म नेपालगन्जको औद्योगिक क्षेत्रमा रहेको एक प्लाष्टिक उद्योगकी सञ्चालिका हुँ। उद्यम सँगै समाजसेवा र साहित्य सिर्जनामा पनि सक्रिय रहँदै आएकी छु।
कोरोना महामारीले अन्य क्षेत्रजस्तै उद्योग व्यापारमा पनि नराम्रो असर पार्यो। लकडाउन भएपछि उद्योग बन्द भयो। मानिसका लागि स्वास्थ्यमा आईपर्ने संकट अरु संकटभन्दा ठूलो हुनेरहेछ भन्ने पाठ यस महामारीले सिकायो।
स्वास्थ्य जोगाउनकै लागि उद्योग बन्द हुँदा पर्ने असरलाई गौण ठानेर लकडाउनको पूर्ण पालना गरेँ। उद्योगका मजदुरहरुलाई ढाडस दिइरहेँ र सुरक्षित भएर बस्न सुझाईरहेँ।
सरकार र स्वास्थ्यसम्बद्धका सुझावहरु पालना गर्दै घरभित्रै बस्यौं। लकडाउन अन्त्यपछि सरकाले निश्चित मापदण्डमा रहेर उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गर्याे। मनमा एकातिर संक्रमणको डर, अर्काेतिर उद्योगलाई जोगाईराख्नुपर्ने चुनौती पनि।
चुनौती स्वीकार्दै हरेक निर्देशन र सावधानीका उपायहरु अपनाएर उद्योग सञ्चालन गर्न थालेँ। तर, कोरोना संक्रमण निरन्तर फैलिरहेको सन्दर्भमा औद्योगिक क्षेत्रका उद्योगहरुमा कार्यरत सबैको कोरोना भाइरस परीक्षण गरौँ भन्ने प्रशासनको अनुरोधलाई स्वीकार गर्यौं। त्यही क्रममा मेरो पनि पीसीआर परीक्षण गरेँ।
कोरोना भाइरसका बारेमा र यसबाट बच्ने उपायका बारेमा सकेसम्मका सबै जानकारीहरु राखेकी थिएँ। सावधानीका उपायहरु पालना गरेकी थिएँ। मलाई लागको थियो यत्तिको सावधानी अपनाएर बसेको मलाई कसरी संक्रमण होला र ? तरपनि परीक्षण गरेँ।
त्यतिबेला लकडाउन खुलेपछि पुनः संक्रमितहरु बढ्न थालेकोले प्रशासनले जिल्लाभर निषेधाज्ञा लगाएको थियो। उद्योग पनि बन्द गरेर र दिनभरी मोबाईल स्वीच अफ गरेर, केही लेख्ने प्रयास गर्दैै घरमा केटाकेटीसँगै बसेकी थिएँ।
तीन दिन अघि परीक्षणका लागि दिएको स्वाबको नतिजा नेगेटिभ नै आउने विश्वास थियो मलाई। साँझ ५ बजेतिर मोबाईल खोल्नेबित्तिकै फोन आउन सुरु भयो। फोन उठाएँ। फोनमा बोल्ने व्यक्ति जंगिन थाल्नुभयो।
‘तपाई कोरोना संक्रमित हुनुभएको छ। कति फोन गर्यौं हामीले। फोन स्वीच अफ गरेर बस्नुभएको छ। हामीलाई त लाग्यो, तपाईँले संक्रमण भएको थाहा पाएर लुक्नुभयो।’–उहाँ लगातार बोल्न थाल्नुभयो।
मैले उहाँलाई लुक्न नखोजेको स्पष्टीकरण दिएँ। तर, मलाई कोरोना संक्रमण भएको भनेर पत्याउन सकिन। उहाँलाई फेरि एकपटक राम्ररी भेरिफाई गर्न आग्रह गरेँ। तर, उहाँले यकिनका साथ मलाई नै संक्रमण पुष्टि भएको बताउनुभयो।
त्यसपछि भने मेरो आङनारी सुक्न थाले। एकाएक बज्रपात परेको महसुस हुन थाल्यो। के गर्ने, कसो गर्ने हुन थाल्यो। एकातिर चिन्ताको पारो ह्वात्तै बढ्यो भने अर्काेतिर मलाई कोरोना संक्रमण भयो भनेर विश्वास गर्नै सकिन।
न कुनै लक्षण देखिएको थियो न त मेरो सम्पर्कमा आएका अरु कसैलाई संक्रमण पुष्टि भएको थियो। मलाई संक्रमण भएको छ भनेर मान्न प्रयोगशालाप्रति विश्वास गर्नुबाहेक अरु कुनै आधार थिएन।
मेरै उद्योगमा कार्यरत कोहीपनि कर्मचारीमा कोरोना संक्रमण भेटिएन। स्वाब दिएको अघिल्लो दिन सामाजिक संस्था वासको एउटा कार्यक्रममा मेरो सम्पर्कमा आएका कसैमा पनि संक्रमण पुष्टि भएन।
यतिसम्मकी मसँगै सुत्ने सानो नानीमा पनि संक्रमण रहेनछ। मलाई मात्रै कसरी संक्रमण भयो ? मैले कुनै भेउ पाउन सकिन।
घरमा हामी दुई बुढाबुढीबाहेक दुईजना छोराहरु मात्रै थिए। बुढा पनि केही दिनअघि मात्रै बाहिर जानुभएको थियो। छोराहरुलाई घरमा सम्झाईबुझाई गर्नेपनि कोही थिएन।
आफुसँगै सुत्ने उनीहरुलाई पनि संक्रमण भयो होला भन्ने अर्काे चिन्ताको कारण बनिरहेकै थियो। उनीहरुलाई भयो भने कसरी जुध्छन् होला यस्तो रोगसँग भन्ने भयले मन खान थाल्यो।
उता बुढा गएको ठाउँमा पनि मानिसहरुले म कोरोना संक्रमित भएको थाहा पाएपछि उहाँलाई पनि अनेक दवाब दिन थाले। यता आउँछु भन्दा प्रहरीले आउन दिएन।
पत्यार नलागेपनि सरकारले तोकेको मापदण्ड र नियमको पालना गर्नुको विकल्प थिएन। त्यसपछि पैसा तिरेर आईशोलेसनमा बस्न मिल्ने व्यवस्था गरिएको नेपालगन्जको एक होटेलमा आइसोलेसनमा बस्न पुगेँ।
हुन त सरकारले खजुराको क्यान्सर अस्पतालमा पनि निःशुल्क आइसोलेसनको व्यवस्था गरेको थियो। तर, होटेलमा बस्दा सजिलो हुने लाग्यो र त्यसै गरेँ। होटेलमा एकदिनको ४,००० शुल्क तिर्नुपर्ने भनिएको थियो, तर पछि २५०० रुपैयाँ तिरेँ।
आइसोलेसनमा पुगेपछि भने अनौठो अनुभूति हुन थाल्यो। म पनि विश्वमा माहामारी फैलाएको कोरोनाबाट संक्रमित पो भएँ।
अब कम्तिमा १५ दिन आइसोलेसनमा बस्नुपर्ने छ।
एक्लै परिवार आफन्तबाट टाढा बस्नुपर्ने बाध्यात्मक परिस्थिति ममाथि पनि आइलाग्यो, भन्ने जस्ता अनेक कुराहरु मनमा खेल्न थाले। सञ्चार माध्यममा हेडलाइनमा आउने कोरोना संक्रमितका खबरहरु सम्झिन थालेँ।
दिमागमा विभिन्न सोसल मिडियामा हेर्नुपरेका विदेशमा संक्रमितले भोग्नुपरेका हृदयविदारक पीडाका दृष्यहरु सलबलाउन थाले।
हेरेका कतिपय दृश्यहरु सही थिए कति झुट थिए।
तैपनि तीनको प्रभावका कारण मनले त्यसबेला सबैभन्दा पीडादायक भविष्यको कल्पनातिर जबरजस्ती धकेल्न खोजेको अनुभूति हुन थाल्यो। एककिसिमले आफुलाई निरिह महशुस गर्न थालेँ।
जति सकारात्मक बन्न खाजेपनि मनमा अकल्पनीय डरतिरै ढल्केको महसुस हुन थाल्यो। दिउसोसम्म शारिरीक रुपले स्फुर्त रहेको म सायद मानसिक कारणले होला बेलुकीतिर नै कमजोर भएको महसुस गर्न थालेँ।
रातभरि शारीरिक कमजोरी हुन थाल्यो। अनेक विचारका लहरहरु मनमा आईरहे। ती लहरहरुका बारेमा कुराकानी गर्न मसँग कोही नभएको बोधले झनै पीडा महसुस गराउन थाल्यो।
अर्काेतिर हाम्रो समाजको व्यवहारको पनि कल्पना हुन थाल्यो। समाजले कोरोनालाई डरलाग्दो हाउगुजीका रुपमा बुझ्छ। संक्रमितलाई त झनै कस्तो व्यवहार गर्ला? भन्ने चिन्ता हुन थाल्यो।
बिहान उठ्दा मन भारी भएको थियो। त्यस्तो उराठलाग्दो बिहानीको अनुभूति मेरो सम्झनामा पहिलोपटक गरिरहेकी थिएँ। सामान्य योगाभ्यास गरेँ। बिहानको नास्ता गर्न बोलाउँदा पनि जान मन लागेन।
खाना खानेबेला एउटा थाली दिएर भनियो,–‘तपाईँले यो थालीमा खाना आफैले टाढै बसेर थाप्नुपर्छ र यो थाल आइसोलेन अवधिभर तपाईँसँगै हुन्छ। आफैले सफा गरेर आफैसँग राख्नुपर्छ र यसैगरी थापेर खानुपर्छ।’
त्यसपछि जिन्दगीमा पहिलोपल्ट त्यसरी अलग्गै बसेर थालीमा खाना थापेर लिनुपर्दा अत्यन्तै हिनताबोधको अनुभूति हुन थाल्यो।
यस्तो लाग्यो म कुनै अपराधबिनाको कैदी हुँ। खाना लिएर टेबुलमा बसेँ। तर खानै सकिन। बिहानको खानामात्रै होईन त्यसदिन साँझको खाना खान पनि मन लागेन।
सायद घरमा भएको भए यसरी खानै खान मन नलाग्ने हुदैनथ्यो होला। खान मन नलागेपनि कसैले जबरजस्ती भएपनि खुवाउँथे होला। तर, त्यहाँ नितान्त एक्लो मलाई कसले सोधीखोजी गर्ने ? त्यस राती खाना नखाई त्यत्तिकै सुतेँ। कुन दिनमा के पाप गरेछुँ ? भन्ने सम्मको सोचाई मनमा आउन थाल्यो।
एकातिर अथाह मानसिक तनाब, अर्काेतिर दुई छाक खाना नखाएको भोको पेट। राती असाध्यै गाह्रो हुन थाल्यो।
पेट हुडुलिन थाल्यो, छाती दुख्न थाल्यो, मुटुमा केही चीजले घोचेको जस्तो हुन थाल्यो। हुँदा हुँदा ज्वरो आउन थाल्यो, नशा दुःख्न थाल्यो। अब मर्छुँ होला भन्ने लाग्न थाल्यो।
त्यस्तोबेला सबैभन्दा बढी याद छोराछोरी र परिवारको आउँदो रहेछ। सहज महशुस गर्न आफ्नै हातले छाती दबाउन थालेँ। ढुकढुकी पनि बढ्न थाल्यो।
अनि दिउसो डाक्टरले दिएको सल्लाह सम्झेँ। उहाँले ज्वरो नाप्न सिकाईदिनुभएको थियो। केही अप्ठ्यारो हुनेबित्तिकै कल गर्न भन्नुभएको थियो।
तर, बिस्तराबाट उठ्न पनि गाह्रो महसुस हुन थाल्यो। बिस्तरा नजिकैको ल्याण्डलाईन फोन उठाएँ र कल गरेँ। तल काउन्टरमै डाक्टर हुनुहुँदो रहेछ।
मैले आफुलाई धौ–धौ हुँदाहुँदै आफ्नो रुम नम्बर र आफुलाई गाह्रो भएको भन्न सकेँ। त्यसपछि उहाँहरु तुरुन्तै माथि आउनुभयो। बिस्तराबाट लत्रिँदै गएर ढोका खोलेँ।
उहाँहरुले ज्वरो नाप्नुभयो र भन्नुभयो–‘ओहो, तपाइँलाई त एकदमै गाह्रो भएको रहेछ। ज्वरो पनि उच्च आएको छ।’
यति भनेर उहाँहरुले केही औषधि दिनुभयो। सायद उहाँहरुले थाहा पाईहाल्नुभयो मैले धेरै तनाव लिएर पनि थप गाह्रो भएको हो भन्ने कुरा।
त्यसपछि उहाँहरुले मलाई काउन्सिलिङ गर्नुभयो। उहाँहरुले कोरोनाका बारेमा पनि राम्ररी बुझाउनुभयो। अरुहरुका सकारात्मक उदाहरण पनि दिनुभयो र सकारात्मक सोच्न सल्लाह दिनुभयो।
केही परेमा आफुहरु भएको भन्दै ढाडस पनि दिनुभयो। त्यसपछि फोन स्वीच अफ गरेर राम्ररी निदाउन सल्लाह दिनुभयो। अलिकति राहत महशुस भयो। लामो सास फेरेँ। अनि सुतेँ।
बिहान बिउँझिदा भने शरीर हल्का महसुस भएको थियो। फोन स्वीच अन गरेँ। मैले आफु कोरोना संक्रमित भएको माईतमा बुवा आमालाई थाहा दिएकी थिइन।
तर, कतैबाट थाहा पाईहाल्नु भएछ र एकाबिहानै रुँदै फोन गर्नुभयो। मैले उहाँहरुलाई आफु ठीकठाक रहेको भनेर सम्झाएँ र चिन्ता नलिन भनेँ।
आमाबुवाको फोनपछि मलाई मैले गर्दा उहाँहरुलाई पनि चिन्ता थपिएको ठानेर फेरि मन भारी हुन थाल्यो। जसोतसो आफैलाई सम्झाउने प्रयास गरेँ।
यसरी सबै चिन्तित भएको बेला म पनि चिन्तित भएँ भने त झन् गाह्रो हुने रहेछ। धेरै नकारात्मक सोंच्यो भने अवस्था झन बिग्रने रहेछ। अब नकारात्मक सोच्दिनँ भन्ने मनमनै प्रण गरेँ।
एक्लै त्यो पनि खाली बसेपछि नकारात्मक सोच त मनमा आईहाल्छ। त्यसकारण केही लेख्ने र पढ्ने योजना बनाएँ।
अनि, दुईचारवटा किताब मगाएँ। त्यसपछि कोरोनाभन्दा बढी केही लेख्ने र आफ्ना बारेमा आत्ममूल्यांकन गर्नतर्फ ध्यान दिन थालेँ। किताब पढ्न थालेँ। सकेसम्म सकारात्मक मात्रै सोच्न थालेँ।
कोरोनाको लक्षणको रुपमा सास फेर्न अप्ठ्यारो हुने एवं स्वाद थाहा नपाईने जस्ता लक्षणहरुमात्रै देखिए।
तर, चिन्ताले छोडिसकेको भने थिएन। घरमा बाबुहरु एक्लै छन्। कसैलाई उनीहरुको अवस्था बुझ्न पठाउँ भने उनीहरुलाई पनि होम क्वारेन्टिन गरेर राखिएको थियो।
फोनबाटै उनीहरुलाई ढाडस दिने प्रयास गरिरहेकी थिएँ। आफै आत्तिएको सम्झिएर उनीहरुमा पनि संक्रमण भएको रहेछ भने कसरी सहलान् भन्ने पिडा हुन थाल्यो।
जस्तोसुकै परिस्थिति आएपनि सहन सक्छु भन्ने ठान्ने म आफै आत्तिएर यस्तो अवस्था छ भने उनीहरुको के हाल होला भन्ने चिन्ता लागिरह्यो। सबै चीज सम्झेर ल्याउँदा आफुलाई कसरी सकारात्मक बनाईराख्ने भेउ पाउनै मुस्किल हुन थाल्यो।
आफन्त, साथीभाई, शुभचिन्तकहरुले भने निरन्तर फोन गरेर हौसला दिईरहनुभयो। फेसबुकमा पनि स्वास्थ्यलाभको कामनाको ओईरो नै लाग्यो।
त्यसले मलाई आफन्त र शुभचिन्तकहरुको महत्व बुझाईदियो। मलाई माया गर्ने र भलो चिताउने धेरै हुनुहुँदो रहेछ भन्ने बोधले हौसलाको काम ग¥यो। मलाई कहिलेकाहीँ लाग्थ्यो आफ्नो काम र आफ्नो बाटोमा इमान्दारीपूर्वक हिँडे त भैगो नि। तर आफन्त शुभचिन्तक पनि जीवनको महत्वपूर्ण पाटो हुँदो रहेछन् भन्ने महशुस पनि भयो।
एकदुई दिन म आफ्नो कोठाबाट बाहिर निस्किन। एक्लै बस्दा झन् नकारात्मक धारणा आउने रहेछ। जब म बाहिर आएर छतमा गएँ। त्यहाँ त मजस्तै थुप्रै संक्रमितहरु हुनुहुँदो रहेछ।
उहाँहरुलाई देखेपछि भने थप हौसला बढ्यो। साना–साना नानीहरु भएका महिला, बुढाबुढी सबैलाई देखेपछि आफुलाई उहाँहरुभन्दा राम्रो अवस्थामा देखेँ।
त्यसपछि मैले उहाँहरुलाई पनि हौसला दिनुपर्छ भन्ने लाग्यो। उहाँहरुसँग कुरा गर्न थालेँ। सकारात्मक कुरा गरेर उहाँहरुको पनि मनोबल बढाउन थालेँ।
‘हामीलाई त भगवानले तिमीहरु धेरै बिजी भयौ केही दिन आनन्दले बसेर रमाईलो गर भनेर कोरोना संक्रमण गराएको हो’ भनेर ठट्टा गर्न थालेँ।
आफुले जानेको योगा सम्बन्धि ज्ञानहरु पनि सिकाएँ। केही साहित्यिक सिर्जनाहरु लेखेँ। आफैलाई आत्ममूल्यांकन गर्ने अवसरको रुपमा आइसोलेसनको उपयोग गरेँ। दिनहरु बित्दै गएपछि सबैकुरा सामान्य लाग्दै गयो।
आईसोलेसनबाट घर पठाउँदा डाक्टरले केही समय घरमा पनि अलग्गै बस्न सुझाव दिनुभएको थियो। साथै, व्यायाम र योग गर्न, स्वस्थ खाना खान, सतर्क रहन र सकारात्मक सोच्न सल्लाह दिनुभएको थियो। त्यहीअनुसार घरको एक कोठामा अलग्गै बसेँ। आफ्नै घरमा एक्लै बस्नुपर्दा पनि कस्तो–कस्तो लागिरह्यो।
आफ्नैघरका सरसामान, किताब कापीहरुको सम्झना आईरह्यो। छोराहरुलाई पनि अंगालो हाल्न पाईन। आफ्नो परिवारका मात्रै होईन, छरछिमेकमा पनि कोहीपनि संक्रमित नहोउन भनेर कडाईपूर्वक सावधानीका उपायहरु पलना गरिरहेँ।
तर, घरमा आईसकेपछि छरछिमेकको हेर्ने दृष्टिकोणमा परिवर्तन भएको महसुस हुन थाल्यो। मुखले नभनेपनि व्यवहारमा हाम्रो घरनजिकै आउनेबित्तिकै, कुरा गर्नेबित्तिकै कोरोना सरिहाल्छ कि जस्तो ठान्ने जस्तो देखियो।
समाजले रोगबाट संक्रमित हुनुलाई अपराध गरेको जस्तो व्यवहार गर्नु राम्रो होइन जस्तो लाग्छ।
लापरबाही गरेरै संक्रमण भएको भन्ने पनि कुनै आधार छैन। मेरै काखमा सुत्ने बच्चालाई पनि संक्रमण भएको छैन भने कसरी लापरबाही हुन सक्छ ? तैपनि भैहाल्यो।
रोग सर्ने सबै सम्भावनाहरुविरुद्ध सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमण भयो। अहिलेपनि भेउ पाउन सकेकी छैन मलाई कसरी संक्रमण भयो।
तर, जे होस्, जीवनको सबैभन्दा ठूलो संकटको सामना यस अवधिमा गरियो। मानव ईतिहासकै सबैभन्दा ठूलो वैश्विक महामारीको प्रत्यक्ष भुक्तभोगी बन्नुपर्यो। यस महामारीले मलाई धेरै नकारात्मक अनुभव र केही सकारात्मक सिकाईहरु दिएको छ। जसले मलाई मेरो जिन्दगी अरु राम्रो बनाउन सघाउनेछ।
(नेपालगन्जकी एक उद्यमी, समाजसेवी र साहित्यकार दिला शाहलाई कोरोना संक्रमण भएपछि संक्रमणकाल, आइसोसनको अनुभवलगायतका विषयमा लुम्बिनी टाइम्सका लागि वीरेन्द्र जैसीसँगको कुराकानीमा आधारित।)