गुल्मी–गुल्मी अस्पताल तम्घासमा धमाधम जटिल शल्यक्रिया हुन थालेका छन्। पछिल्लो समय अस्पतालले एक युवतीको अण्डदानी नलीको ट्युमरको सफल शल्यक्रिया गरेको छ।
मुसिकोट नगरपालिका २ की २० वर्षीया युवतीको करिव १ किलोको ट्युमरको शल्यक्रिया गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए।
पेट दुखेपछि ती युवती दुई हप्ता अगाडि गुल्मी अस्पताल तम्घास आइन्। उनी अविवाहित थिइन्। तर पेट अस्वभाविक ठूलो र गर्भवतीको जस्तै देखिन्थ्यो।
अस्पतालका डाक्टरहरुले युवतीको पेटको तत्काल भिडियो एक्सरे र पिसाब जाँच गरे। एक्सरेमा रिर्पोटमा पेटभित्र मासुको डल्लो जस्तो आकारमा ट्युमर भएको पत्तो लाग्यो। शल्यक्रिया बाहेक उपचारको अर्को विकल्प थिएन। सुरुमा परिवारलाई अवस्था र उपचारको बारेमा जानकारी मात्रै दिएको पच्याले बताए।
युवतीलाई पीडाले च्याप्दै थियो। ट्युमर ठूलो र अण्डादानी नलीमा भएकाले डाक्टरहरुलाई शल्यक्रियामा ठूलो जोखिम थियो।
करिब दुई हप्तासम्म युवतीको परिवार र डाक्टरहरुले सल्लाह गरे। परिवारको सल्लाहपछि भर्खरै अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका प्रमुख डाक्टर पच्याले बताए। युवतीको शल्यक्रिया सफल भयो।
पेटमा लामो समय रहेको करिब १ किलोको मासुको डल्लो डाक्टरहरुले निकाले। शल्यक्रिया सफल भएपछि परिवार पनि खुसी भए।
गुल्मी अस्पतालमा अहिलेसम्म यस्तो प्रकारको रोगको उपचार अर्थात शल्यक्रिया भएका थिएनन्। नागरिकलाई यसको उपचार र शल्यक्रियाको लागि पाल्पा वा बुटबल जानुपर्ने बाध्यता थियो।
अहिले युवती अस्पतालबाट डिस्चार्ज समेत भएको अस्पतालका सूचना अधिकारी डाक्टर दिपक बस्यालले जानकारी दिए। केही समय पहिले पनि गुल्मी अस्पतालमा ८१ बर्षिया दुईजना बृद्धको हर्नियाको सफल शल्यक्रिया गरिएको थियो।
पाठेघर बाहिर गर्भाधान भएर अण्डबाहिनी नली फुटेका दुई महिलाको पनि सफल शल्यक्रिया गरिएको बस्यालले बताए। त्यो बाहेक जटिल प्रकारका प्रसुतिको र एपेन्डिसको पनि अस्पतालमा थुप्रै सफल शल्यक्रिया भएका छन्।
यस्तै अर्को घटना छ, रेसुङ्गा नगरपालिका १० की एक युवती प्रसुति व्यथाले च्यापेपछि असार १८ गते राति गुल्मी अस्पताल आइन्।
उनको पहिले स्वास्थ्य परिक्षण गरियो।
डाक्टरले सालनाल पहिले र बच्चा पछि भएको पत्तो पाए। सामान्यतया बच्चा पहिले र पछि मात्रै सालनाल हुने गर्दछ। प्रसुतिको बेला सालनाल पहिले भए बच्चाको ज्यान जाने सम्भावना अत्यन्तै धेरै हुन्छ।
ती युवतिलाई शल्यक्रिया गर्नु बाहेक अरु उपाय थिएन। यो अवस्थामा पुरा शरिर बेहोस बनाएर शल्यक्रिया गर्नुपर्छ।
गुल्मी अस्पतालमा जिए मेसिन थिएन।
तत्काल रेफर गर्ने स्थिती समेत भएन। डाक्टरहरुले जोखिमको बारेमा परिवारलाई जानकारी गराएर शल्यक्रिया गर्ने निधो गरे। परिवारकै आग्रहमा तत्कालिन डाक्टर काशिराम बिक र सरोजा गैरैसहितको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरे।
..............
त्यस्तै रेसुङ्गा नगरपालिका २ की एक महिला असार १० गते प्रसुति व्यथाले च्यापेपछि गुल्मी अस्पताल आइन। उनलाई चिकित्सकहरुले स्वास्थ्य परिक्षण थाले। आमाको उच्च रक्तचाप र बच्चाको मुटुको धडकन कम भएको पत्तो भयो।
यो अवस्था आमा र बच्चाको लागि अत्यन्तै जोखिमपूर्ण हो। प्रसब सुरु भएकाले बाहिर रेफर गर्ने अवस्था थिएन। आर्थिक अवस्थाको कारण परिवारले पनि बाहिर लैजान मानेनन्।
परिवारकै सहमति र आग्रहमा तत्कालिन डाक्टर कासीराम विक र सरोजा गैरेले सफल शल्यक्रिया गरे।
....................
मालिका गाउँपालिका ५ छापहिलेका ८२ वषीय बृद्धा पेट दुख्ने समस्याले पीडित थिए। गाउँमै घरेलु उपचारबाहेक अरु गरेनन्।
समस्या झन् बल्झिँदै गएपछि गुल्मी अस्पताल तम्घास आए।
स्वास्थ्य परीक्षणको क्रममा चिकित्सकहरुले हर्निया भएको पत्ता लगाए। समस्या समाधानका लागि शल्यक्रियाबाहेक अन्य विकल्प थिएन। तर, घर्तीको उमेर ढल्किएकाले शल्यक्रिया गर्न धेरै जोखिमपूर्ण थियो।
पेट दुखाइको पीडा सहन नसकेर घर्तीले शल्यक्रिया गर्ने निधो गरे। गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यासहितको चिकित्सकको टोलीले जेठ १ गते हर्नियाको सफल शल्यक्रिया गरे। जेष्ठ नागरिक भएकाले ७५ छुटमा जिल्लामै जटिल शल्यक्रिया मार्फत हर्नियाको उपचार पाएकोमा खुसी समेत भए।
..........
गत वैशाख अन्तिम साता रेसुंगा नगरपालिका २ बागमारेकी एक गर्भवती युवति अत्यन्तै पेट दुखेपछि गुल्मी अस्पताल आएर भर्ना भइन्।
स्वास्थ्य परीक्षणको क्रममा अण्डबाहिनी नली फुटेको पत्ता भयो।
यिनको पनि शल्यक्रिया बाहेक उपचारको अर्को उपाय थिएन। अस्पतालमा शल्यक्रिया गर्न परिवार सहमत भए। डाक्टर उत्तम पच्यालगायतको टोलीले श्रेष्ठको अण्डबाहिनी नलीको सफल शल्यक्रिया गर्यो।
केही महिलामा गर्भधारणपछि गर्भ अमाशयमा नगएर अण्डबाहिनी नलीमै विकसित हुने गर्दछ। जसलाई मेडिकल भाषामा ‘एक्टपिक प्रेग्नन्सी’ भन्ने गरिन्छ।
बिस्तारै गर्भ विकसित भएपछि अण्डबाहिनी नली फुट्ने र अत्यधिक रगत बगेर आमाको ज्यान जान सक्ने खतरा हुने भएकाले समयमै उपचार गर्नुको विकल्प नभएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए।
केहीदिन अघि इस्माकी एक महिला अत्यधिक पेट दुखेपछि गुल्मी अस्पताल तम्घास आइन। स्वास्थ्य परीक्षणको क्रममा उनको पनि अण्डबाहिनी नली फुटेको थियो। उनकोे पनि शल्यक्रिया मार्फत उपचार गरिएको अस्पतालले जनाएको छ।