बुटवल । उपभोक्ता हित तथा संरक्षण मञ्च बुटवल उपमहानगरपालिकाले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ ।
खाद्य वस्तुमा मिसावट तथा गुणस्तरहीनताको समस्या देखिएको हुनाले वडा नम्बर ९, १० र ११ का वडाध्यक्षहरुको साथमा सबै टोल समितिका सदस्यहरुको सहभागितामा कार्यक्रम राखिएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिकामा बारम्बार गरिएको अनुगमन र कारवाहीले धेरै ठूलो सुधार आएको बताउनुभयो । सचेतनाका दृष्टिले बुटवल उपमहानगरपालिकाका खाद्यवस्तु र सामग्रीप्रति उपभोक्ताहरु सचेत हुँदै गएको महशुस गरेको उहाँको भनाइ छ ।
अहिले दूध र मासुमा राम्रो सुधार आएकोले निसङ्कोच खान थालेको बताउनुभयो । उपभोक्ता हित संरक्षण मन्च समेत सक्रियतापूर्वक लागेकोले यस्तो सम्भव भएको बताउँदै उहाँले ढुसी लागेको बस्तु, ज्यादा पोलेको मकै वा मासु खाँदा ख्याल गर्न आग्रह गर्नुभयो । “म जनताको प्रतिनिधि भएको नाताले उपभोक्ताको पनि प्रतिनिधि हुँ । मैले गलत गर्नेहरुसँग सम्झौता गर्दिन”, उहाँले भन्नुभयो ।
उपप्रमुख अर्यालले लेबलिङ्ग हेरेर मात्र बस्तु खरिद गर्न र खाद्य स्वच्छता तथा गुणस्तरमा ध्यान दिन आग्रह गर्दै उपभोक्ताको लागि आगामी वर्षमा पनि बजेट छुट्याउने प्रतिबद्धता जनाउनुभयो ।
बुटवल उपमहानगरपालिका ११ का अध्यक्ष रामचन्द्र खनालले खाद्य वस्तुको स्वच्छता र गुणस्तरीयताको विषयमा उपभोक्ता जागरणमा आफूहरु लामो समयदेखि लागिरहेको भन्दै उपभोक्ता हित र संरक्षणमा आफ्नोतर्फबाट सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा खाद्य शुद्धता सम्बन्धी अभिमुखीकरण अनुप हलुवाई, उपभोक्ता अधिकार र मानव अधिकारको विषयमा इन्सेक प्रतिनिधी रिमा बिसी, खाद्य शुद्धता र उपभोक्ता अधिकार सम्बन्धी समुन्द्र जिसीले अन्तरक्रियात्मक प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम भक्तबहादुर कार्कीको स्वागत र लिलाधर लुइँटेलको सञ्चालनमा सम्पन्न भएको थियो ।