काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ ।
औषधि र औषधिजन्य वस्तुको सही रुपमा उपभोगका साथै फार्मेसीबाट बिक्री वितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो ।
अनुगमनका क्रममा आज मन्त्री बस्नेत स्वयम फार्मेसीको स्थलगत निरीक्षणमा पुग्नुभएको छ । उहाँले ललितपुर पाटनस्थित टाइम मेडिकल फार्मेसी, एकान्तकुनाको सेवा हेल्थ केयर प्रालि (फार्मेसी युनिट)र जावलाखेलको अल्का अस्पतालको फार्मेसीको स्थलगत निरीक्षण गर्नुभयो ।
अनुगमनका क्रममा पाटनस्थित टाइम मेडिकल र एकान्तकुनाको सेवा हेल्थ केयर फार्मेसीमा म्याद गुज्रिएका औषधि राखिएको पाइएको, मिति नाघेका औषधिको विल बनाउँदा स्पष्ट नलेखेको, कतिपय बेच्न नमिल्ने औषधि पनि राखेको पाइएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।