बुटवल-रुपन्देहीमा शुक्रबार ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जसमध्ये ५० जना पुरुष र ३३ जना महिला हुन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबारको तथ्यांकसँगै रुपन्देहीमा संक्रमितको संख्या १५०४ पुगेको छ। जसमध्ये ६९७ जना सक्रिय संक्रमित हुन्।
शुक्रबार थपिएकामध्ये सबैभन्दा बढी बुटवलका छन्। बुटवलका २६ पुरुष र २० महिला गरी ४६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए।
यस्तै सिद्धार्थनगर भैरहवामा ११ जना महिला र ११ जना पुरुष गरी २२ जना संक्रमित थपिएका छन् भने मायादेवीमा २ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सुद्धोधन गाउँपालिका, कोटहीमाइ गाउँपालिका, कञ्चन गाउँपालिका र सैनामैना नगरपालिका मा १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। तिलोत्तमा नगरपालिकामा ५ जना पुरुष र २ जना महिला गरी ७ जनामा संक्रमण पुष्टि भएको छ।
रुपन्देहीमा शुक्रबारसम्म ७९३ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ।