कोरोना भाइरसको महामारीका कारण लकडाउन भएको ६ महिना भइसक्यो। घरमा बस्दाबस्दा बच्चाहरु वाक्क भइसकेका छन्। कोरोना भाइरस संक्रमणको डरले उनीहरु घरबाहिर गएर खेल्न पाएका छैनन्, साथीहरु भेट्न पाएका छैनन्, स्कुल जान पाएका छैनन्, घुमफिर गर्न पाएका छैनन्। यसले बच्चाहरुलाई एकदमै समस्या भइरहेको छ। प्रस्तुत छ, घरमै बच्चाहरुलाई कसरी रमाइलो गराउने भन्नेबारेमा लुम्बिनी टाइम्सका लागि रिया पाण्डेले बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलसँग गरेको कुराकानी।
बालबालिकाहरु घर बस्दाबस्दा वाक्क भैसके, उनीहरुलाई कसरी फ्रेस गराउने ?
हरेक समस्यालाई हामीले एड्जस्ट गर्नुपर्छ। प्रत्येक बच्चाको मनोविज्ञान फरक फरक हुन्छ। अब कोही बच्चाहरु यत्तिकै घरमा बसेर पनि रमाईलो गर्छन्, कोही बच्चाहरु एकछिनमा पनि झर्को मान्छन्, त्यसैले प्रत्येकको मनोविज्ञान बुझेर त्यही अनुसारको व्यवहार आफुले गर्नुपर्छ। ठ्याक्कै यहि गर्ने भन्ने त छैन, तर प्रत्येकलाई छुट्याउन मिल्दैन। अनि आफ्नो बच्चाको प्रकृति कस्तो छ, त्यो अनुसार व्यवहार गर्नुपर्ने हुन्छ।
अहिलेको समयमा बाबुआमा दुवै अफिस जान्छन् भने गाह्रो पर्छ। पहिले सबै अफिसहरु बन्द हुने बेलामा मैले के भन्थे भने आफु पनि बच्चाहरु जस्तै भएर खेल्दिने र आफु बच्चा हुँदा के गरिन्थ्यो त्यो बच्चालाई बताउने, हजुरबुवा–आमाहरुको कथा सुनाउने, आफ्नो पुख्र्यौली गाँउको बारेमा आफ्ना बाल्यकालका कथा सुनाएर बच्चालाई खुशी पार्न सकिन्छ।
उनीहरुलाई खुशी बनाउन उनीहरुका साना साना कुरामा पनि चासो राख्नुपर्छ। पहिले त उनीहरुले भनिरहेका वा उनीहरुको व्यवहारका कुरालाई उनीहरुकै दृष्टिबाट हेर्नुपर्छ। सानो बच्चाले यो कुरालाई कसरी सोच्छ भन्ने कुरा एकदमै ख्याल गर्नुपर्छ। उनीहरुको सोंच र अपेक्षा फरक हुन्छ, त्यसलाई एकदमै ख्याल गर्नुपर्छ।
बालबालिका पढ्नै मन नगरेको र युटुव, कार्टुन, टिभी हेर्ने लत छुटाउन के गर्ने ?
त्यसमा चांहि पढाईलाई रुचिकर बनाउन पर्यो, रुचि हुनेगरी त्यतातिर ध्यान दिने बनाउनुपर्यो। जतिबेला पनि पढ भनेर पढ्दैनन्, उनीहरुको पढाईलाई खेलसँग जोडेर अघि लग्न सकिन्छ। उनीहरुलाई के कुरामा बढी रुचि छ, त्यसलाई पढाईसँग जोड्ने।
खेल्दै पढ्दै गर्ने। उनीहरुलाई म पढिरहेको छु भन्ने अनुभव नै नहोस्, त्यसरी सिकाउनुपर्छ। उनीहरुलाई अगाडि किताब, कापी ल्याएर बसेर पढाउने कुराले उनीहरु झर्को मान्न सक्छन्। यसलाई फरक तरिकाले व्यवहार गर्नुपर्छ।
खेल्न मिल्ने कुरा भए, ल आज यो कुरा खेलौं है त भनेर शुरु गरेर किताबमा भएको कुराहरुलाई पनि जोड्न सकिन्छ नि। कार्टुनका पात्रहरुसँग जोडेर कुरा गर्न सकिन्छ। उनीहरुको मन पर्ने कार्टुनको पात्रलाई जोडेर, ल हेर त उनीहरु त यतिबेला यस्तो गरिरहेका होलान् है भनेर पनि त गर्न सकिन्छ।
बच्चाहरु साथीभाई भेट्न एकदमै उत्सुक देखिन्छन्, यस्तो अवस्थामा साथीहरुसँग भेट्न दिने कि नदिने त ?
अहिले हामीले सामाजिक दुरी कायम राख्नैपर्छ। पहिलो कुरा त सुरक्षा हो। स्वास्थ्य हो। उनीहरु स्वस्थ रहनसके भने त्यसपछिका दिनमा उनीहरु जतिपनि खेल्न पाइहाल्छन्। यो अवस्थामा साथीभाइसँग घुलमिल हुन नदिनु नै राम्रो हुन्छ।
तर, उनीहरुको साथीहरु पनि सुरक्षित छन् र दुरी कायम राखेर एकछिन रमाइलो गराउन सकिन्छ। त्यसमा अभिभावकको उपस्थिति हुनु जरुरी छ।
त्यसो भयो भने सुरक्षित राख्न सजिलो हुन्छ। साथै, उनीहरुलाई साबुनपानीले हात धुन सिकाउने, धेरै अंकमाल गर्ने खालको खेल खेल्न नभन्ने, सामान्य खालको खेल खेल्न लगाउने, माक्सहरु लगाउन मान्दैनन् भने बच्चाहरुलाई प्रोत्साहित गर्न स्पाईडरम्यान, आईरनम्यान, मोटुपतलु कार्टुनका माक्सहरु लगाईदिने हो भने उनीहरुले माक्स लगाउँछन्।
उनीहरुलाई डर देखाएर हैन कि फाइदा गर्छ भन्ने दृष्टिले बुझाउनुपर्छ। बच्चालाई कहिले पनि डर देखाउनुहुँदैन। यसले उनीहरुको मष्तिष्कमा असर गर्छ।
अहिले त, घरबाहेक अन्यत्र जाने कुरा भएन, कार्टुन हेर्ने लत कसरी छुटाउन सकिन्छ ?
यो लत नै त होईन, तर बच्चाले नराम्रो कुरा चाहिँ हेर्नुभएन। बच्चाले टीभी कतिबेला हेर्ने हो त्यो निश्चित गर्नुपर्छ। तालिका हुनुपर्छ। उसको मनपर्ने कुरा कतिबेला आउँछ, त्यो समयमा उसलाई हरेक दिन केही समय कार्टुन हेर्न दिनुपर्छ।
त्यसबाहेकको समय आफुले उनीहरुलाई दिनसक्नुपर्छ। उनीहरुसँग खेल्ने, कुरा गर्ने, उनीहरुको स्कुलको बारेमा, साथीहरुको बारेमा, कथाहरु, गीतहरुका बारेमा कुरा गरेर समय व्यतित गर्न सकिन्छ। उनीहरु भुल्ने र रमाउने विकल्प नभएपछि कार्टुनमा मस्त हुने हुन्। टीभी हेर्दा गाली गरेर हप्काएर भन्दापनि माया गरेर सँगै खेल्ने हो भने धेरै टीभी हेर्ने बच्चाको बानी विस्तार हट्दै जान्छ।
बच्चाहरु घर बस्दा बस्दा दिक्क भएर झर्किने, रिसाउने गर्छन्, के गर्ने ?
बच्चाहरु रिसाउँदा आफु झन् रिसाउनु भएन। उनीहरुलाई मनोवैज्ञानिक हिसाबले राम्रो व्यवहार गर्नुपर्छ। उनीहरुको समस्या के हो, किन त्यसो गरेको भनेर कुरा बुझ्नुपर्छ।
बच्चा रिसाउँदा आफु रिसाउनुभएन। कहिलेकाँही बच्चा रिसायो भने, ल रिसाइराख्नु न त भनेर नजिकै बसेर हेर्ने गरेपनि उनीहरुकोे बानी परिवर्तन हुनसक्छ। सामान्य हिसाबले उनीहरुले केही सामान फुटाएपनि त्यसलाई गम्भीर रुपमा लिएर गाली गर्नुहुँदैन। उनीहरुको रिस सकिएपछि राम्रोसँग उनीहरुकै शैलीमा सम्झाउन सकिन्छ। यसरी बच्चाहरु शान्त बन्छन्।