बुटवल–कृष्ण चौहान बिहानै एकपटक स्वयंसेवी रक्तदाता समाजको च्याट ग्रुप च्याट हेर्छन्। कसैलाई रगत चाहिएर म्यासेज आएको छ कि भनेर सोधीखोजी गर्छन्।
स्वयंसेवी रक्तदाताहरुको नाम र नम्बरसहितको लामो सूची उनले आफ्नै मोबाइलमा राखेका छन्। रक्तदाताहरुको रक्तसमूह अनुसार अलगअलग सूची तयार पारेका छन्।
आकस्मिक रुपमा बिरामीलाई रगत चाहियो भने मोबाइलमा रक्तदाताहरुको नाम हेर्छन् र कुन ग्रुपको रगत चाहिएको हो, त्यही ग्रुप भएको व्यक्तिलाई सम्पर्क गर्छन्।
पहिले–पहिले विभिन्न संघ संस्थाहरुले आफ्नो दिवस तथा उत्सवमा रक्तदान कार्यक्रम गर्दथे। ठाउँ ठाउँमा रक्तदान कार्यक्रम भइरहन्थ्यो।
कोरोना महामारीका कारण त्यसरी खुल्ला रुपमा रक्तदान कार्यक्रम हुन पाएको छैन। यस्तो अवस्थामा कुनै बिरामीलाई रगतको अभाव नहोस भनेर कृष्ण चौहान क्षेत्री र उनको टीम लागीरहेको छ।
चौहानको संस्था नेपाल रक्तदाता स्वयंसेवी समाजले पछिल्लो समय कोरोनामुक्त भएकाहरुको प्लाज्मा संकलनमा पनि काम गरिरहेको छ।
कुनै बिरामीलाई रगत चाहीएमा सम्पर्क गर्न सहज होस भनेर नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले आफ्ना कार्यसमितिको नाम र नम्बर प्रत्येक अस्पतालहरुमा राखेको छ। उनी समाजका रुपन्देही अध्यक्ष छन्।
चौहानसहित जिल्ला समितिमा रहेका पदाधिकारी सदस्य र आजिवन सदस्यहरुले आकस्मिक रुपमा रगत चाहिएका धेरैको ज्यान बचाएका छन्। स्वयंसेवी रक्तदाता समाजमा ५ सय बढी आजिवन सदस्य छन्।
आजिवन सदस्यहरु मध्ये कतिपय नियमित रक्तदाता समेत छन्। नियमित रक्तदाताले पत्येक ९० दिनमा अर्थात् वर्षको ४ पटक रक्तदान गरेका हुन्छन्।
कोरोनाको महामारीमा बढेसँगै अस्पतालहरुमा रगतको माग बढेको छ। बाहिर खुल्ला रुपमा रक्तदान कार्यक्रम नभएको बेला स्वयंसेवी रक्तदाता समाजले दिनहुँजसो रक्तदान कार्यक्रम गर्नुपरेको समाजका रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए।
‘पहिले पहिले हामीले महिनाको अन्तिम शनिबार मात्र कार्यक्रम गथ्र्यौ भने अहिले दिनहुँ गर्नुपरेको छ’–उनले भने–‘स्वास्थ्य सुरक्षाको कारणले ब्लड बैंकले पनि बाहिर गएर कार्यक्रम गरेको छैन। जो जसलाई पायक परेको छ। उहाँहरु ब्लड बैंकमै आएर रक्तदान गर्नुभएको छ।’ बुटवल र आसपासमा अहिले दिनहुँ ७० युनिट रगत आवश्यक पर्दछ।
खुल्ला रुपमा बाहिर रक्तदान कार्यक्रम हुन नपाउँदा अहिले चाहिएजति रगत संकलन हुन सकेको छैन। तर रगतको अभावमा कसैलाई अफ्ठ्यारो अवस्था आउन नदिएको चौहानको भनाइ छ।
‘रगतको अभावमा कसैलाई रिफर गर्ने वा अफ्ठ्यरो अवस्था आउन दिएका छैनौं’–उनले भने ‘रगत चाहियो भने आकस्मिक रुपमा मान्छे बोलाएर उपलब्ध गराएका छौं।’
चौहान आफूले हालसम्म ६६ पटक रक्तदान गरेका छन्। झण्डै त्यति नै पटक पूर्णचन्द्र सुवेदीले पनि रक्तदान गरेका छन्।
खुल्ला रुपमा रक्तदान कार्यक्रम हुन छोडेकाले उनी हप्ताको तीन चार पटक बुटवलको ब्लड बैंक पुग्छन्। ‘अहिले कार्यक्रम नभएकोले गाउँठाउँतिर कसैले रगत दिन खोज्यो भने उनीहरुलाई मैले बुटवल लिएर जान्छु’–उनले भने–‘कसैलाई चाहिएको रहेछ भने आफ्नो सम्पर्कमा भएकाहरुलाई खोजी गर्छु।’
रक्तसञ्चार केन्द्र बुटवलका कार्यालय प्रमुख जोगबहादुर गुरुङले खुल्ला कार्यक्रम गर्न नसक्दा इच्छुक भएका धेरैले रक्तदान गर्न नपाएको बताए।
‘पहिले खुल्ला कार्यक्रम हुन्थ्यो र कार्यक्रम स्थलमा धेरै जना जुट्थे, कोरोनाका कारण अहिले यहीँ मात्र रक्तदान गर्न सकिन्छ, त्यसैले टाढाटाढाबाट आउन सकेका छैनन्’–उनले भने–‘अब सुरक्षा मापदण्ड बनाएर फिल्डमा पनि रक्तदान कार्यक्रम गर्ने कि भनेर सोँच बनाएका छौं।’
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले शल्यक्रियाका बिरामी कमी हुँदा रगतको माग धेरै नभएको बताउँछन्।
‘अस्पतालमा रगतको माग पहिले जस्तो छैन, तर सप्लाइ कम भएको छ भन्ने कुरा आएको छ’–उनले भने–‘रक्तसञ्चार केन्द्र र स्वयंसेवी रक्तदाताहरु अभाव हुन नदिन लागिरहनुभएको छ।’
पछिल्लो पटक स्वयंसेवी रक्तदाताहरुले कोरोना संक्रमणमुक्त भएकाहरुको खोजी पनि थालेका छन्। कोरोना संक्रमितको प्लाज्मा थेरापी उपचारको लागि संक्रमणमुक्त भइसकेकाहरुको प्लाज्मा आवश्यक पर्दछ।
हालसम्म ४७ जनाको प्लाज्मा संकलन भएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए।
‘४७ जनाको प्लाज्मा संकलन भएको छ, त्यसमध्ये २६ वटा प्लाज्मा १९ जनालाई दिइएको छ’–उनले भने–‘७ जनालाई दुई वटाका दरले चढाइएको छ। प्लाज्मा थेरापीको लागि हामीले अरु पनि कोरोना संक्रमणमुक्त भएकाहरुको सूची तयार गरिरहेका छौं।’