोत व्यवस्थापन गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
खोप आयात गर्ने र यस रोगको उपचार तथा नियन्त्रणका लागि सबै स्थानीय तहहरूमा यसै आर्थिक वर्षमा खर्च गर्न सक्ने गरी बजेट व्यवस्थापन गर्नुका साथै विभागमार्फत प्रदेश स्थानीय तहहरूसँग समन्वय र सहकार्य गर्दै आएको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो ।
हाल देशैभर महामारीका रुपमा फैलिएको यो रोग गाई भैँसीलाई हुने निकै सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ भने सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, पशु उपचार गर्ने क्रममा फरक गाई भैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी हुन सक्ने देखिन्छ ।
यसको रोकथामका लागि पशु स्वास्थ्यकर्मीहरू परिचालन गरी रोग प्रभावित क्षेत्रमा अन्वेषण तथा उपचार गर्ने, सात वटै प्रदेशका विभिन्न जिल्लाहरूमा १ लाख ८० हजारभन्दा बढी पशुहरूमा खोप लगाउने लगायतका काम भइरहेको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयो ।
प्रभावित पशुको उपचारका लागि संघ, प्रदेश र स्थानीय तहबाट नै औषधीको व्यवस्थासहित प्राविधिकहरू परिचालन गरिएको पनि विभागका प्रवक्ता ढकालले बताउनुभयो ।
लम्पी स्किन रोगबाट गाइभैँसी सङ्क्रमित भएपछि मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कने गर्छ । त्यस्तै दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र मृत्यु समेत हुन सक्छ ।