बुटवल–प्रदेश नम्बर ५ मा पछिल्लो २४ घण्टामा आइसालेशनमा रहेका ६ सय १ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयले गर्ने नियमित कोभिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले पछिल्लो २४ घण्टामा ६ सय १ जना डिस्चार्ज भएको जानकारी दिए। योसँगै प्रदेश ५ मा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार २ सय ८९ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश ५ मा थप १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका मध्ये महिला ३२ जना र पुरुष ८३ जना रहेका छन्।
सोमबार थपिएकामध्ये नवलपरासी पश्चिमका ५४ जना, बाँकेका ३७ जना, रुपन्देहीका ११ जना, पाल्पाका ३ जना, कपिलबस्तु, प्युठान र रुकुम पूर्वका २/२ जना तथा दाङ र गुल्मीका १/१ जना संक्रमित थपिएका हुन्।
सोमबार थपिएकासँगै प्रदेश ५ मा कुल संक्रमितको संख्या ९ हजार २ सय ९४ पुगेको छ। प्रदेश ५ मा उपचाररत संक्रमितको संख्या १ हजार ८ सय ३१ पुगेको छ।
उनीहरु मध्ये २ सय ६१ जनालाई कोरोना संक्रमणको लक्षण देखिएको डा पौडेलले बताए। उनका अनुसार प्रदेश ५ मा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ।