भैरहवा । समाजमा विभेद र लान्छनाका कारण अझै पनि कुष्ठरोगी खुल्न नसकेको पाइएको छ । समाजमा अझै पनि रोग लुकाउने, लुकिछिपी बस्ने, बाहिर खुलेर कुरा नगर्ने अवस्थाका कारण समस्या भएको सरोकारवालाले बताएका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देही, द लेप्रोसी मिसन नेपालअन्तर्गत डिजनिटी एक्सटेन्सन परियोजनाको आयोजनामा शुक्रबार भैरहवामा भएको सरोकारवालाहरुका लागि कुष्ठरोग अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । समाजमा कुष्ठरोगप्रतिको पुरानो धारणामा अझै पूर्ण रुपमा परिवर्तन आउन नसकेको उनीहरुको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख गौरव ढकालले समाजमा विभेद र लान्छनाका कारण कुष्ठरोगीहरु अझै पनि खुल्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजमा अझै पनि रोग लुकाएर बस्ने, लुकेर बस्ने प्रवृत्ति छ । हामी रोगीहरुलाई कसरी खुलाउने, पहिचान गर्ने, पहिचान गरिसकेपछि औषधी खुवाउने र निको पार्ने अभियानमा लागेका छौँ । कुष्ठरोगका बिरामीहरुका लागि सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क उपचार हुन्छ । निर्धक्क भएर औषधी खान म आग्रह गर्दछु ।’
ढकालले घरघरमा पुगेर पनि कुष्ठरोगी पत्ता लगाइएको जानकारी दिनुभयो । रोग लागिसकेपछि हेरचाह नगरे शरीर अंगभंग हुन सक्ने उनले जानकारी दिनुभयो । कुष्ठरोगीको संख्या (प्रिभलेन्स रेट) घटाउन विभिन्न जनचेतनामूलक कार्यक्रम, छलफल, अन्तक्र्रियालगायतका कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ छ । रुपन्देहीका केही पालिकामा कुष्ठरोगको ‘प्रिभलेन्स रेट’ (दर) बढी भएको उनले बताए । उनले प्रति १० हजार जनसंख्यामा १ भन्दा कममा रोगी झार्ने लक्ष्य भए पनि जिल्लामा १ भन्दा बढी रहेको बताउनुभयो । उहाँले जिल्लामा कुष्ठरोगको ‘प्रिभलेन्स रेट’ १.३० रहेको बताउनुभयो । उहाँले बालबालिकाहरुमा पनि कुष्ठरोग देखिएको बताउनुभयो ।
द लेप्रोसी मिसन नेपालअन्तर्गत डिजनिटी एक्सटेन्सन परियोजनाकी सीता आलेले कुष्ठरोगीहरु अझै पनि बाहिर देखिन नचाहेको पाइएको बताउनुभयो । उहाँले कहिलेकाही शरीरमा समस्या आउँदा पनि उपचारमा नजानाले स्वास्थ्य समस्या बढ्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘कुष्ठरोग हो भन्ने पत्ता लागिसकेपछि बिरामीहरु समुदायमा खुल्न चाहँदैनन् । केही व्यक्तिहरु खुलेर कुरा गर्नुभएको छ । तर, धेरैजसो बाहिर खुलेर कुरा गर्न सक्ने अवस्था छैन ।’
द लेप्रोसी मिसन नेपालका अनुसार रुपन्देहीमा आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि कार्तिक महिनासम्ममा सैनामैना नगरपालिकामा ४, कञ्चन गाउँपालिकामा ३, गैडहवा गाउँपालिकामा १, शुद्धोधन गाउँपालिकामा २, सियारी गाउँपालिकामा १, तिलोत्तमा नगरपालिकामा ७, ओमसतिया गाउँपालिकामा १८, रोहिणी गाउँपालिकामा १, सिद्धार्थनगर नगरपालिकामा १, मायादेवी गाउँपालिकामा ५ र कोटहीमाई गाउँपालिकामा १ जना कुष्ठरोगका नयाँ बिरामी रहेका छन् ।