बुटवल–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उपचारबारे विभिन्न देशमा परीक्षण भइरहेका बेला प्रदेश ५ मा आयुर्वेदिक औषधीको परीक्षण हुन लागेको छ ।
केही दिनअघि मात्र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको टोली आएर यहाँको सामाजिक विकास मन्त्रालयलयसँग आयुर्वेदिक औषधिको परीक्षण गर्नेबारे छलफल भएको थियो ।
परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले आयुर्वेदिक औषधि परीक्षणमा सामाजिक विकास मन्त्री सुदर्शन बराल सकारात्मक भएको बताए ।
‘औषधिको क्लिनिकल ट्रायलको लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएपछि हामीले बुटवलको साइट रोज्यौ’–उनले भने–‘यहाँ सामाजिक विकास मन्त्रालयमा छलफल ग¥यौ । मन्त्री ज्यू सकारात्मक हुनुहुन्छ । केही प्रक्रिया हुँदै छ । त्यो फाइनल भएपछि हामीले परीक्षण सुरु गर्छौ।’
आयुर्वेदिक औषधिको प्रभावबारे कम्तीमा १ सय जनामा परीक्षण गरिने छ। त्यसमा दुईवटा समुह बनाइने छ। एउटा औषधि खाने समूह हुनेछ भने अर्को औषधि नखाने समूह हुनेछ । औषधि खाने समुहलाई सुठो (अदुवाको धुलो), पिपली र मरिच बराबर मात्रामा मिलाएर २ ग्राम तयार गरिएको आयूर्वेदिक औषधि दिइनेछ। त्यसमा १० ग्राम जेठी मधु मिलाएर औषधि बनाइन्छ।
त्यो औषधि बिहान र बेलुका खानाभन्दा आधा घण्टा अघि पानीसँग खान दिइन्छ। त्यसरी दिएपछि आयुर्वेदिक औषधिको प्रभावबारे अध्ययन गरिने डा. प्रदीप ज्ञवालीले जानकारी दिए। उनले यस्तो परीक्षण संक्रमण पुष्टि भएर स्वास्थ्य अवस्था गम्भीर नभएकाहरुमा गरिनेछ।
‘लक्षणमा कस्तो परिवर्तन आयो, हाच्यु कत्तिको हुन्छ, स्वाश फेर्न गाह्रो भएको छ कि छैन । ब्लडमा कस्तो परिवर्तन भएको छ हेर्छौ’–उनले लुम्बिनी टाइम्ससँग टेलिफोनमा भने–‘परीक्षण सुरु गर्न भन्दा अघिको अवस्था र अन्तिममा पिसिआर रिपोर्ट नेगेटिभ आएको अवस्थासम्म औषधिले कसरी काम गरिरहेको छ अध्ययन गर्छौ।’
सिंहदरबार वैद्यखानामा तयार गरिएको यो औषधि दिँदा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने र कोभिड विरुद्ध लड्न उर्जा निकाल्ने अपेक्षा रहेको स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. ज्ञवालीले बताए।
आयुर्वेदिक औषधि क्लिनिकल ट्रायलको टोली बुटवलमै रहेको र उनीहरुलाई तालिम पनि गराएको उनको भनाइ छ ।
‘२८ दिनको परीक्षण अवधि हुन्छ। कति समयमा पिसिआरको रिपोर्ट नेगेटिभ आयो, कसलाई कति छिटो सुधार आयो भन्ने कुरा अध्ययन गर्छौं, त्यो अवधिमा कसलाई कति सुधार भयो । पिसिआरको रिपोर्ट नेगेटिभ आयो भने त्यही हेर्छौ। कसको कति छिटो सुधार कसरी भयो भन्ने हेर्ने हो’–उनले भने।
सामान्य लक्षण देखिएका बिरामीमा अहिले पनि केही आयुर्वेदिक औषधि दिइएको र औषधिको प्रभावबारे अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदको टोली आएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए। ‘मन्त्रालयमा त्यसबारे छलफल भइरहेको छ, त्यो टुंगिएपछि टोलीले अनुसन्धान थाल्नेछ’–उनले भने।