बुटवल-लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत अर्की एकजना संक्रमित महिलाको मृत्यु भएको छ।
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको हो।
साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेशनमै बसेर उपचार जारी थियो। घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो।
उनलाई ४ दिनअघिदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो।
उनलाई प्लाज्मा दिएर बुधबारसम्म सुधार भइरहेकोमा रातीदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो। उनलाई बिहीबार पनि थप प्लाज्मा दिने तयारी थियो।
संक्रमित महिलामा उच्च रक्तचापको समस्या रहेको थियो। अस्पतालमै उपचाररत कपिलवस्तुका एकजना पुरुषको बुधबार राती मृत्यु भएको थियो।
