बुटवल । बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ । बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गर्नुभयो ।
सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रम अन्तरगत रु दुई हजार, महिलाहरुको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताउनुभयो ।
उहाँले बुटवल उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थाहरुलाई अझ सुविधासम्पन्न बनाउने र छिटै नै बुटवल १३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरी महिलाहरुलाई दुग्धवर्धक जटिबुटीजन्य सामग्री प्रदान गर्ने र दन्त शिविरहरु सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरी, वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठ, ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बोल्दै बुटवलमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभयो ।
अबदेखि बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको शहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाहरुबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले बताउनुभयो ।