३५–४० वर्षको उमेरपश्चात् व्यक्तिको शरीरमा अनेकतरहका बदलाव आउने गर्छन् । आजकल युवावस्थामै मानिसहरू मोटोपन, उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगको सिकार हुन्छन् । यही कारणले नै उमेर बढेसँगै कतिपय घातक (असाध्य) रोगहरूको खतरा बढ्दै जान्छ । स्वास्थ्यमा ध्यान नदिनाले आजकल कम उमेरमै हृदयाघात, क्यान्सरलगायत समस्या निकै बढिरहेका छन् । केही यस्ता स्वास्थ्यपरीक्षण छन्, जुन हरेक पुरुषले ३५ वर्ष उमेर पार गरेपश्चात् कम्तीमा वर्षको एकपटक अनिवार्य गराउनुपर्ने हुन्छ । ती स्वास्थ्यपरीक्षणबारे जानौँ :
१. बिएमआई परीक्षण गराउनुहोस्
बिएमआई अर्थात् बडी–मास इन्डेक्स एउटा साधारण स्वास्थ्यपरीक्षण हो । बिएमआईमा व्यक्तिको उचाइ र वजनको अनुपात निकाल्ने गरिन्छ, ताकि ऊ कति स्वस्थ छ भन्ने पत्ता लगाउन सकियोस् । आजकल मोटोपन एउटा ठूलो समस्या हो । मोटोपन स्वयम्मा कुनै रोग होइन, तर यो अनगिन्ती रोगको कारण बन्न सक्छ । १८.५ देखि २४.९ सम्मको बिएमआई राम्रो मानिन्छ । यदि तपाईंको बिएमआई योभन्दा बढी छ भने तपाईंले आफ्नो खानपान र जीवनशैलीमा आजैदेखि परिवर्तन गर्नु आवश्यक छ ।
२. दाँतको परीक्षण गराउनुहोस्
तपाईंलाई यो सुनेर आश्चर्य लाग्न सक्छ कि, तपाईंको दाँत र मुटुका बीच आपसमा गहिरो सम्बन्ध हुन्छ । दाँतमा हुने कतिपय सामान्य मानिने रोग हृदयाघातको कारण बन्न सक्छन् । यसैले प्रतिवर्ष आफ्नो दाँतको परीक्षण गराउनुहोस् । गिजामा हुने कुनै पनि प्रकारका समस्यालाई सामान्य नसम्झनुहोस् ।
३. ब्लड सुगर (मधुमेह)को परीक्षण गराउनुहोस्
रगतमा चिनीको मात्रा बढेमा डायबिटिज (मधुमेह) हुन्छ । सुरुवाती चरणमा यसका धेरै लक्षणहरू देखिँदैनन् । यसकारण ३५ वर्ष उमेरपश्चात् प्रतिवर्ष एक–दुईपटक आफ्नो रगतमा सुगर लेबल (चिनीको मात्रा) अवश्य पनि परीक्षण गराउनुपर्ने हुन्छ । यदि सही समयमा डायबिटिज पत्ता लाग्यो भने औषधि र जीवनशैलीमा बदलावबाट यसलाई निको पार्न सकिन्छ । तर, समस्या बढ्दै जाँदा डायबिटिजको कुनै उपचार उपलब्ध छैन ।
४. कोलेस्टेरोलको परीक्षण गराउनुहोस्
उच्च केलेस्टेरोलका कारण मुटुसम्बन्धी विभिन्न रोगहरू (हृदयाघात, कार्डियक अरेस्ट, हार्ट ब्लक आदि)को खतार बढ्छ । वास्तवमा कोलेस्टेरोल बढ्नाले धमनीहरूमा कल्मस जम्न सुरु हुन्छ, जसले रक्तप्रवाह (ब्लड सर्कुलेसन)लाई अवरुद्ध गर्छन् । त्यसैले वर्षमा कम्तीमा एकपटक आफ्नो रगतमा कोलेस्टेरोलको लेबल अवश्य परीक्षण गराउनुहोस् । यसबाट तपाईं हृदयाघातको खतराबाट बच्न सक्नुहुन्छ ।
५. मेटाबोलिजमको परीक्षण गराउनुहोस्
तपाईंको शररको मेटाबोलिजममा नै तपाईंको स्वास्थ्य निर्भर रहन्छ । यदि तपाईंको मेटाबोलिजम कमजोर छ भने तपाईंमा अनेक रोेगहरू, जस्तै, डायबिटिज, मोटोपन, कमजोरी आदिको खतरा बढ्छ । मेटाबोलिक सिन्ड्रोम लक्षणहरूको यस्तो समूह हुन्छ, जसका कारण डायबिटिज र हृदयाघातको खतरा बढ्न जान्छ । यी लक्षणहरू देखिनासाथ मेटाबोलिक सिन्ड्रोमको परीक्षण गराउनुपर्ने हुन्छ :
– कम्मरको आकार ४० वा त्यसभन्दा बढी भएमा ।
– गुड कोलेस्टेरोलको मात्रा ४० मि.ग्रा./डे.लि.भन्दा कम भएमा ।
– ट्रिग्लाइकेरिडसको स्तर १५० मि.ग्रा./डे.लि.भन्दा अधिक भएमा ।
– रक्तचाप १३०/८५ भन्दा अधिक भएमा ।
– फस्टिङ ग्लुकोजको स्तर १०० भन्दा अधिक भएमा ।
यदि तपाईंमा उल्लेखितमध्ये कुनै पनि ३ लक्षण देखापरेमा चिकित्सकले सि–रियाक्टिभ प्रोटिन (सिआरपी)को परीक्षणसमेत गराउन सक्छन् । यसलाई मुटुको स्वस्थतामा निगरानी राख्ने सबैभन्दा राम्रो तरिका मानिन्छ ।