बुटवल–बुटवल ६ का एकजना युवा कन्ट्याक्ट ट्रेसिङमा परे। उनको स्वाब संकलन भयो। पीसीआर जाँचका लागि उनको स्वाब प्रयोगशाला पठाइयो। स्वाब दिएको ८ दिन भयो, तर रिपोर्ट आएको छैन। उनमा लक्षण नदेखिएको र समस्या नदेखिएकाले उनी घरमै आइसोलेशन बसे।
‘हामीले पटक पटक उपमहानगरपालिकामा भन्यौं, उहाँहरुले हामीले जाँच्ने होइन, उताबाट रिपोर्ट नै आएको छैन भन्नुहुन्छ’–उनी भन्छन्। यसरी स्वाब संकलन गरेको हप्तादिनदेखि १२ दिनसम्म रिपोर्ट नआउनेको संख्या बढ्दो छ।
पिसीआर परिक्षण गरेपछि त्यसको रिपोर्ट आउन धेरै दिन लागेपछि संक्रमण भए/नभएको टुंगो नलाग्दा स्वाब दिनेहरु अन्योलमा छन्। बुटवल कालिकानगरकी एक युवती भन्छिन्–‘कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दियौं, अब रिपोर्ट आएको छैन, कुनै लक्षण र समस्या पनि छैन, घरमै आइसोलेशन बस्ने कि काममा जाने, अन्योल बनाइरहेको छ।’
कोरोना संक्रमितसँग सम्पर्कमा आएकाहरुमा संक्रमण सरे/नसरेको बारेमा थाहा पाउन कन्ट्याक्ट ट्रेसिङमा स्वाब लिएर पीसीआर परिक्षण गरिन्छ।
पीसीआर परिक्षणका लागि स्वाब दिएकाहरु लामो समय अलग बस्नुपर्दा र प्रतिक्षा गर्नुपर्दा दिक्क मान्ने गरेका छन्। अहिले पीसीआर परिक्षणको नतिजा आउन झण्डै २ हप्ता कुर्नुपर्ने अवस्था छ। सर्वसाधारण मात्र होइन स्वयं सरकारी अधिकारीले पनि पर्खाइको पिडा भोग्नु परेको छ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंह काम विशेषले वीरगञ्ज पुगेर आएका थिए । यहाँ आएर उनले पीसीआर परिक्षणको लागि भदौ १७ गते स्वाब दिए । एक साता पर्खिदा पनि उनले नतिजा थाहा पाउन सकेनन् ।
रिपोर्ट नआउँदा कार्यालयको काम गर्न पाएका छैनन्। निरन्तर रिपोर्टको लागि ताकेता गरेपछि प्रादेशिक प्रयोगशाला भैरहवाले सिंहको पुन स्वाब लिइ सोही दिन रिपोर्ट दियो। ‘प्रयोगशालासँग दिनहुँ सम्पर्कमा रहिरहन्छु । मेरो त यो हालत छ । अरु सर्वसाधारणको त के हालत होला’–उनले भने ।
सिंहले उपमहानगरमा पीसीआर रिपोर्टको लागि स्वाब संकलन गर्दा रिपोर्ट आउन एक हप्ता देखि १२ दिन सम्म लाग्ने गरेको सुनाए।
ढिलो भएपछि नतिजाको पर्खाइमा रहेकाबाट आफूले निकै गाली खानुपरेको उनले बताए। ‘यति दिन भयो, मेरो रिपोर्ट किन आएन भनेर दिन दिनै गाली खानुपरेको छ’–सिंहले भने–‘हामीले त संकलन गरेर बुझाउने मात्र हो बाँकी काम प्रयोगशालाले गर्ने हो, त्यहाँबाट आउँदैन भने के गर्नु।’
सिंहका अनुसार कोही व्यक्तिमा पोजेटिभ देखिएमा क्लोज कन्ट्याकमा आएको सूची तयार गरिन्छ। उनीहरुलाई एक ठाउँमा जम्मा गरेर स्वाब संकलन गरिन्छ।
रिपोर्ट नआउँदासम्म अरुसँग सम्पर्कमा नजान र क्वारेन्टाइनको रुपमा बस्न भनिन्छ। तर रिपोर्ट ढिला हुँदा धेरैको क्वारेन्टाइन बसाइ लामो हुने गरेको छ।
कतिपयको निकै प्रतीक्षा गर्दा पनि रिपोर्ट नआएर पुनः परीक्षण गर्नुपरेको छ। तर प्रादेशिक प्रयोगशाला भैरहवाले भने स्वाब आएको बढीमा एक हप्ताभित्र नतिजा आइसकेको बताएको छ।
‘लक्षण देखिएकाको बढीमा ७२ घण्टाभित्र हामीले रिपोर्ट निकालेका छौं’–प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भने–‘लक्षण नदेखिएकाको चार पाँच दिनदेखि बढीमा एक हप्ता लागेको छ।’
नतिजा आएर पनि सम्बन्धित व्यक्तिसम्म सूचना पुग्न ढिलाइ भएको हुनसक्ने उनले बताए।
हप्ता दिनमा नतिजा आउनु त्यसै पनि बढी हो। त्यो भन्दा बढी दिन प्रतीक्षा गरेका धेरै छन्। यदि प्रयोगशालाले नतिजा निकालेर पनि सम्बन्धित व्यक्तिले नतिजा पाउन ढिलाइ भएको हो भने यसमा स्थानीय तह, प्रदेश र प्रयोगशालाबीच समन्वयको अभाव देखिन्छ।
प्रादेशिक प्रयोगशालामा अहिले ३ सयदेखि चारसयसम्म स्वाब संकलन हुने गरेको छ। दिनमा साढे २ सय जतिको नतिजा आउने गरेको निमित्त प्रमुख डा. गिरीले बताए।
प्रयोगशालामा कुल १५ जना कर्मचारी रहेका छन्। प्रयोगशालाको लागि अर्को उपकरणको खरिदको लागि टेण्डर भएको र त्यो आएमा दिनमा पाँच सात सय जनाको नतिजा निकाल्न सकिने गिरिले बताए।
उता बाँकेको भेरी प्रादेशिक अस्पतालमा भने बढीमा दुई दिनमै रिपोर्ट आउने गरेको छ। ‘पहिले पहिले ४ दिनसम्म पनि लागेको थियो। पछिल्लो समय आजको भोलि नै रिपोर्ट आएको छ।’ अस्पतालका मेडिकल सुपरिन्टेडेन्ट प्रकाशबहादुर थापाले भने–‘आज रिएजेन्ट नभएर केही ढिलो भएको छ। आज आउला आयो भने फेरि छिटो हुन्छ।’ प्रदेशकै प्रयोगशालामा कतै छिटो र कतै ढिलाई हुँदा प्रदेश ५ सरकारले व्यवस्थापन गर्न सकेको छैन।