बुटवल-लुम्बिनी प्रादेशिक अस्पतालले चलाएको कोरोना विशेष अस्पतालमा रहेका आइसीयू बेड लक्षणसहितका कोरोना भाइरसका संक्रमितले भरिएका छन्।
अस्पतालमा १६ वटा बेड रहेकोमा सबैमा लक्षण देखिएका बिरामी छन्। त्यसमध्ये २ जनाको अवस्था गम्भीर छ।
'थप लक्षण देखिएका बिरामी उपचारका लागि आएमा भर्ना गर्नका लागि बेड छैन-कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले भने-संक्रमण बढ्दो छ हामीसँग बेड छैनन्।'
१६ जना मध्ये २ जनालाई भेन्टिलेटरमा राखेर उपचार जारी छ। उनीहरुको अवस्था 'क्रिटिकल' रहेको थापाले बताए। उनीहरुमध्ये एकजना रुपन्देहीका र अर्का एकजना कपिलवस्तुका हुन्।
आइसीयुमा उपचाररत ६ जनाको अवस्था पनि गम्भीर छ। ८ जनाको स्वास्थ्य स्थिति भने सामान्य रहेको उनले बताए। ती बिरामीहरुमा ज्वरो, निमोनिया, रुघाखोकी, स्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिएका छन्।
अरु २१ जना संक्रमितको जनरल वार्डमा राखेर उपचार भइरहेको छ।
बुटवलमा बेड भरिएपछि बुटवलभन्दा बाहिर दाङ, बाँके र रुपन्देहीकै भैरहवामा बिरामीहरु भर्ना गर्ने तयारी प्रदेश सरकारले गरेको छ। प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदकुमार गिरीले सम्भव भएसम्म आइसीयू बेड थप गर्ने र थप बिरामी बढ्दै गए अन्यत्र लैजाने बताए। तत्काल गम्भीर प्रकृतिका बिरामी आए नेपालगञ्ज र दाङ लैजाने उनले बताए।
प्रदेश ५ सरकारले बुटवल धागो कारखानासहित दाङ, बाँके र भैरहवामा आईसीयू कक्ष बनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भीम अस्पताल भैरहवामा ५, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा १० र केन्द्रीय संस्कृत विद्या पिठ बेलझुण्डी दाङमा पनि १० वटा आईसीयू बेड छन्। बाँके र दाङका आइसीयू कक्ष खाली छन् भने भैरहवाको भीम अस्पतालमा जनशक्ति अभाव छ।