बुटवल–संविधान दिवसको अवसरमा संघिय सरकार र प्रदेश सरकारले आज विभिन्न मान पदवी र पदक पाउनेहरुको नाम घोषणा गरेको छ ।
पदक पाउनेहरुमा कोरोना महामारीमा अग्रभागमा रहेर काम गरेकाहरु पनि रहेका छन् ।
दुवै तहका सरकारले चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अग्रभागमा खटेकाहरुलाई विभूषणको घोषणा गरेको छ ।
पदक पाउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा बाँकेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्ट डा. प्रकाश थापा, लुम्बिनी प्रादेशिक अस्पतालका कन्सल्टेण्ट डा. सुदर्शन थापा क्षेत्री, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेक्चर प्याथोलोजी डा. गोपाल लामा, कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य प्रशासक योगेन्द्र भगत, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकी नर्सिङ अधिकृत ज्योति पौडेल, स्वास्थ्य कार्यालय बाँकेका सातौ तह, नरेशबाबु श्रेष्ठलाई नेपाल सरकारले प्रदान गर्ने प्रबल जनसेवाश्री चतुर्थ पाउने भएका हुन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक गणेश चन्दले पनि सोही पदक प्राप्त गर्ने छन् । राष्ट्रपतिबाटै प्रदान गरिने जनसेवाश्री पञ्चमबाट स्वाथ्य कार्यालय कपिलवस्तुका कुमार थापा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका ल्याब टेक्निसियन सुमन सापकोटा सम्मानित हुने छन् ।
प्रदेश सरकारले पनि कतिपय कोरोनाको महामारीमा फ्रन्टलाइनहरुलाई पदक दिने घोषणा गरेको छ । प्रदेश सेवा समर्पण पदक क बाट लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्ट डा. राजेन्द्र प्रसाद खनाल, प्रदेश सेवा समर्पण पदक ख बाट भिम अस्पतालका डा. सुमित प्रजापति, गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. उत्तम पच्या, भेरी अस्पताल बाँकेमा कार्यरत बसुन्धरा ज्ञवाली गौतम विभुषित हुने भएका छन् ।
त्यसैगरी आइसोलेसन केन्द्रमा योग सिकाउने रुपन्देहीका विष्णुहरि आचार्यले पनि प्रदेश सेवा समर्पण पदक ख प्राप्त गर्ने भएका छन् ।
त्यसैगरी प्रदेश सेवा समर्पण पदक ग प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत लक्ष्मण पन्थीले प्राप्त गर्नेछन् ।
सुरक्षाकर्मीहरुलाई प्रदान गरिने उजिरसिंह दीप पदक ख प्रदेश प्रहरी कार्यालयका अभयकुमार झालाई प्रदान गरिने भएको छ । उजिरसिंह दीप पदक ग जिल्ला प्रहरी कार्यालय बाँकेका डिल बहादुर सिंजाली मगर, इलाका प्रहरी कार्यालय बुटवलका फुलेराम थारु, जिल्ला प्रहरी कार्यालय दाङका प्रभु सुनारलाई दिइने भएको छ ।