नवलपरासी । पश्चिम नवलपरासीमा मापदण्ड विपरीत सञ्चालित औषधि पसल शिल गरिएको छ । व्यापक जनगुनासो आएपछि आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै अनुगमन का क्रममा दुईवटा औषधी पसल शिल गरिएको अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा बिना कागजपत्र सञ्चालित रामग्राम १८ मा रहेको प्रवेश उपचार केन्द्र शिल गरिएको हो । त्यसैगरी परासीको बुद्ध चोकमा रहेको सन मेडिको नाम गरेको औषधि पसलले अनुगमन समितिले माग गरे अनुरुप कागजपत्र उपलब्ध गराउन नसकेपछि शिल गरिएको छ ।
मेडिकल सञ्चालकलाई आवश्यक कागजात सहित प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गङ्गाधर पाण्डेले जानकारी दिनुभयो ।
नवीकरण नभएका औषधि पसलहरूलाई नवीकरण गर्न निर्देशन दिइएको पाण्डेले बताउनुभयो ।अनुगमनका क्रममा औषधी पसलबाट निस्कने फोहरको समेत उचित व्यवस्थापन गर्न सूचित गरिएको रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले बताउनुभयो ।